बाढीले कर्णाली पुलका सामान बगायो

कर्णाली । कर्णाली नदीमा आएको बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । 

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मङ्गलवार आएको सुर्खेतको चौकुने गाउँपालिका–१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बाढीले बगाएको हो । 

अनक कन्स्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको सो पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्स्चर मेसिन बाढीले बगाएको प्रहरीले जनायो । बाढीले क्रेन भने डुबाएको छ । बाढीले पुलका सामान बगाएको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालयले अस्थायी प्रहरी चौकी घाट गाउँबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार शाहीको नेतृत्वमा चार जना प्रहरीलाई क्षतिको विवरण सङ्कलन गर्न घटनास्थल पठाएको थियो । 

त्यस्तै बाढीको जोखिम बढेपछि नदी किनारमा रहेको दैलेखको रामघाट बजारका २० घर स्थानान्तरण गरिएको छ । प्रदेश प्रहरी कार्यालयले बजारमा कर्णाली नदी पसेपछि मानवीय र धनमालको क्षति हुन नदिन त्यहाँबाट चार किमी टाढा स्थानान्तरण गरिएको हो । 

त्यस्तै, अविरलको वर्षाले सुर्खेत–जुम्ला सडक (कर्णाली राजमार्ग) ठाउँ–ठाउँमा अवरुद्ध हुन पुगेको र सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ८ : ५९ बजे