दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भेडा च्याङ्ग्राको माग पनि उच्च , मूल्य पनि उच्च

गलकोट । आठ दिनको हिँडाइपछि मुस्ताङबाट २५ च्याङ्ग्रा लिएर व्यापारी रामबहादुर खत्री बागलुङ आउनुभयो । 

वडा दसैँमा च्याङ्ग्राको माग उच्च भए पनि भाउ निकै महँगिएको छ । यस पटकको दसैँमा उहाँले पहिलो पटक मुस्ताङका च्याङ्ग्रा भेडा बागलुङ भित्र्याउनुभएको छ । 

जिल्लाका एक दर्जन व्यापारी दशैका अवसरमा भेडा च्याङ्ग्रा लिन हिमाल पारीको जिल्ला मुस्ताङ पुग्ने गरे पनि यस पटक थोरै व्यापारी मात्रै हिमाल पारी च्याङ्ग्रा लिन पुगेका छन् । तिब्बतबाट च्याङ्ग्रा नआउँदा मुस्ताङका सीमित च्याङ्ग्रा भेडा बजार ल्याइएको छ । 

अहिले मुस्ताङका अधिकाँश भेडा च्याङ्ग्रा पोखरा पुर्‍याइने गरेको छ । केही वर्ष अघि सम्म बागलुङमा मात्रै दुई देखि तीन हजार भेडा च्याङ्ग्रा भित्रिने भए पनि अहिले त्यसको सङ्ख्या घटेर पाँच/सात सयमा झरेको छ । 

मुस्ताङमै भेडा च्याङ्ग्राको मूल्य बढी भएका कारण थोरै मात्रा भेडा च्याङ्ग्रा लिएर बागलुङ आएको व्यापारी खत्रीले बताउनुभयो । 

“मुस्ताङमै एउटा च्याङ्ग्राको मूल्य ३२ हजार प¥यो, एक दुई हजार नाफा खानै पर्‍यो बागलमा ३६ हजारमा च्याङ्ग्रा बिक्री गर्ने योजना रहेको छ” उहाँले भन्नुभयो “च्याङ्ग्रीलाई समेत १७ हजार बढी मूल्य पर्ने भएको छ, आठ दिनको हिँडाई निकै कष्टकर छ, तिब्बतबाट च्याङ्ग्रा नेपाल नआए आगामी दिनमा च्याङ्ग्राको मूल्य छोइ नसक्नु हुने छ ।” मुस्ताङ पुगेका व्यापारी महेन्द्र केसी र अम्मर बहादुर क्षत्रीले बागलुङ तर्फ च्याङ्गा लिएर आउँदै हुनुहुन्छ । 

अहिले जिल्लामा च्याङ्ग्राको मासु प्रति केजी रु। एक हजार ८०० कारोबार सुरु भएको छ । हिमाली क्षेत्रमा जडीबुटी खाएर हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिष्ट हुने गर्दछ । 

अन्य चाडपर्वमा खसी बोका र कुखुराको मासुको माग हुने भए पनि वडा दसैँमा च्याङ्ग्राको मासु खाने तथा कोसेली लैजाने परम्परा समेत छ ।  रासस

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  ७ : ११ बजे