एमाले अधिवेशन, विराटनगरमा थापा चयन

काठमाडौं, नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा सागर थापा चयन भएका छन् । मंगलबारदेखि जारी अधिवेशनले थापाको नेतृत्वमा ९१ सदस्यीय महानगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा शिल्पा कार्की, सचिवमा रोहित कोइराला, उपसचिवमा नवराज नेपाल र जय प्रकाश महतो चयन भएका छन् । १०१ सदस्यीय कमिटीमा अधिवेशनले ९१ सदस्यीय कमिटी चयन गरेको छ भने १० जना बैठक बसेर मनोनीत गरिने नवनिर्वाचित अध्यक्ष थापाले बताए ।

महानगरको अधिवेशनमा अध्यक्षका दुई जना आकांक्षी देखिएपछि उद्घाटन सत्र सकेर बन्द सत्र बुधबारसम्मका लागि स्थित गरिएको थियो । नेतृत्वका लागि महानगर कमिटी अध्यक्ष सागर थापा र प्रदेश कमिटी सदस्य परशुराम बस्नेत मैदानमा देखिएका थिए । बस्नेतले सचिवमा कोइरालालाई दिने शर्त राखेपछि नेतृत्व चयन ढिलो भएको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १० : २९ बजे