ऐतिहासिक विधान महाधिवेशन : एमाले स्थापित हुनुपर्छ भन्नु ओलीको देवत्वकरण होईन

काठमाडौं । नेकपा एमालेको पहिलो ऐतिहासिक विधान महाधिवेशन सफलता पुर्वक आइतबार सकियो । ऐतिहासिक यस मानेमा कि विधान सम्मेलन नै पहिलो थियो र यसले देशको सवैभन्दा ठुलो पार्टी एमालेलाई नयाँ गति र उर्जाका साथ अघि बढाउने उद्घोष गरयो । एमालेबाट माधव कु नेपाल नामक समूह चोईटिएर गएपछि त्यसलाई धेरैले एमालेको अवसान शुरुभयो, अब एमाले कमजोर हुन्छ भन्ने भ्रम पालेका थिए, ती सार्वजनिक रुपमा अभिव्यक्त पनि भएका थिए । तर गोदावरी महाधिवेशनमा देखिएको उपस्थिती, उत्साह र बलियो एकताले एमाले सिध्याउँछु भन्दै कसम खाएका कम्युनिष्ट नामका दक्षिणपन्थीहरुलाई समेत बेचैन बनाएको छ । आफ्नो पार्टीप्रति कुनै समर्थन र आकर्षण नदेखेका, आफ्नो पार्टी माओवादी केन्द्रप्रति आफैलाई विश्वास नभएका प्रचण्ड र ओलीलाई राजनीतिक रुपमा समाप्त पारे भन्ने भ्रम पालेका माधव कु नेपाल एमालेमा बढेको यो जनलहर र एमालेमा प्रवेश गर्नेहरुको लर्को देखेर रन्थनिएका छन् । करिब दुईसाता यताका प्रचण्डका अभिव्यक्तिमा उनको मानसिकता प्रष्ट हुन्छ । कहिले आत्महत्या गर्न मन लागेको, कहिले मुक्ति वा मृत्यु भन्ने, कहिले जनयुद्धको धम्की दिने, कहिले कार्यकर्तालाई हिंसा गर्न उक्साउने र जसरी भएपनि एमालेसँग लड्ने भन्ने खालका अभिव्यक्तिले उनि एमालेसँग त्रसित रहेको र आफ्नो पार्टी विस्तारै समाप्त हुन लागेको भन्ने देखिन्छ । 

आफनै पार्टीको कम्युनिष्ट सरकार ढालेर आफनै टाउकाको मुल्य तोकेका शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाई लुरुलुरु उनका पछि लागेका प्रचण्ड चारथान मन्त्रीका लागि रात विहान देउवाकोमा धाउँछन् । देउवाले खासै भाउ नदिएपछि निराश हुन्छन् र सडकमा त्यही निराशा प्रकट गर्छन् । देउवाको त बिरोध गर्न सक्दैनन् तर ओलीको बदला लिन दलदलमा फसेको र आफनै पार्टीको जीवन दाउमा लगाएको निष्कर्षमा पुग्छन र बर्बराउँछन् उनी । 

एमालेको विधान महाधिवेशनमा देखिएको विशाल सहभागिता उत्साहीत कार्यकर्ता, नेता र दैनिकजसो एमाले प्रवेश गर्नेहरुको ठुलो पंक्ति देखेर एकातिर प्रचण्ड र माधव नेपाललाई उकुसमुकुस भएको छभने अर्कातिर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै ठुला– ठुला स्वरमा चिच्याउने उनीहरुलाई देउवाले हैसियत अनुसारको मात्रै मन्त्री भाग लगाउने भएपछि ‘चोक्टा खान गएको झोलमै डुबेर मरेको ’ जस्तो अनुभूति हुन्छ र त्यसमार्फत अस्थिर मनोग्रन्थ्री प्रकट हुन्छ । एकातिर एमालेलाई पार्टी चोइटिनुको खासै प्रभाव नपर्ने र अर्कातिर प्रचण्ड र माधव नेपालसँग रहेका व्यक्तिहरुपनि ओली नेतृत्वकै एमालेमा प्रवेश गर्ने क्रमले अतालिर्दै महागठबन्धन बनाउने एकोहोरो अलाप गर्दै हिडेपनि त्यसलाई काँग्रेसले भने कुनै महत्व र चासो दिएको छैन । एमाले अध्यक्ष ओलीले विधान अधिवेशनको अन्तिम दिन आईतबार आउँदो निर्वाचनबाट एमालेलाई एकाउन्न प्रतिशत मत प्राप्त हुने र एमाले बहुमतका साथ सरकारमा फर्कने उद्घोष गरेका छन् । र त्यस बमोजिम देशभरका नेता कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन पनि दिएका छन् । पार्टीको दर्शौ महाधिवेशन मंसिरमा बुटबलमा हुने घोषणा भएको छ र एमाले धमाधम देशभर संगठन निमार्ण स्थानिय तहदेखि माथिल्लो तहका अधिवेशनहरु गर्दे अघि बढ्ने तयारीमा छ । 

