गठबन्धनको प्रयास असफल, अझै अन्योलमा मन्त्रिपरिषद् विस्तार

काठमाडौं । सत्ता गठबन्धन आवद्ध दलहरूबीच मन्त्रालय भागबण्डाका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार प्रक्रिया लम्बिएको छ ।

बुधवार बसेको गठबन्धन दलका नेताहरूको बैठकमा दलहरूबीच मन्त्रालय भागबण्डा टुंगिएको बताइए पनि नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको असन्तुष्टिका कारण मन्त्रिपरिषद् विस्तारको मिति अन्योलमा परेको छ । 

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार मन्त्रिपरिषद् विस्तार गरिने बताएका थिए । 

तर, नेकपा ९एस०ले मन्त्रालय चित्तबुझ्दो नपाएको भन्दै बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकबाट मन्त्रालयमा कुरा मिलेपछि मात्र मन्त्रीको नाम दिने निर्णय गरेको थियो । 

सो निर्णयलगत्तै गठबन्धन दलका शीर्ष नेताबीच बालुवाटारमा जारी बैठकबाट नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल बाहिरिएका छन् । नेपालले मन्त्रालय भागबण्डामा पुनर्विचार भएमात्र मन्त्रीको नाम दिने बताएर बैठकस्थल छाडेका हुन् । 

नेपाल बैठकस्थलवाट बाहिरिएपनि अन्य नेता भने छलफलमै छन् । जसपाले पनि आन्तरिक सहमति मजबुद भइनसकेको भन्दै देउवालाई मन्त्रीको लिष्ट उपलव्ध गराइसकेको छैन । 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ५ : ३२ बजे