काठमाडौँ । काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जनाकारी दिनुभयो । उपत्यकामा (मङ्गलवार) सम्म करिब ५० प्रतिशतले खोप लगाएका थिए । उपत्यकामा लक्षित २१ लाख २९ हजार ७७३ जनसङ्ख्या छन् ।
उहाँका अनुसार काठमाडौँ जिल्लामा पहिलो मात्रा ७८ प्रतिशत र पूर्ण मात्रा ७४ प्रतिशत जनसङ्ख्याले खोप लगाइसकेका छन् ।
काठमाडौँमा खोप लगाउने १५ लाख ६३ जना लक्षित रहेका थिए ।
यस्तै भक्तपुरमा पहिलो मात्रा ६३ प्रतिशत र पूर्ण मात्रा ७५ प्रतिशत, ललितपुरमा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ६९ प्रतिशतले खोप लगाइसकेका छन् ।
भक्तपुरमा दुई लाख ४६ हजार ८५१ जना र ललितपुरमा तीन लाख ८२ हजार ८६० जना लक्षित खोप लगाउने जनसङ्ख्या रहेका छन् ।
सरकारले असोज मसान्तभित्र ३३ प्रतिशत, पुस मसान्तसम्म दुई तिहाइ र चैत मसान्तभित्र सबै लक्षित जनसङ्ख्यालाई खोप लगाउने लक्ष्य लिएको छ । रासस
प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार ८ : ४८ बजे
प्रतिक्रिया