यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

हटेन राष्ट्रियसभा बैठकको अवरोध

काठमाडौँ – राष्ट्रियसभाको बैठक सदा झै आज पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले अवरुद्ध कायमै राखेको  छ । राष्ट्रियसभाको आजको बैठक प्रारम्भ हुने वित्तिकै एमालेका सांसदले उभिएर विरोध जनाएपछि सभा अध्यक्ष तिमिल्सिनाले नेकपा (एमाले) का मुख्य सचेतक खिमलाल भट्टराइलाई आफ्नो भनाइ राख्न समय दिनुभयो ।

मुख्य सचेतक भट्टराईले वर्तमान सरकारका गठबन्धनमा सहभागी दलले अघिल्लो सरकारविरुद्ध गैर राजनीतिक र कुर्ची मोहका कारण मुद्दा दायर गरेको जनाउँदै त्यसको औचित्य अहिले आएर पुष्टि भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,“विगतको सरकारविरुद्ध गठबन्धनले अदालतमा मुद्दा हाल्दा जनमानसमा संविधानको रक्षाकै लागि हो कि भन्ने भान भए तापनि अहिले आएर प्रष्ट भएको छ ।” उहाँले एमालेलाई कमजोर बनाउने तथा विभाजनकै निम्ति दल विभाजनसम्बन्धी अध्यादेश ल्याइएको आरोप लगाउनुभयो । 

 उहाँले  वर्तमान सरकारले आयस्रोत नखोज्ने गरी कालो धनलाई सेतो बनाउने दिशातर्फ लागेको समेत आरोप लगाउनुभयो । मुख्य सचेतक भट्टराइले केही समय अगाडि दार्चुलाका जयसिंह धामीको मृत्युका विषयमा सरकार मौन रहनुको कारणबारे प्रश्न उठाउनुभएको थियो ।

उहाँले गृहमन्त्री बालकृष्ण खाँडको गृह जिल्ला रुपन्देहीमा आइतबार सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको घटनाको भत्र्सना गर्नुभयो । भट्टराइले उक्त घटनाको निष्पक्ष छानबिन, घाइतेको निःशुल्क उपचारको व्यवस्था र मृतक परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारले बनाएको भूमिसम्बन्धी आयोगले भूमिहीनलाई लालपूर्जा वितरण गर्न लागेको समयमा आयोग खारेज गरेको समेत उहाँले आरोप लगाउनुभयो । 

रासस

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  २ : ३६ बजे