एनपीएलको ट्रफी सार्वजनिक

याद गर्नुस् यी कारणले हुन सक्छ बाँझोपन

डा.उमा श्रीवास्तव पोखरेल निसन्तान केन्द्र बानेश्वरकी प्रमुख हुनुहुन्छ । प्रजनन तथा स्त्री रोग विशेषज्ञ श्रीवास्तव  बिगत २९ वर्षदेखि निःसन्तानहरूको समस्या समाधानका लागि सक्रिय हुनुहुन्छ । हालसम्म ६ हजार भन्दा बढी निसन्तान दम्पतीलाई कृत्रिम विधिबाट सन्तान जन्माउन  सहयोग गर्नुभएकी श्रीवास्तवसँग निसन्तान किन हुन्छ र कसरी बच्ने ? भन्ने विषयमा चक्रपथकर्मी युवराज ढुङ्गेलले गर्नुभएको कुराकानी : 

के हो बाझोपन ?

सामान्यतया: कुनै पनि दम्पतीले आफ्नो स्व—इच्छाका साथ सन्तानको निम्ति प्रयास गर्दागर्दै पनि गर्भ नरहने प्रक्रियालाई नै निःसन्तान समस्या भनिन्छ । कुनै पनि दम्पतीको विवाह भएको एक वा दुई वर्षसम्म परिवार नियोजनका कुनै पनि साधन प्रयोग नगरी सहवास गर्दा गर्भ बसेन वा भएन त्यसलाई बाँझोपन भनिन्छ । बाँझोपन नेपालको मात्र समस्या हैन यो विश्वकै चुनौतिपूर्र्ण समस्या हो । एक वर्षसम्म महिलामा रजस्वला भएदेखि र पुरुषमा वीर्य उत्पादन हुन थाले पछि नियमित यौन सम्पर्क गर्दा पनि बच्चा नहुनुलाई बाँझोपन भनिन्छ ।

 

महिला र पुरुषमा बाँझोपन देखिने बढी सम्भावना कसलाई रहेको छ ?

हाम्रो समाज पुरुष प्रधान भएकाले बाँझोपन भए दोष सबै महिलालाई मात्र थुपारिन्छ र पछिल्लो समय चेक अप गर्न पनि महिला मात्र आउनाले महिलालाई नै बढी सम्भावना हो की भन्ने आङ्कलन गरिन्थ्यो तर अहिले पुरुषहरू पनि उत्तिकै  मात्रमा चेकजाँचका लागि आउने गर्नुहुन्छ ।  हाम्रो अनुसन्धानले के कुरा पत्ता लगायो भने महिला—पुरुष दुवै जनामा निसन्तान हुने सम्भावना उतिकै रहेको हुन्छ ।

 

बाँझोपन हुने कारण के के हुन् ?

बाँझोपनका कारण धेरै  छन् । महिलामा महिनावारी गडबड अर्थात् अनियमित हुँदा समयमा अण्डा बन्दैन जसले गर्दा बाँझोपन हुने सम्भावना बढी रहन्छ । यसै गरी पाठेघरमा ट्युमर पलाउने, पाठेघरको नली बन्द हुने आदि कारणले पनि बाँझोपन हुन सक्छ । पुरुषमा सहवासको समयमा लिङ्ग उत्तेजित नहुने, पर्याप्त मात्रामा वीर्य नहुने, मद्यपान आजको विविध केमिकल युक्त खाने कुरा प्रदूषण हावापानी तथा धूम्रपान आदिका कारण पनि बाँझोपन हुन्छ । विदेश खाडी मूलक गएर आएका कतिपय पुरुषमा पनि बाँझोपनको समस्या देखिएको छ । त्यहाँ बढी गर्मी हुने हुँदा शरीरमा वीर्यको मात्रा कम हुने भएकाले बाँझोपन हुन सक्छ । ढिलो सन्तान जन्माउने सोच राखेकामा पनि शिशु नहुने सम्भावना वृद्धि हुन्छ । जङ्क फुड खाना तथा अस्वस्थकर जीवनशैलीका कारण पनि बाँझोपन बढ्न सक्छ ।

 

महिलामा के कारणले हुन्छ यस्ता समस्या ?

महिलामा प्रमुख रूपमा डिम्ब उत्पादन नहुने समस्यासँगै डिम्ब नलीमा घाउ वा घाउका खतहरू भएमा डिम्बाशयबाट डिम्ब पाठेघरतिर आउने वा पुरुषको शुक्रकीट डिम्बसेचनका लागि नलीबाट भित्र पस्न पाउँदैनन् । यसै कारणले बाँझोपन हुन सक्छ ।

 

पुरुषमा के कारणले हुन्छ यस्ता समस्या ?

