दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

विद्युतीय बस खरिद गर्न पुनः बोलपत्र आह्वानको तयारी

​​काभ्रेपलाञ्चोक । वाग्मती प्रदेश सरकारले विद्युतीय बस खरिदका लागि पुनः अन्तराष्ट्रिय बोलपत्र आह्वान गर्ने भएको छ । प्रादेशिक भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्थापन बोर्डमार्फत सरकारले सो बोलपत्र आह्वान गर्न लागेको हो ।

बोर्डले २०७७ चैत १८ मा विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गरी पुनः बोलपत्र गर्ने तयारी थालेको निर्देशक जगदीश ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार  मन्त्रालयले बस खरिदका लागि अध्ययन गरी तयार परेको लागत अनुमानभन्दा बढी रकमको बोलपत्र परेकाले सो बोलपत्र रद्द गर्नुपरेको थियो ।

लागत अनुमानभन्दा २९दशमलव८३ प्रतिशत बढीको प्रस्ताव बोलपत्रदाताले पेस गरेका कारण रद्द गर्नु परेको निर्देशक ढुङ्गानाको भनाइ थियो । यसका लागि आवश्यक सम्पूर्ण कागजी प्रक्रिया सम्पन्न गरी दसैँ अगाडि नै बोलपत्र आह्वान गर्न मन्त्रालयसँग सहकार्य भइरहेको छ । पहिले नै आह्वान गरिएको लागत मूल्यमा ३० विद्युतीय बस र १५ चार्जर खरिदका लागि ग्लोबल टेन्डर आह्वान गरिने उहाँले जानकारी दिनुभयो ।

हालै मन्त्रालयमा भएको सचिवको हेरफेरले यो काम केही दिन पर सरेकामा अब केही दिनमै बोर्डको बैठक बसेर  निर्णय हुने र प्रक्रिया सुरु गरिने निर्देशक ढुङ्गानाले बताउनुभयो  ।  

बस सञ्चालनका लागि आवश्यक चार्जिङ स्टेशन निर्माणको प्रक्रियासमेत अघि बढाइनाका साथै मन्त्रालय र बोर्डका प्रतिनिधिले संयुक्त रूपमा विभिन्न जिल्लाको स्थलगत अवलोकन गरेका थिए ।  बस सञ्चालन हुने मार्गका केही  स्थानमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया सुरु गरिएकोे छ  । बोर्डले काठमाडौंको गोङ्गबु बसपार्क, हेटौंडा बसपार्क, भरतपुरको पारस बसपार्क, धादिङको गजुरी, काभ्रेको धुलिखेल र नुवाकोटको बट्टार तथा विदुर बसपार्कमा चार्जिङ स्टेशन निर्माण प्रक्रिया अघि बढाएको हो ।

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ३ : ३८ बजे