माथिल्लो मनाङमा हिमपात

एमाले अध्यक्ष ओली झापा प्रस्थान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीनदिनका लागि गृह जिल्ला झापा प्रस्थान गर्नुभएको छ ।

ओलीसँगै स्थायी कमिटी सदस्य लेखराज भट्टलगायतका नेताहरु प्रस्थान गर्नुभएको छ ।

अध्यक्ष ओलीसहितका नेताहरुले झापा र मोरङमा आयोजना हुने विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्नेहुनेछ ।

सचिवालय सदस्य एवं ओलीका संसद प्रतिनिधि होमबहादुर थापाका अनुसार अध्यक्ष ओलीले आज विर्तामोडमा माओवादीबाट सयौं कार्यकर्ता एमालेमा प्रवेश गराउँदै हुनुहुन्छ । दिउँसो १२ बजे साई पार्टी प्यालेसमा हुने कार्यक्रममा माओवादी परित्याग गरी ठूलो संख्यामा कार्यकर्ताहरु एमाले प्रवेश गर्दैछन् ।

यसैगरी आजै धुलाबारीमा आयोजना हुने कार्यकर्ता भेटघाटलाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने जिल्ला अध्यक्ष चिन्तन पाठकले जानकारी दिनुभयो । भोलि बिहान आफ्नो निर्वाचन क्षेत्र झापा ५ को गौरादह नगरपालिका ५ महारानीझोडामा साना किसान महिला सहकारी संस्थाले निर्माण गरेको पाहुना घरको अध्यक्ष ओलीले उदघाटन गर्नुहुनेछ । त्यसपछि दिउँसो १२ बजे सिमावर्ती गौरीगञ्ज बजारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओली सहभागी हुनुहुनेछ । दसैं, तिहार,नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अवसरमा स्थानीय पार्टी कमिटीले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो । यो ठाउँ पनि अध्यक्ष ओलीको निर्वाचन क्षेत्र हो ।

अध्यक्ष ओली पृथ्वीनगरमा आफ्ना वृद्ध बुवालाई भेट्न जानुहुनेछ ।

यहाँ पार्टीका पुराना कार्यकर्ता र आफूलाई भूमिगतकालमा आश्रय दिने आश्रयदाता र उनीहरुका परिवारसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको थापाले जानकारी दिनुभयो । भोलि साँझ ओलीको विराटनगरमा पार्टी नेताहरुसँग आन्तरिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

९ गते बिहान अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ११ : २२ बजे