विपद्का घटनाबाट १ सय २१ को मृत्यु, २८ बेपत्ता

काठमाडौँ । यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १ सय २१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको जानकारीअनुसार बाढी पहिरोमा परेर अहिलेसम्म २८ जना बेपत्ता भएका छन् । 

कूल ४४ घाइते रहेका र १ सय ७९ घर क्षति पुगेको केन्द्रले मन्त्रालयले जनाएको छ । 

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण यसरी मानवीय क्षति पुगेको हो । मनसुन बाहिरिएको एक हप्तापछि दुई प्रणाली विकास भई नेपालमा भारी वर्षा भएको थियो । 

वर्षाका कारण नेपालको पूर्व र पश्चिम क्षेत्र नराम्ररी प्रभावित भएको थियो । ठुला–ठुला पहिरोले मानवीय क्षति बढी गराएको हो ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी कात्तिक ३ गते ६३ जनाको मृत्यु र १९ जना बेपत्ता भएका थिए । 

कात्तिक ४ गते २९ जनाको मृत्यु भएको थियो भने कात्तिक ५ गते १३ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । हराइरहेका खोजी जारी रहेको र राहत तथा अस्थायी आश्रय स्थलको व्यवस्थापन जारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ९ : ३७ बजे