विधि मिच्दै माधवले लिए मन्त्री छान्ने जिम्मा : मन्त्री बन्न २० बढी आकाङ्क्षी 

कमजोर मन्त्रालय र थोरै मन्त्रालयमा लत्रिएको भन्दै बढ्यो असन्तुष्टि​​​​​​​

​​​​​​​काठमाडौं  । एमालेमा छँदा विधि र पद्धतिको कुरा गर्ने माधव नेपालले नयाँ पार्टीमा भने सिधै विधि मिचेर सबै निर्णय आफैँ गर्न थाल्नुभएको छ ।

एमालेमा छँदा मन्त्री छान्ने जिम्मा पार्टीको स्थायी कमिटीबाट हुनुपर्छ भनेर पटक पटक रडाको मच्चाएका नेपालले नयाँ पार्टी बनाएपछि कमिटीलाई गुमराहमा राखेर मन्त्री छनौट गर्ने जिम्मा आफैँले लिनुभएको हो ।

आज बिहान बसेको स्थायी कमिटी बैठकलाई हतार हतार टुङ्गाएर  नेकपा(एस)का अध्यक्ष नेपालले मन्त्री छनौटको जिम्मा आफैँ लिनुभएको हो । स्थायी कमिटीलाई छलेर आफू खुसी मन्त्री छनौटको जिम्मा नेपालले लिएपछि  नेकपा (एसमा ) भित्रभित्र नेताहरू रुष्ट बनेका छन् ।

ठुलो भाग पाइन्छ भन्दै पार्टी विभाजन गरेका माधव नेपालको भागमा अन्तिम अवस्थामा जम्मा ४ कमजोर मन्त्रालय मात्र परेपछि पार्टीभित्रको अकाक्षा सन्तुलन गर्ने समस्या परेको छ । 

मन्त्रिपरिषद् माओवादी सरहको हैसियत दिन्छु भनेका प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाललाई माओवादीको भन्दा झन्डै आधा साइजमा झारिदिएका छन् । माधव नेपालको पार्टीलाई समाजवादी बराबर भाग पुर्‍याउँदासमेत नेपाल लत्रिए पछि पार्टीभित्र असन्तोष बढिरहेको बताइन्छ । 

‘अहिले २ बजे बालुवाटारमा शीर्ष नेताहरूको बैठक छ । त्यसले मन्त्रीहरूको नाम टुङ्गो लगाउँछ । माधव नेपालले त्यहीँ नै नेकपा (एस)बाट मन्त्री बन्नेको नाम दिँदै हुनुहुन्छ । 

नेकपा एसले ५ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आइरहेको थियो । तर, बुधवार बसेको सत्ता गठबन्धन दलबिच कङ्ग्रेसले ७, माओवादी केन्द्रले ६, जसपा र एकीकृत समाजवादीले समान ४÷४ मन्त्रालय पाउने सहमति गरेको  थियो ।

पार्टीमा २० जना बढी आकाङ्क्षी भएपछि मन्त्री समाजवादीले सरकारमा पठाउने मन्त्रीको नामबारे अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन ।

 

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार  ३ : २३ बजे