रविलाई भोलि काठमाडौं ल्याइने

अहिलेको चिङकाङले दिएको सन्देश

चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएर चिनियाँ कम्युनिष्ट पार्टीले सत्ता हासिल गरेको वर्ष मात्र नेपालमा कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । सन् १९६६ देखि सन् १९७६ सम्म चीनमा गरिएको भनिएको साँस्कृतिक क्रान्तिको प्रभाव नेपाली कम्युनिष्ट आन्दोलनमा पनि पर्यो मात्र होइन बरु कतिपय मामिलामा त्यसको अन्धानुकरण नै गरियो । अन्धानुकरण र जडसूत्रको बाटो विफलताको हो र सिर्जनात्मकताको मार्ग नै सही हो । 

एकातिर विश्वमा एक शक्तिशाली राष्ट्रको रूपमा उदाउँदै गरेको राष्ट्रको सामाजिक आर्थिक अवस्था र अर्कोतिर चीनको कम्युनिष्ट आन्दोलनको विजयमा महत्वपूर्ण स्थान ओगटेको चिङकाङ पहाडमा पाइला टेकेर त्यसको अवलोकन गर्न पाउनु महत्वपूर्ण अवसर हो । 

यसका लागि हामीलाई निमन्त्रणा गरी भ्रमणको चाँजोपाँजो मिलाउने चीनीयाँ कम्युनिष्ट पार्टीलाई धन्यवाद दिनै पर्दछ । यो भ्रमण सन् २०११ को जून २१ देखि जुलाई १ सम्म भएको थियो । चीनको राजधानी बेइजिङ लगायतका स्थानहरूमा विभिन्न महत्वपूर्ण कार्यक्रमहरूका साथ भ्रमण सम्पन्न भयो । त्यसमध्ये चियाङशी प्रान्त र यही प्रान्तमा पर्ने चिङकाङ पहाड पनि एउटा महत्वपूर्ण भ्रमण विन्दु हो । चिङकाङ पहाडमा हामीले सन् २०११ को जून २६ मा पाइला टेक्यौं ।  

चिनियाँ क्रान्तिका महानायक माओ त्सेतुङले २५ नोभेम्वर १९२८ मा ‘चिङकाङ पहाडमा संघर्ष’ नामक एक दस्तावेज तयार पारेका थिए र जुन सामग्री प्रतिवेदनको रूपमा चीनीयाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा प्रस्तुत गरिएको थियो । माओले यस पहाडलाई एउटा उत्कृष्ठ फौजी आधार क्षेत्रको रूपमा चित्रित गरेका थिए । यसबाट उक्त पहाडको संघर्षको महत्वको उजागर स्वतः हुनजान्छ । सन् १९२७ को अक्टोवरमा माओले चिङकाङ पहाडमा सानो किसान समूहको नेतृत्व गर्दै एउटा नयाँ प्रकारको क्रान्तिकारी लडाई शुरु गरे । यसबाट लाल सेनाको माध्यमबाट चीनियाँ क्रान्तिको निम्ति गुरिल्ला युद्धको नयाँ रणनीति विकसित भएको थियो । त्यसैले यो एक ऐतिहासिक स्थलको रूपमा चिनियाँहरुले संरक्षित गरिराखेका हुन् । 

सन् १९२७ को शरद बाली विद्रोहको पराजयपछि माओ समुद्रि सतहभन्दा १८ सय मिटर अग्लो स्थानमा रहेको २७ माइल चौडा र १७० माइल लम्बाइ भएको चिङकाङ पहाड पुगेका थिए । यसको क्षेत्रफल ७२ सय वर्ग किलोमिटर हो । अगस्त १, १९२७ मा च्याङशीको राजधानी नान्चाङमा चीनीयाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा प्रसिद्ध विद्रोह भयो । यो ‘नान्चाङ विद्रोह’ को नामले प्रसिद्ध छ । चओ एन लाई, चु तेह, हु लोङ र ये थिङको नेतृत्वमा भएको विद्रोहमा तीस हजारभन्दा बढी सैनिकहरूले भाग लिएका थिए । विद्रोहले पराजय व्यहोर्नु प¥यो । चु तेह र छन ई को नेतृत्वमा विद्रोही सेनाको एक भाग लड्दै चिङकाङ पहाड पुग्यो र माओको नेतृत्वमा रहेको मजदूर किसान क्रान्तिकारी सेनाको पहिलो डिविजनसित मिल्यो । 

