आज भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका विभिन्न स्थानमा पानी पर्ने भएको छ । आज बिहान देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । प्रदेश १ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ ।  

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना छ । सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थान, प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ । 

प्रदेश १, लुम्बिनी प्रदेशका थोरै स्थान, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको तथा  सुदूरपश्चिम प्रदेश र प्रदेश १ का केही स्थान, प्रदेश २, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा वाग्मती प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

हाल बंगालको खाडीमा र मध्य भारतमा रहेको न्यून चापीय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जसका कारण वर्षा भइरहेको छ । 
 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ७ : १० बजे