काठमाडौँ । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण दसैँअघि पूरा नहुने भएको छ ।
यही दसैँअघि सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको हो । सो सम्पदाको अहिले ९७ प्रतिशत काम सम्पन्न भएको छ ।
दसैँ र तिहारका बीचमा भने काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेको छ ।
“केही अवरोध नआए ढुक्कसँग दसैँ तिहारको बीचमा काम सम्पन्न हुन्छ”, अध्यक्ष शाक्यले भन्नुभयो, “अन्य निर्माण सम्पन्न गरी अहिले छानोमा झिँगटी लगाउने काम भइरहेको छ ।”
उहाँका अनुसार दसैँ सुरु भएकाले केही कामदार घर जान्छन् यसअघि भएजस्तो सबै काम नियमित हुन सक्दैन तिहारअघि भने काम सम्पन्न गर्ने योजना छ ।
विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरूपमा क्षति भएको थियो । उक्त सम्पदा पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
पुनःनिर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा रु ११ करोड ५० लाख दिइसकेको छ ।
पुनःनिर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमूल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो ।
गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुबाट चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो ।
उक्त सम्पदा पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युबिक फिट काठ प्रयोग भएको छ । प्रयोग भएका काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो । रासस
प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार ८ : १४ बजे
प्रतिक्रिया