‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आफ्नो पार्टीको सरकार ढाल्न बिपक्षीसँग गठबन्धन गदै माधव समूह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसद अधिवेशन आह्वान गरेपछि उहाँलाई असफल बनाउने रणनीतिमा नेताहरु लागिपरेका छन् ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच आज भएको छलफलमा कुनैपनि हालतमा केपी शर्मा ओलीलाई असफल बनाउनुपर्छ भन्ने बिषयमा छलफल भएको स्रोतले बताएको छ ।

ललितपुरको हात्तीवनस्थित एक निजी घरमा भएको छलफलमा एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम–उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित थियो । प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत लिनबाट असफल बनाउने र उनकै नेतृत्वमा चुनाव हुने संख्या नपुग्नेगरि राजिनामाको विषयमा छलफल केन्द्रित भएको स्रोतले बतायोे । सो बैठकमा जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने उपायबारे समेत छलफल भएको थियो । उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यसबारे कुराकानी गरिरहेको बताएका छन् ।  आफनै पार्टीको सरकारलाई हटाउन लागिपरेको माधव समुहले देउवालाई पनि आश्वासन दिएपछि हिजो कांग्रेसको पदाधिकारी बैठकले ओलीलाई बहुमत पुग्न नदिन भूमिका खेल्ने र दलहरूसँग पहल गर्ने निर्णय गरेको थियो । 

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिन संसद बैठक तय भएपछि त्यसलाई असफल बनाउन माधव नेपाल समुहले सामुहिक राजिनामा गर्नेदेखि अन्य विकल्पको खोजी गरिरहेका छन् । त्यसका लागि उनिहरुले आफ्ना २१ सांसदको राजिनामा पत्र तयार गरेपनि सांसदहरुले भने हस्ताक्षर गरिसकेका छैनन् । राजिनामा पत्र तयार भएको बुझेपनि जिल्लामा रहेका सांसदहरुले भने हस्ताक्षर नगरेको एक सांसदले चक्रपथलाई बताए । उनले भोलि जिल्लाबाट काठमाडौं आएपछिमात्रै राजनीतिक घटनाक्रमका बारेमा जानकारी लिने बताएका छन् । ‘केन्द्रमा नेताहरुबीच राजिनामा, अल्पमत बहुमतको खेल भएपनि सांसदलाई भने यसबारे खासै जानकारी हुँदैन, आफना गुटका नेताले जे भन्छन त्यही गर्ने हो, अहिलेसम्म राजिनामा गर्नुपर्छ चाहि भनेका छैनन तर भोलि काठमाडौं आउने तयारीमा छु ।’ माधव गुटका एक सांसदले भने । 

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिलाउन वैशाख २७ गते संसद बैठक डाकिएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार  ३ : २० बजे