मन्थली विमानस्थलमा पानी पस्यो

बेमौसमी वर्षाले झापामा १८ परिवार विस्थापित

सुरुङ्गा(झापा) । सोमबारदेखि लगातारको वर्षाका कारण झापामा १८ परिवार विस्थापित भएका छन् । 

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार गौरीगञ्ज गाउँपालिका–१ को टप्पु गाउँका १८ घर परिवार विस्थापित भएका हुन् । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाका अनुसार  विस्थापित परिवारलाई प्रहरी र पालिकाका जनप्रतिनिधिहरुको सहयोगमा उद्धार गरिएको छ । 

उनीहरलाई स्थानीय एक सामुदायिक विद्यालयको भवनमा राखिएको छ । अत्यधिक वर्षाका कारण सो क्षेत्र डुबान भएपछि १८ परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

वर्षाकै कारण गौरीगञ्ज–१ स्थित  हुक्लाबारी गाउँका ८५ घर उच्च जोखिममा रहेका छन् । पचासी घर परिवारमध्ये १८ परिवारका ज्येष्ठ नागरिक र अशक्तलाई भने नजिकैको चर्चको भवनमा सारिएको बताइएको छ । 

धानबालीमा क्षति
निरन्तरको वर्षापछि आएको बाढीले झापाको ५० प्रतिशतभन्दा बढी धानबालीमा क्षति पुगेको अनुमान गरिएको छ । 

जिल्लाको कुल ८७ हजार ५०० हेक्टरमा धानबाली लगाएको मध्ये करीब ४५ हजार हेक्टरको धानबालीमा वर्षाका कारण क्षति पुगेको कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ । 

पाकेर बाली उठाउने बेलाको धानमा बर्सातको पानी पसेर केही ठाउँमा धानीबाली पूर्णरूपमा नष्ट भएको छ भने केही ठाउँमा भने हावा पानीका कारण धानबाली डुबानमा परेको छ । 

अहिले कृषि ज्ञान केन्द्रले जिल्लाका १५ वटै पालिकामा क्षतिको विवरण सङ्कलन सुरु गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले बताउनुभयो । रासस

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ७ : ०५ बजे