साफ यू–१७ च्याम्पियनसिप आजदेखि

शून्य कार्बन उत्सर्जन गर्ने एसियाकै पहिलो सहर बन्यो धुलिखेल

​​​​​​​काठमाडौँ । शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ वटा सहर मध्ये पाँचौँ नम्बरमा काभ्रेको धुलिखेल नगरपालिका परेको छ । 

कार्बन उत्सर्जनलाई शून्यतामा झारेर वातावरणमैत्री बन्ने एसियाको पहिलो नगरपालिका पनि धुलिखेल बनेको छ । 

विश्वमा चुनौतीको रूपमा रहेको कार्बन उत्सर्जनलाई शून्यतामा झारेर एसियाको पहिलो र विश्वका १५ वटा सहरको सूचीमा पर्नुमा नगरपालिकाले धेरै काम गर्नु परेको नगरप्रमुख अशोक ब्याञ्जु बताउनुहुन्छ । 

“हामीले सानो–सानो कुरामा ध्यान दिएको अवस्थामा ठुलै काम गरिरहेका हुँदा रहेछौँ । यो उदाहरण पनि हो ।” उहाँले भन्नुभयो, सामान्यतः सबै नगरपालिकाहरुले गर्ने आधारभूत काम नै गरेका हौँ । अहिले वातावरणमैत्री र शून्य कार्बन उत्सर्जन गर्ने नगरपालिकामा एसियाकै पहिलो भयौ ।  खुसी लागेको छ।”

धुलिखेल नगरपालिकाले शिक्षा, स्वास्थ्यमा नागरिकको प्रत्यक्ष ख्याल राख्दै आएको छ । ‘एक घर एक धारा, एक वडा पाँच पार्क, स्वास्थ्य सहर, वातावरणमैत्री सहर, बालबालिकामैत्री सहरलगायतका विभिन्न योजनामा काम गरिरहेको छ। 

“एउटा त हामीले धुलिखेल नगरपालिकालाई वातावरण मैत्री बनाउने काम अघि बढाएका छौँ । यहाँको घरघरबाट निस्कने ढलको ट्रिटमेन्ट प्लान्टको काम ७१ प्रतिशत गरिसकेका छौँ । दिशाजन्य लेदो पदार्थको व्यवस्थापन बिलगेट्स फाउण्डेसनसँग मिलेर गरिरहेका छौँ। वातावरणीय अवस्थालाई ध्यानमा राखेर वन तथा वातावरणको लागि एक लाख बिरुवा रोप्ने काम गरेका छौँ। फोहोर मैला व्यवस्थापनमा पनि नेपालकै उदाहरणीय बनेर ग्यास र मल उत्पादन गर्ने काम गरेका छौँ ।” नगरप्रमुख ब्याञ्जुले भन्नुभयो ।

नगरपालिकाले आकाशबाट झरेका पानी कलेक्सन गर्ने, आफ्नो उद्योगधन्दाबाट उत्पादन हुने फोहोरहरूको आफैले ट्रिटमेन्ट प्लान्ट बनाउँछ भने त्यस्तालाई १० प्रतिशत कर छुट गरेको पनि उहाँको भनाइ छ । 

“पानी रिचार्जिङ कार्यक्रमहरूको मोडेलमा पनि काम भइरहेको छ । सवारी साधनहरूबाट उत्पन्न हुने प्रदूषण कम गराउने, उद्योगहरू राख्दा पनि प्रदूषण हुने खालको नराख्ने, प्रदूषण शून्य भएको सहर बनाउने लगायतका सामान्य काम गरेका हौँ ।” उहाँले भन्नुभयो, ”ती कार्यक्रमहरूले नै कार्बन उत्सर्जनमा कटौती भयो । त्यसरी शून्य कार्बन उत्सर्जन गर्ने नगरपालिका बन्यो ।”

उहाँले धुलिखेलले दक्षिण एसियामै पहिलो पटक जीवाश्म इन्धन अप्रसार सन्धि अभियानलाई कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो । 

उक्त सन्धि अन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरको रूपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई अघि बढाइएको बताउनुभयो ।  

यसअघि पनि वन तथा वातावरण मन्त्रालयले कार्बन उत्सर्जनलाई काम गरेर विश्व बैङ्कबाट पाँच वर्षमा पाँच अर्ब रुपैयाँ नेपाल ल्याउने अनुमानका साथ काम गरिरहेको छ । 

विश्व बैङ्कले कार्बन उत्सर्जन कटौती गर्न सक्ने देशहरूलाई प्रतिटन कार्बनको पाँच अमेरिकी डलर दिने घोषणा गरेको थियो ।

वन विज्ञका अनुसार नेपालले कार्बन कटौती गरेर पाँच वर्षमा पाँच अर्ब रुपैयाँ भित्र्याउन सकिने सम्भावना रहेको छ । नेपालले पाँच वर्षमा ९१ लाख ५० हजार मेट्रिक टन बढी कार्बन उत्सर्जन कटौती गर्न सक्ने वन विशेषज्ञको अनुमान छ । 

बेलायतको ग्लास्गोमा आगामी महिना हुन लागेको राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–२६ अगाडि यो सूची सार्वजनिक भएको हो। उक्त सूचीमा अष्ट्रेलियाको सिड्नी, मेलबर्न, क्यानडाको टोरन्टो, स्पेनको बार्सिलोना र अमेरिकाको लस–एन्जल्स पनि अटाएका छन् । काभ्रेको धुलिखेल सूचीको पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ८ : ३६ बजे