याङ्गोन । गत फेब्रुअरीमा म्यानमारको नागरिक सरकारलाई अपदस्थ गरी ‘कू’ गरेको सैनिक सरकारको विरोध गर्दै प्रदर्शन गरेको आरोपमा जेलमा परेका ५ हजारभन्दा बढी व्यक्तिलाई रिहा गरिने यहाँको सैनिक सरकारका प्रमुखले सोमबार बताउनुभएको छ ।
अक्टोबरको अन्त्यमा थन्डिथयुत पर्वको उपलक्ष्यमा ५ हजार ६३६ कैदीलाई रिहा गरिने सरकार प्रमुख मिन आङ ह्लाइनले बताउनुभएको हो ।
यहाँ आयोजित एक क्षेत्रीय शिखर सम्मेलनको क्रममा म्यानमारमा हाल जारी सङ्कटलाई कम गर्ने आफ्नो सरकारको प्रतिबद्धताअनुसार म्यानमार सैन्य सरकार प्रमुखको उक्त घोषणा आएको बताइएको छ ।
प्रजातान्त्रिक सरकारको ‘कू’ भएपछि यसको विरोधको क्रम सुरु भएको र यसबाट देशमा अराजकता छाएको छ । कूको विरोधका प्रदर्शन गर्ने व्यक्तिहरूलाई सैनिक सरकारले गरेको कारबाहीको क्रममा एक हजार १०० भन्दा बढी नागरिक मारिनुको साथै ८ हजार भन्दा बढी गिरफ्तार भएका एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ ।
अझै पनि सात हजार ३०० भन्दा बढी प्रदर्शनकारी देशभरका जेलहरूमा रहेका राजनैतिक कैदीहरूको सहायता सम्बन्धी एक संस्थाका अधिकारीहरूले जानकारी दिएका छन् ।
जुलाई महिनामा देशभरका जेलहरूबाट २ हजार भन्दा बढी यहाँको सैनिक सरकारको विरुद्धका प्रदर्शनकारीलाई रिहा गरिएको थियो ।
रिहा गरिएका यी व्यक्तिहरू सैन्य सरकारको आलोचना गर्ने पत्रकारसहित विभिन्न क्षेत्रका नागरिकहरू रहेका छन् । रासस/एएफपी
प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार ४ : ०६ बजे
प्रतिक्रिया