स्कुटरको ठक्करबाट पैदल यात्रुको मृत्यु

जलेश्वर । महोत्तरीको जलेश्वर–जनकपुर सडक खण्डमा गए राति स्कुटरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुलीको मरिन खोला नगरपालिका–१ का ३८ वर्षीय हरिबहादुर भुजेल रहेका छन् । 

जनकपुरबाट जलेश्वरतर्फ आउँदै गरेको ज१२प ४९७७ नंको स्कुटरले पिपरा गाउँपालिका–७ मा बाटोमा भुजेललाई ठक्कर दिएको हो ।

गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा जनकपुरस्थित रामजानकी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । 

भुजेलको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । स्कुटरमा सवार नाम नखुलेका दुई जना समेत घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : ३० बजे