आवश्यक संङख्यामा शुक्रकीट नबन्नु ।

शुक्रकीटले महिलाको डिम्वनली हुँदा डिम्बसँग सचेत गर्न नसक्नु ।

पुरुष ज्ञानेन्द्रबाट शुक्रकीट नै बाहिर आउन नसक्नु ।

यौन रोगका कारणहरू ।

अण्डकोषको नसा सुनिदा ।

लिङ्ग कडा नहुँदा ।

सम्भोग अवधिमा शिथिल भैदिदा ।

महिलाको योनीको भित्रसम्म लिङ्ग नपुग्दै वीर्य स्खलन हुँदा ।

रोगका कारण : मधुमेह, क्षयरोग तथा औलो रोग जस्ता कारणले पनि बाँझोपन सिर्जना हुन सक्छ ।

 

कुन उमेरमा शिशु जन्माउँदा बाँझोपनको समस्या जेल्नु पर्दैन ?

ढिलो शिशु जन्माउने दम्पतीमा बाँझोपनको सम्भावना बढी हुन्छ । २५ देखि ३५ वर्षको उमेर महीलालले शिशु जन्माउने उपयुक्त उमेर हो । कसैको त्यो उमेर भन्दा तल माथि जन्माउने रेकर्ड पनि रहेका छन् ।

 

 

पहिलो पल्ट गर्भपतन गराउँदा बाँझोपन हुने सम्भावना कतिको हुन्छ ?

पहिलो बच्चा बसेको छ भने त्यसलाई खेर नफाल्नु राम्रो हुन्छ । गर्भपतन गराइ सकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलाको भन्दा अलिकति कम हुन्छ । किनकि सुरक्षित तरिकाले गर्भपतन गरिएन भने पछिल्लो पटक गर्भ बस्न समस्या हुन्छ । सुरक्षित तरीकाले गरेकोमा पनि कहिलेकाहीँ इन्फेक्सन हुनसक्छ । रगत बढी बग्ने भएकाले यसले कतै न कतै असर गर्दछ । त्यसैले सकेसम्म गर्भपतन नगराउनु नै राम्रो हुन्छ  ।

 

बाँझोपनलाई कसरी समाधान गर्न सकिन्छ ?

के कारणले बच्चा नभएको हो त्यसको इतिहास निकाल्ने ।

कारण थाहा भए पछि तुरुन्तै उपचार गर्ने ।

शुक्रकीटको खराबी छ भने त्यसलाई बढाउने औषधि खाने ।

कृत्रिम गर्भाधान गर्न सकिन्छ ।

टेस्टट्युव बेबी जन्माउन सकिन्छ ।

पत्नीको डिम्ब नै नबन्ने छ भने औषधीको प्रयोग गर्ने ।

तौल धेरै छ भने उपचार गर्ने ।

इन्फेक्सन छ भने उपचार गर्ने ।

पाठेघरमा मासु पलाको छ भने उपचार गर्ने ।

कसैले डिम्ब नै बनादैन वा बनाउन सक्दैन भने अ?बाट डिम्ब लिएर पनि गर्भ बसाउन सकिन्छ ।

चुरोट खानु भएन ।

लागु औषधिको कुलत छ भने छोड्नुपर्छ

धेरै गर्मी ठाँउमा काम कम गर्ने ।

 

वंशाणुगत गुणले बाँझोपनमा कस्तो भूमिका खेल्दछ ?

बाँझोपन हुने कारण मध्ये वंशानुगतगुण पनि एक हो । हजुर बुवा हजुर आमामा बाँझोपन थियो भने नाता नातिनीमा पनि यसको प्रभाव बढ्न सक्छ । आमा बुबामा रहेको यो समस्याले घरका तीनै जना छोरामा बाँझोपन भएको तथ्याङ्क रहेको छ ।

 

तपाईँको यो निःसन्तान केन्द्रबाट कतिको जीवनमा खुसीयाली आयो त ?

हालसम्म २२ हजारको उपचार गरेकोमा ६ हजार भन्दा बढिले सन्तान प्राप्त गरिसकेका छन् । पूर्ण सन्तान जन्माउन सक्ने भएका छन् ।

विदेशमा त शुक्रकीट बैङ्कमा शुक्रकीट बेचेर गुजारा चलाएका समाचारहरू आउँछन् नेपालमा कसरी सञ्चालनमा छ शुक्रकीट बैङ्क ? 

