दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बैङ्किङ प्रणालीमा तरलता प्रवाह हुँदै, १० अर्बको रिपो जारी गर्दै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज रु १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । 

केही समय अघिदेखि बैङ्किङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैङ्कले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो । 

राष्ट्र बैङ्कले बुधवार जारी गरेको सूचनाअनुसार बैङ्कले आगामी कात्तिक ११ गते परिपक्व हुने रु १० अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैङ्किङ प्रणालीमा प्रवाह गर्न लागेको छ । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैङ्क वित्तीय संस्थाले भाग लिन पाउने छन् । 

बजारमा तरलताको अभावले बैङ्क तथा वित्तीय संस्थाले निक्षेप सङ्कलन गर्न ब्याजदर बढाउन थालेका छन् । निक्षेप बढाउन र आफ्नो निक्षेप बाहिर जान नदिन बैङ्क तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको सुरुआतमै दुई अङ्कको ब्याजदर कायम गरेका थिए । त्यसरी बैङ्क तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर असाधारण रूपमा बढाएको भन्दै ब्याजदर व्यवस्थित गर्न राष्ट्र बैङ्कले मङ्गलवार तीन बुँदे निर्देशन जारी गरेको थियो ।

बैङ्किङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैङ्कले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । 

गत असोज २० गते बैङ्कले रु २० अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गरेको थियो ।

तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैङ्क तथा वित्तीय संस्थाले रिपो, अन्तर बैङ्क सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् ।

बैङ्क तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरिरहे पनि तरलता व्यवस्थापन सहज हुन सकेको छैन ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ७ : ५० बजे