सुदूरपश्चिममा  बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो, २३ जना अझै बेपत्ता

बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ । 

गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो ।

बाढी पहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । डोटीमा १६ जनाको मृत्यु भएको छ । बझाङमा १०, बैतडीमा चार, डडेलधुरामा तीन, अछाम र  कैलालीमा एक / एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विपद्मा परी यस प्रदेशमा अझै २३ जना बेपत्ता छन् । बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक÷एक छन् । 

यस्तै, विपद्मा परी १७ जना घाइते छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरामा  एक एक जना घाइते भएका हुन् । 

विपद्मा परी बाजुरा, डोटी, डडेलधुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन् । पहिरोका कारण बझाङमा १२, डोटीमा छ र डडेलधुरामा दुई गरी २० घरमा पूर्ण रूपमा क्षति पुगेको छ । 

बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ । रासस

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : ३६ बजे