साफ यू–१७ च्याम्पियनसिप आजदेखि

साफले व्यक्तिलाई नभएर नेपाली फुटबलमाथि कारवाही गरेको प्रशिक्षक अलमुताइरीको भनाई

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भारतविरुद्ध हुने साफ च्याम्पियनसिप २०२१ को फाइनल खेलमा उपलब्ध नहुने भएका छन् ।

प्रतियोगितामा दुई फरक खेलमा पहेंलो कार्ड पाएको भन्दै साफले अलमुताइरीमाथि प्रतिबन्ध लगाएपछि शनिबार हुने फाइनल खेल गुमाउने भएका हुन् । प्रशिक्षक अलमुताइरीले यसअघिका लिग चरणका श्रीलंका र बंगलादेशविरुद्ध चौथो र नवौँ खेलमा दुईवटा पहेँलो कार्ड पाएका थिए । 

योसँगै प्रशिक्षक अलमुताइरीले साफले आफूलाई प्रतिबन्ध गर्दै अन्याय गरेको बताएका छन् । उनले भर्चुअल पत्रकार सम्मेलनमा भनेका छन्, ‘साफले अन्याय गरेको छ । यो मलाई व्यक्तिगत रिसइवी साँध्न साफले कारवाही गरेको भन्ने लाग्छ । एक प्रशिक्षकको आफ्नो टोलीका लागि मुख्य खेल खेलाउने सपना चकनाचुर भयो । यसो गर्नु सही भएन । ’ साफले आफूलाई निशानामा राखे पनि यो कारवाही व्यक्तिलाई नभएर राष्ट्रिय टोलीको प्रशिक्षकलाई भएको र नेपाली फुटबलमाथि कारवाही भएको उनको भनाई छ । 

माल्दिभ्सकाे मालेस्थित राष्ट्रिय रंगशालामा हुने नेपाल र भारतबीचकाे फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । आज दुबै टिम उपाधि जित्ने दाउमा छन् । पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो । नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको हो ।

भारतले हालसम्म ७ पटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेको छ भने नेपाल पहिलोपटक उपाधि होडमा पुगेको ह्ये । भारत आठौं पटक उपाधि उचाल्ने योजनामा हुनेछ भने नेपाल आज भारतलाई हराएर ऐतिहासिक उपाधि जित्न चाहन्छ । तर, भारतविरुद्ध सहज नहुने नेपाली टोलीलाई जानकारी छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  १ : ४१ बजे