मन्थली विमानस्थलमा पानी पस्यो

माधव नेपाललाई गोकर्ण विष्टकाे आग्रह- आफ्ना कमजोरी सच्याएर एमालेमा फर्किनुस्

काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले माधव नेपाललाई पार्टीमा फर्किन आह्वान गर्नुभएको छ । आफ्ना कमजोरी सच्याएर पार्टीमा फर्किन विष्टले आग्रह गर्नुभएको हो ।

आइतबार नेपाल मुस्लिम इत्तेहाद संगठनको बृहत् केन्द्रीय भेलामा उहाँले भन्नुभयो, 'गुटका आधारमा विभाजित गर्नुभयो । कुनै हिसाबले औचित्य पुष्टि गर्न सक्ने अवस्था छैन । उहाँले आफ्ना कमजोरी सच्याएर एमालेमा फर्किएर नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध रूपमा उचाइमा पुर्‍याउन आग्रह गर्दछु।'

विष्टले विगतमा एमाले फुटेर माले बन्दा पनि स्थापित हुन नसकेको उदाहरण दिँदै फर्किन आह्वान गर्नुभयो । आफूहरूसँग सल्लाह नै नगरी १० बुँदे लत्याएर पार्टी विभाजन गरेको भन्दै उहाँले असन्तुष्टि जनाउनु भयो । कम्युनिस्ट पार्टीभित्र विपक्षी रहनेबेला भन्दा सत्तामा रहँदा समस्या देखिने गरेको भन्दै यसमा नेतृत्वको ध्यान जानुपर्ने औल्याउनु भयो ।

विष्टले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदा माधव नेपालले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप पनि लगाउनु भयो । 'देउवालाई प्रधानमन्त्री बनाउन मेरो हस्ताक्षर थिएन । खाली कागजमा गराएको हस्ताक्षर प्रयोग गर्दिन भनेर लिनुभयो । तीन पटक सोधें माधव नेपालले गर्दिनँ भन्नुभयो । तर माधव नेपालले इमान्दारिता देखाएनन्,' उहाँले भन्नुभयो  ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ४ : १२ बजे