चियाङ काइ सेकले सन् १९२७ को उक्त विद्रोहलाई दमन गरेको थियो । सांघाइ र अरु मुख्य शहरहरूमा कम्युनिष्ट संगठनलाई तहसनहस पारेको अवस्था थियो । बचेका कतिपय क्रान्तिकारीहरू शहरमा संगठन गर्न गए भने केही गाउँमा आधार इलाका निर्माण कार्यमा जुटे । चिङकाङ त्यस्तै एउटा आधार इलाका थियो । वास्तवमा चिङकाङ पहाड विद्रोहीहरूको शरणस्थल बनेको थियो । 

चियाङशीको स्थानीय कम्युनिष्ट शासनको माओ अध्यक्ष चुनिए जो एकान्त इलाका थियो । केही समयमा नै उनलाई सोभियत संघमा पढेर आएका विद्यार्थीहरूको समुहले नेतृत्वबाट पाखा लगाएको थियो । हतियार बिनाको जनसमूह होइन हतियार सहितको सेनाले मात्र तत्कालित चिनियाँ परिवेशमा केन्द्रीय भूमिका पुरा गर्न सक्छ भन्ने कुरा चिङकाङ पहाडमा माओले महशुस गरेका थिए । हुनानको गाउँमा जन्मेका माओले ‘हुनानमा किसान आन्दोलनको प्रतिवेदन’ भन्ने चर्चित सामग्री तयार पारेका थिए । त्यस अध्ययनबाट उनी यो निष्कर्षमा पुगेका थिए कि किसान आन्दोलनले सामन्ती प्रणालीलाई समाप्त पारेर नयाँ समाज निर्माण गर्नसक्छ । वास्तवमा उनको निष्कर्ष सही निस्कियो । 

अहिले नान्चाङमा प्रसिद्ध नान्चाङ विद्रोहको क्रान्तिकारी संघर्षलाई झल्काउने चीनीयाँ सेनाको इतिहासको प्रथम संग्रहालय छ । म्युजियमको भित्तामा ‘चिङकाङ पहाडको पथ’ नाम दिइएको चित्रले सिँगारिएको छ । ठूलो बन्दुकको नाललाई अरु कतैतिर होइन आकाशतिर ताकिएको मूर्ति सजाइएको छ । नीलो गगनतर्फ ठड्याइएको यो बन्दुकले अहिले शान्तिको भाषा बोलिरहेको जो कोहीले महशुस गर्न सक्छ । यसले हाल चिनभरी शान्तिको सन्देश फैलाइरहेको छ । 

चिङकाङशान चियाङशी प्रान्तमा पर्दछ । अझ भन्नु पर्दा यो पहाड चियाङसी र हुनान प्रान्तको सीमाक्षेत्रमा पर्दछ । माओको जन्म हुनान प्रान्तमा भएको थियो । यही प्रान्तमा नान्चाङ छ र यही नान्चाङ चिनियाँ जनमुक्ति सेनाको जन्मस्थल पनि हो । त्यसैले समग्रमा यो प्रान्त चिनियाँ क्रान्तिको ऐतिहासिक स्थल हो भन्दा अतिशयुक्ति हुँदैन । नयाँ जनवादी गणतन्त्र चीनको स्थापनामा चियाङशी प्रान्तको महत्वपूर्ण देन रहेको छ । चिङकाङ पहाडको फेदिको सिपिंगमा चिङकाङ क्रान्तिकारी संग्रहालय छ जसले त्यस पहाडको तत्कालिन क्रान्तिकारी संघषलाई स्मरण गराउँदछ । यो संग्रहालय सन् १९५९ मा स्थापना भएको हो र यो देशको प्रथम स्थानीय क्रान्तिकारी संग्रहालय पनि हो । संग्रहालयको शिलालेख चु तेहले १९६२ मा लेखेका हुन् । 

