दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

चट्याङले छ लाख रुपैयाँका भेडा मारिए

जुम्ला । सोमबार राति १० बजेतिर परेको चट्याङले ४० वटा भेडा मरेपछि गुठीचौका किसान चिन्तित भएका छन् । जुम्लाको गुठीठचौर गाउँपालिका- ४ मा रहेको डाबा लेख भन्ने पाटनमा चट्याङ लागेर ४० वटा भेडा मरेका हुन्  । चट्याङका कारण  १५  वटा भेडा  घाइते भएका छ्न् ।

उक्त पाटन बर्खायामको समयमा सबै भेडा किसानको भेडा पाल्ने क्षेत्र हो । त्यहाँ गुठीचौर गाउँपालिकाका चार जना भेडा किसान र २०० भेडा थिए ।

किसानका अनुसार साढे छ लाख रुपैयाँ बराबरका भेडा मरेका छन् । भेडा मरेपछि स्थानीयको दैनिकी चलाउने आय स्रोत समेत नभएको किसान मुणिप्रसाद अधिकारीकाले बताए ।

भेडा भएका ठाउँमा  परेको चट्याङले भेडापालक किसानमाथि बज्रपात परेको गुठीचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मराज गिरीले बताए । उनले भने, 'विपद् कतिबेला आउँछ, थाहा हुँदैन । हामीले चाहेर पनि रोक्न सक्दैनौँ । गुठीचौर क्षेत्रका अधिकांश नागरिकको मुख्य आम्दानीको स्रोत भेडापालन नै हो।'

उनले भेडा पालक किसानहरूलाई राहतका लागि गाउँपालिकामा छ्लफल गर्ने बताए । चट्याङका कारण भेडा मरेपछि भेडा पालक किसानको जीविकोपार्जन समस्या आएको उनको पनि भनाइ छ ।

यता, पशु अस्पताल तथा पशु सेवा कार्यालयका जुम्लाका प्रमुख गोविन्द महतले भने प्रहरीको मुचुल्का, मरेका भेडाको फोटो, वडाको सिफारिस, सम्बन्धित किसानको नागरिकताको प्रतिलिपि लिएर किसानले जिल्ला प्रशासन कर्यालयमा दिनुपर्ने बताए । जिल्ला प्रशासन कार्यालयले  पशु अस्पताल तथा पशु सेवा कार्यालयलाई सिफारिस गरेको खण्डमा राहत दिने व्यवस्था छ ।

महतले राहतका लागि कार्यविधि बनेको र त्यसै कार्यविधिमा टेकेर भेडा किसानलाई राहत दिने व्यवस्था रहेको जानकारी दिए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ३५ बजे