नेपालमा पनि अन्य देशमा जस्तो पैसा तिरेर शुक्रकीट किन्नु पर्ने अवस्था छैन । चाहिएको बेला प्रयोग गर्नलाई हामीकहाँ स्टोर हुन्छ । त्यो पनि डक्टर, डक्टरका आफन्त र नजिककाहरुबाट लिएर राखेका हुन्छौं । र कसैले त्यही कास्टको लिइदिनोस् भनेर माग गर्नुभयो भने त्यसै अनुसार तयार गरिदिन्छौ । श्रीमान् बिदेसिनु पर्ने अवस्थामा श्रीमतीले चाहेको खण्डमा प्रयोग गर्ने गरी पनि हामीले श्रीमानको शुक्रकीट स्टोर गर्ने गरेका छौं । सञ्चालनमा रहेका हरेक निसन्तान केन्द्रको आ आफ्नै शुक्रकीट बैङ्क छन् । यो तयार नगरी  नगरी काम गर्नै सकिँदैन ।

 

​​​​​​​आइभीएफ प्रविधि भनेको के हो ? यो कस्तो बेलामा कसरी प्रयोग गरिन्छ ? 

पहिलो महिलाको पाठेघरमा के समस्या छ भनेर हेरिन्छ । पहिलो एक समूहका महिलाहरूको डिम्ब विकास नभएर बच्चा नभएको हुन्छ । डिम्ब विकास नभएर बच्चा नभएकाहरूको लागि डिम्ब विकास गर्ने औषधी दिन्छौँ र बच्चा हुन्छ । अर्को ग्रुप महिलाको चाहिँ डिम्ब विकास गर्न सक्ने भए पनि डिम्ब बाहिनी नली नै बन्द भएको हुन्छ । त्यो कुनै सानो इन्फेक्सन या मासु बढेर हुन सक्छ । त्यो खुलाउने बित्तिकै बच्चा हुन्छ । खुलाउने विभिन्न प्रविधिहरू छन् । जसको डिम्ब बाहिनी नली दुवै बन्द छ । डिम्ब र शुक्रकीट भेट हुन सक्ने अवस्था छैन र कुनै पनि प्रविधिले खुल्न सकेन या सुन्निएर काम गरेको छैन भने यो आइभीएफ अथवा टेष्टटुयुब बेबीमा जानु पर्छ ।

यस्तो अवस्थामा डिम्बहरूलाई बाहिर निकालेर श्रीमानको शुक्रकीटलाई भेटाइदिने काम अव कृत्रिम तरिकाले गर्ने काम हामी गर्छौ । यसमा पहिला महिलाको शरीरमा हार्मोनको मात्रा पुर्‍याएर राम्रो क्षमतावान् डिम्ब उत्पादन गर्न सक्ने बनाउँछौँ । अब ती डिम्बहरूले काम गर्न सक्छन् भन्ने भएपछि अल्ट्रासाउण्डद्वरा डिम्बहरू निकाल्छौं । निकालिएका डिम्बहरू सफा गरेर ट्युबमा राख्छांै । अनि त्यही ट्युबमा शुक्रकीट राखेर दुवैको त्यहाँ भेट गराउँछौँ र २४ घण्टा राख्छौँ । भोलिपल्ट आएर हेछौ, हेर्दा बाबु र आमाको मिलेको फटिलाइज भएको रहेछ दुई वा तीन वटा भ्रूण निकालेर सुरक्षित तरिकाले आमालाई बोलाएर पाठेघरमा लगेर राखिदिन्छौ र घर पटाउँछौँ । घर गएर चाहिँ हामी आराम गर्न भन्छौं । यदि मिलेन भने फेरि अर्को पटक गर्नु पर्ने हुन्छ ।  यसरी बाहिर ट्युबमा फटिलाइजेसन गर्ने भएकोले टेष्टट्युव बेबी भनिएको हो  । 

 

 

 

अन्तमा हाम्रा पाठकहरुलाई के भन्न चाहानु हुन्छ  ?

बाँझोपनको उपचार नेपालमानै सम्भव छ दुखी भएर घर भित्र नबस्नुहोस् समयमै महिला पुरुष कसको समस्या हो पहिचान गरौँ र उपचार गरी आफ्नो संसारिक जीवनलाई सुन्दर भनाइ ढुक्क हुनु होला । आत्तिइहाल्नु पर्ने कुनै जरुरत छैन  । आजको युग विश्व वैज्ञानिक युग हो । जे कुरा नि सम्भव बनाएको छ । निसन्तान हुनुमा समाजले महिलालाई मात्र दोष नदिनु होला यसमा महिला पुरुषको दुवैको भूमिका उतिकै हुन्छ । त्यसैले निसन्तान सम्बन्धी समस्या छ छैन समयमै पहिचान गरी ढुक्क रहनु हुन आग्रह गर्दछु ।

 

प्रकाशित मिति : २३ आश्विन २०७८, शनिबार  १ : ५६ बजे