ऐतिहासिक दस्तावेज, शहीदका शालिकहरू, पहाडका महत्वपूर्ण स्थानहरूलाई जीवन्त रूपमा संग्रहालयमा राखिएको छ । चिङकाङ पहाडको तत्कालिन ऐतिहासिक सशस्त्र संघर्षलाई कृत्रिमरूपमा विद्युतीय माध्यमबाट जीवन्तरूपमा निरन्तर दर्शकहरूलाई देखाइने व्यवस्था मिलाइएको छ । 

उक्त ऐतिहासिक पहाडको भ्रमणको निम्ति हामी व्यग्र थियौं । चाइना एक्ज्युकिटिभ लिडरसीप एकेडेमि चिङकाङशान (सीलाज) को स्वागत र अन्तरक्रियापछि भ्रमण दल त्यसतर्फ प्रस्थान ग¥यो । चिङकाङ पहाडको फेदिबाट टाकुरातर्फ अत्यन्त आकर्षक सडक, दायाँ बायाँ चिङकाङशानको गाथाले भरिका व्यानरहरू र ध्वजापताकाहरू परफराइरहेका थिए । चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको नब्बेऔं वार्षिकोत्सवको अवसरमा देशभरी विविध भव्य कार्यक्रमहरू सञ्चालन भइरहेका र यस क्षेत्रमा पनि वार्षिकोत्सवसम्बन्धी विविध कार्यक्रमहरू भएकाले यस क्षेत्रमा विशेष चहलपहल र भव्यता झल्किन्थ्यो । हामी चढेको गाडीको अग्रभागमा बसेर पथप्रदर्शिकाले चिङकाङ पहाड र यसको ऐतिहासिक गाथालाई बयान गरिरहेकी थिइन् । 

सीलाज चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी तथा राज्य परिषद्को स्वीकृतिमा चिनियाँ कम्युनिष्ट पार्टीको इतिहास, पार्टी निर्माणका सिद्धान्त, क्रान्तिकारी परम्परा र आधारभूत राष्ट्रिय परिस्थितिको बारेमा पार्टी तथा सरकारी अधिकारीहरू, औद्योगिक व्यवस्थापकहरू, व्यवसायीहरू र सेनाका अधिकृतहरूलाई तालिम दिन स्थापना गरिएको हो । 

चीनका राष्ट्रपति हु चिन थाउले आफ्नो बधाई ज्ञापन पत्रमा भनेका छन्– चिनियाँ कम्युनिष्ट पार्टीको १६ औं राष्ट्रिय महाधिवेशन तथा गठित केन्द्रीय कमिटीको मार्गदर्शन र भावना मुताविक चीनका तीनवटा स्थानमा यी प्रतिष्ठानहरू स्थापना भएका हुन् । यी संस्थाहरू पार्टीको नेतृत्वलाई शिक्षा तथा तालिम दिनको निम्ति संस्थापित भएका हुन् । चीनको कम्युनिष्ट पार्टीले नेतृत्वपंक्तिलाई शिक्षा तथा प्रशिक्षण दिनुपर्छ भन्ने कुरा प्राथमिकतामा राखेको छ । कार्यक्षेत्रमा आधारित भएर यी प्रतिष्ठानहरूले अध्ययनसमेत संचालन गर्दछन् । यस प्रतिष्ठानका विभिन्न उद्देश्यहरूमध्ये कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूलाई शिक्षा तथा तालीमको निम्ति अन्तर्राष्ट्रिय तालीम र सहयोग तथा योगदानको ढोका खोल्नु हो । प्रतिष्ठानको सिद्धान्त भनेको तथ्यबाट सत्य पत्ता लगाउनु र समयको गतिसँगै अघि बढ्नु अनि कठोर संघर्ष गर्दै जनताको निम्ति राज्यशक्तिको अभ्यास गर्नु रहेको छ ।

