शुक्रबार मन्त्रिमण्डल बिस्तार गर्ने गठबन्धनमा सहमति

काठमाडौं । देउवा सरकारले भोलि मन्त्रिमण्डल बिस्तार गर्ने भएको छ ।

बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दल (जसपा) का शीर्ष नेताहरुले मंगलबार मन्त्रालयको संख्या भागबण्डा गरेका थिए ।

कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री, माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री र जसपाले चार मन्त्री लिने सहमति भएको थियो ।

विहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धन सरकारमा आफूहरुले स्वास्थ्यसहित चारवटा मात्र मन्त्रालय पाउने जानकारी दिएका हुन् ।

सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने उनले बताए ।

यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्रीको दाबी गरेको नेकपा एसले प्रदेशमा दुई मुख्यमन्त्री पाउने भएपछि संघीय सरकारमा चार मन्त्रालयमा पाउने भएको हो ।

यसैबीच नेकपा एसले स्वास्थ्य तथा जनसंख्या, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सहरी विकास मन्त्रालय लिने भएको छ । काँग्रेस र माओवादीले भने यसअघि नै मन्त्रीको टुंगो गरिसकेको छ ।

जनता समाजवादी पार्टीले भने मन्त्रीको टुंगो लगाउन बाँकी छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ९ : १९ बजे