बम विस्फोट गरेर सडक सञ्चालन गरिँदै

तम्घास । कालीगण्डकी करिडोरमा खसेको पहिरो हटाउन नेपाली सेनाले गुल्मीमा बम विस्फोट गरेको छ । 

करिडोरको रुरु क्षेत्र गाउँपालिका–२ मा पहिरो खसेपछि गत कात्तिक ३ गतेदेखि सडक अवरुद्ध थियो ।

पहिरो र बीचमा ठुला ढुङ्गा अड्किएका कारण नौ दिनदेखि यातायातका साधनको आवतजावत बन्द रहेको थियो । डोजरले वा अन्य उपकरणले मात्रै पहिरो हटाउन नसकिने भएपछि सेनाले शुक्रवारबाट बम विस्फोट गरेर ढुङ्गा फुटाउने काम गरेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । 

कालीगण्डकी करिडोर सडक निर्माण कार्यदल हर्मिचौर र सग्राम शार्दूल गुल्मका उपसेनानी हिक्मतबहादुर चन्द नेतृत्वको संयुक्त टोलीले पहिरो पन्छाउने काम गरिरहेको पौडेलले जानकारी दिनुभयो । 

नेपाली सेनाले बममार्फत ढुङ्गा नफोरेसम्म अरू कुनै उपाय नभएकाले सेनाका प्रक्रियाका कारण केही समय ढिला भएको उहाँको भनाइ छ । त्यो सडकबाट गुल्मीसहित बागलुङका दैनिक एक डेढ सय बढी सवारी साधन आवतजावत गर्छन् । 

पहिरोले सडक अवरुद्ध भएपछि बागलुङ बुर्तिबाङ सम्मका ठुला गाडी तम्घास भएर गन्तव्यमा पुग्ने गरेका थिए । रासस

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १० : १६ बजे