धनकुटामा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु

धनकुटा  । धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलवार राति पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको छ ।

राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । 

पहिरोले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको र अरू छ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताउनुभयो ।

घर पुरिँदा ६० वर्षीय भीमबहादुर श्रेष्ठ, उनका नौ वर्षीय नाति विनोद, पाँच वर्षीया नातिनी निर्जला, पाहुना आएका दमक–११ का ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र सात वर्षीय दिप्सन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो । 

घटनामा परी घाइते भएका ३१ वर्षीय भेषबहादुर श्रेष्ठ, २९ वर्षीया लीला श्रेष्ठ र ५४ वर्षीया गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले जानकारी दिनुभयो ।

गम्भीर घाइतेसहित अन्य घाइते वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ का सञ्जाल श्रेष्ठ र वर्ष २८ का चन्द्रकुमार श्रेष्ठको हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि लैजान सेनासँग समन्वय भइरहेको उहाँले बताउनुभयो । 

घाइते हुनेमा भीमबहादुरको परिवारका सदस्य र आफन्त छन् । घाइतेको उद्धारका लागि लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा समस्या भएको छ ।

नेपाली सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि उनीहरूलाई लैजाने तयारी भइहरेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ९ : ५९ बजे