आजपनि ५१ प्रतिशत नेपाली जनता एमालेको पक्षमा छन् : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५१ प्रतिशत नेपाली जनता अहिले पनि एमालेको पक्षमा रहेको बताउनुभएको छ । 

शुक्रबारदेखि जारी विधान महाधिवेशनलाई आइतवार  आफूले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै ओलीले आगामी चुनावमा पनि एमालेले नै जित्ने दाबी गर्नुभयो । 

उहाँले एमालेको सरकारको पालमा मात्र विकास भएको भन्दै जनताले फेरी पनि एमालेलाई नै रोज्ने बताउनुभयो । आफ्नो दोस्रो कार्यकालमा कयौँ विकासका काम गरेको बताउनु हुँदै ओलीले सडक मानव व्यवस्थापनदेखि मेलम्चीको पानी काठमाडौं ल्याएको तथा कयौँ ठूला विकासका काम गरेको बताउनुभयो । ‘५१ प्रतिशत नेपाली एमालेको पक्षमा छन्ु, उहाँले भन्नुभयो, ‘हाम्रो पालाका सरकारको विकासमुखी सोचहरुले नै यो सम्भव भएको हो।’

ओलीले एमाले अब लगातार जित्ने दाबी गर्नुभयो । ‘हामीले हिजो पनि जितेका हौँ, आज पनि जित्छौँ, भोलि पनि जित्दैछौँ, हामी जित्दैछौँ,’ उहाँले भन्नुभयो ।

उहाँले एमाले अब सानातिना धक्काले नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो,‘सानातिना धक्का र हावाका झोक्काहरुले अब हाम्रो विजय यात्रालाई प्रतिकूल प्रभाव पार्न सक्दैन ।’

प्रकाशित मिति : १७ आश्विन २०७८, आइतबार  ४ : ५१ बजे