विकास र समृद्धिमा केन्द्रित हुँदै देशभरका आम नागरिकलाई त्यसमा जोड्दै अघि बढ्ने संकल्प एमालेले गरेको छ र देशको राष्ट्रिय सुरक्षा र स्वार्थलाई केन्द्रमा राखेर संरक्षण गर्दे अघि बढ्ने नीति पनि तय गरेको छ । एकातिर सरकार गठन भएको करिब ३ महिना पुग्दापनि मन्त्रिपरिषद बिस्तार गर्न नसक्ने एकपछि अर्को विवादित निर्णय गर्ने, छिमेकीहरुलाई चिढ्याउने र आत्मसमर्पण गर्ने खालका सोच र व्यवहारले देउवा सरकार पुर्णत असफल भईसकेको छ । देउवा पुर्ण असफल भएपनि त्यसको ढाकछोप गर्ने र रफफु लगाउने काम रामचन्द्र पौडेलले होइन , प्रचण्ड र माधव कुमार नेपालहरुले गर्नुपर्ने बाध्यता छ । हुँदाहुँदा अदालतको बिचौलियाको रुपमा चिनिएका र कुनै हैसियत नभएका व्यक्तिहरुलाई प्रधानन्यायधीसको कोटामा मन्त्री बनाएर अदालतको निष्पक्षतालाई समेत समाप्त पार्ने अत्यन्तै निम्नस्तरको राजनीतिमा प्रचण्ड माकुने र देउवाहरु लागेका छन् । एमाले कालमा भएका विकास देखेर फेरिपनि ओली नै प्रधानमन्त्री हुनुपर्छ भन्नेहरुलाई देउवा गठबन्धनले थप शक्ति दिएको छ, किनकि देउवा गठबन्धनलाई अब कसैले समाप्त पार्नुपर्दैन यो आफेै सकिन्छ । अबको १६ महिनामा आवधिक निर्वाचन हुनुपर्छ । गठबन्धनलाई हेर्दा आवधिक निर्वाचनसम्म पनि यो सरकार टिक्छ वा टिक्दैन भन्ने शंका देखिन्छ । त्यसो त एमालेमा बढेको जनलहरबाट अत्तालिएर चुनाव नगराउने सोचमा पनि यो गठबन्धन पुग्न सक्छ तर त्यो बेलासम्म यसको धेरै शक्ति क्षय भएको हुनेछ र निर्वाचन गराउन एमालेको सहयोग खोज्दै आईपुग्नुपर्ने अवस्था आउन सक्छ । 

तीन दिनको एमाले विधान महाधिवेशनले एमालेलाई पुन स्थापित गरेको छ । माओवादीबाट आएका र माधव नेपाललाई छाडेर आएका सवै नेता कार्यकर्ता एकताबद्ध भएर ओली नेतृत्वको एमालेलाई देशकै सवैभन्दा ठुलो र प्रभावशाली पार्टी बनाउने उद्घोषमा अघि बढेका छन् । ओली नेतृत्वको एमालेलाई सफल बनाउनुपर्छ भन्नु ओलीको देवत्वकरण गर्नु होइन्, यो वास्तविकताको पहिचान हो । 
 

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  १२ : ११ बजे