अख्तियारले बिनाजानकारी छापा मारेर संस्थामाथि आक्रमण गर्‍यो : मुख्यमन्त्री राउत

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कुनै पत्र र जानकारीसमेत नदिएर अख्तियारले छापा मार्नु संस्थामाथिको आक्रमण भएको टिप्पणी गर्नुभएको छ ।

बुधबार प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री राउतले ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियानमा अनुसन्धान थालेर प्रदेश सरकारलाई बदनाम गर्न खोजिएको आरोप लगाउनुभयो । उहाँले प्रदेश सरकारलाई बदनाम गराउन अनेक प्रयत्न भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘अख्तियार प्रमुखजीलाई मैले आरामले भने जो सुकै आउँदा म मुख्यमन्त्रीलाई जानकारी दिदा के हुन्थ्यो ? मैले उहाँलाई जुन तरिका अपनाईयो ठिक भएन भनेर सोधे । विना पत्र पठाएर यस किसिमका व्यवहार गर्नु ठिक हो र ? मुख्यमन्त्री कार्यालय भनेको संस्था हो । प्रदेशको सिंहदरबार हो । प्रधानमन्त्री कार्यालय हो । सीमित बजेट होस, सिमिति कर्मचारी होस तर प्रदेशको आफ्नो गरिमा हुन्छ ।’

 

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  २ : ३४ बजे