मन्थली विमानस्थलमा पानी पस्यो

माओवादी केन्द्रले सरकारलाई छिटो पूर्णता दिने विषयमा पहल गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले मन्त्रिमण्डल बिस्तारमा देखिएको कानुनी जटिलता पन्छाएर सरकारलाई शीघ्र पूर्णता दिने विषयमा पहल गर्ने निर्णय गरेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आज बसेको स्थायी समितिको बैठकले सरकार विस्तारका लागि कानुनी जटिलता, सदनसँग सम्बन्धी अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दालगायत विषयमा छलफल भएको पार्टीका नेता देव गुरुङले जानकारी दिनुभयो ।

नेता गुरुङले मन्त्रिपरिषद् विस्तारमा देखिएको कानुनी जटिलतालाई समाधान गरेर अगाडि बढ्न पहल गर्ने र पाँचदलबीच छलफल गरेर निर्णयमा पुग्ने विषयमा  छलफल भएको जानकारी दिनुभयो ।  

स्थायी समितिको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जानकारी गराउनुभएको र स्थायी समिति सदस्यको राय लिनुभएको पनि नेता गुरुङले जानकारी दिनुभयो । 

यस्तै बैठकले पार्टी सदस्यताको नवीकरण असोज मसान्तसम्म गर्ने नयाँ कार्य तालिका तय बैठकले तय गरेको छ ।

 

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  १ : ३३ बजे