सुनको मूल्यमा नयाँ कीर्तिमान

निर्वाचन सकिएको  चार वर्षपछि महोत्तरीको एक वडामा पुनः मतगणना गरिंदै

जनकपुर । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. १० मा निर्वाचन सम्पन्न भएको चार वर्षपछि पुनः मतगणना हुँने भएको छ ।
सर्वोच्च अदालतले महोत्तरीको सिस्वा नगरपालिका– १० बथनाहामा पुनः मतगणना गर्ने उच्च अदालत जनकपुरको आदेश सदर गरेपछि त्यहाँ पुनः मतगणना हुन लागेको हो । 
स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि सर्वोच्चले पुनः मतगणना गर्ने उच्च अदालतको आदेश सदर गरेको हो।

उच्च अदालत जनकपुरले २०७५ असार २१ गते १५ दिन भित्र पुनः मतगणना गर्न आदेश दिएकोमा नेपाली कांग्रेसबाट निर्वाचित वर्तमान वडाध्यक्ष अरुण चौधरीले सर्वोच्चमा आदेश खारेजी गरिपाउँ भनी निवेदन दिएका थिए। पछि २०७७ चैत ६ गते सर्वोच्चले उच्च अदालत जनकपुरकै आदेशलाई सदर गरिदिएकोमा त्यो वेला कोरोनाको कारण मतगणनाको मिति तय हुन सकेको थिएन ।

उच्च अदालत जनकपुरका  न्यायाधीशद्वय हरिप्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त इजलासले २०७८ कात्तिक ७ गते बिहान ११ बजे मतगणनाको लागि मिति तोकेको छ । 

मनरा सिस्वा नगरपालिका– १० का वडाध्यक्ष अरुणकुमार चौधरी र मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरसमेत विरुद्ध वादी स्वतन्त्र उम्मेदवार रमेश रायले पुनः मतगणना गर्न दोर्होयाई मतगणनासमेत गरिपाउँ भन्दै उच्च अदालत जनकपुरमा मुद्दा दर्ता गराएका थिए।

२०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका अरुणकुमार चौधरीको दुई सय ६४ मत र स्वतन्त्र उम्मेदवार रमेश रायको दुई सय ६७ मत आएकोमा निर्वाचन अधिकृतले अरुणकुमार चौधरीको ३ वटा बदर मतसमेत सदर गरिदिएपछि दुवै बराबरीमा भएको र सोपछि आफू नभएको वेला निर्वाचन अधिकृतले गोलाप्रथा गरी अरुण कुमार चौधरीलाई निर्वाचित गराइदिएको भन्दै रमेशकुमार रायले मुद्दा हालेका थिए।

उच्च अदालत जनकपुरले जारी गरेको आदेशमा मतको सदर र बदरमा विवाद देखिएको भन्दै पुनः मतगणना हुनुपर्ने उल्लेख थियो। गोलाप्रथा गर्दा पनि निवेदकको अनुपस्थितिमै गरिएको भन्दै अदालतले निर्वाचन कसुर तथा सजाय ऐनबमोजिम बदर हुने मत बदर नगरेको वा कानुनबमोजिम सदर हुने मत सदर नगरेको देखिएकोले दोर्होयाएर मतगणना गर्न आदेश थिएको थियो।

सोही आदेशपछि वर्तमान वडाध्यक्ष चौधरीले आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सर्वोच्चले उनको निवेदनको आधारमा आदेश खारेजीको अवस्था नदेखिएको भन्दै उच्च अदालतकै आदेश सदर गर्दै पुनः मतगणना गर्न आदेश दिएको हो । 
 

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १ : ४८ बजे