सिलाजका उपाध्यक्ष प्राध्यापक जाङ योनानले हाम्रो भ्रमण टोलिलाई स्वागत गर्दै प्रतिष्ठानको बारेमा जानकारी गराएका थिए । उनले भने– राजधानी बेइजिङदेखि टाढा भएपनि यो स्थान चिनियाँ क्रान्तिको एक ऐतिहासिक स्थल भएकाले यही स्थानमा यो प्रतिष्ठान निर्माण गरिएको हो र यो क्रान्तिको तालिम दिने ठाउँ हो । तीनसय हेक्टर जमिनमा फैलिएको यो स्थानमा ५०० जनासम्म एकैसाथ अध्ययनमा संलग्न हुन सक्छन् । अझ उनले थपे– चिङकाङ चिनको क्रान्तिको उद्गमस्थल हो र यहाँ क्रान्तिको अखडा निर्माण भएको थियो । माओ र चु तेहले यहीँबाट क्रान्तिको रणनीति तयार पार्नुभयो र यो भनेको गाउँबाट शहरलाई घेर्ने हो । चिङकाङ माओ विचारधाराको उद्गमस्थल हो । 

योनानको विचारमा समाजवादको विचार कहिले बलियो र कहिले कमजोर हुन्छ त्यसैले यसलाई हामीले अनुभव गर्न सक्नुपर्छ । समाजवादको अवधारणा सधैंभरि एकै प्रकारको हुन सक्दैन यो आवश्यकता अनुसार परिवर्तन गर्नुपर्छ र नयाँ विचार दिनुपर्छ । सोभियत संघको समाजवाद पतन र विघटनबाट चिनले अनुभव संगालेको छ र सधैं पुरानो कुरामा टाँसिइरहने होइन बरु नयाँ विचार पनि लिन सक्नुपर्छ । सत्तारुढ पार्टीले प्रजातान्त्रिक पक्षमा जोड नदिने र जनजीवनमा सुधार नगर्ने हो भने त्यो पार्टी सत्तारुढ पार्टी हुन सक्दैन । वास्तवमा बजार अर्थतन्त्र समाजवादसँग मिल्दोजुल्दो छ । चिनको विकास गर्ने क्रममा वातावरण विनास हुने गरेको छ तर यसलाई पार्टीले गंभीरतापूर्वक लिएको छ र विकासका साथसाथै वातावरणको पनि संरक्षण तथा सम्वर्धन गर्नुपर्दछ । पहिले कम्युनिष्ट पार्टी कमजोर थियो । तर हाम्रो विचार सही थियो । त्यसैले सही चिजको निम्ति विजयी हुने विश्वास बलियो पार्नुपर्छ । चिनियाँ क्रान्तिमा संलग्न व्यक्तिहरू प्राज्ञिक पनि थिए । विदेशी विश्वविद्यालयमा पढेका र पैसा कमाएकाहरू पनि थिए तर कम्युनिष्ट पार्टी र क्रान्तिप्रति विश्वास भएर उहाँहरू स्वदेश फर्कनुभयो । अहिले हामी समाजवाद निर्माणको चरणमा छौँ र चुनौति पनि त्यत्तिकै छन् तर अहिले यो प्रतिष्ठानको कक्षामा विजयी हुने विश्वास हामी दिलाउँछौं । यसरी उनले बजारमुखी समाजवादी अर्थतन्त्रको व्याख्या गरे । 

चिनियाँ क्रान्तिको उद्गमस्थलको चुचुरोको फेदिमा रहेको सीलाज आज क्रान्तिको अन्र्तवस्तुलाई पक्रँदै समाजवाद निर्माणका निम्ति खटिएको जनशक्तिलाई तालिम दिन सक्रिय छ । आकर्षक भवनहरू र त्यसभित्रका तालिमका निम्ति प्रयोग हुने आधुनिक सूचना प्रविधिसहितका उपकरण र सामग्रीहरू लोभलाग्दा छन् । 

चिनियाँ क्रान्तिको दौरानमा चिङकाङ पहाडको टाकुरामा कम्युनिष्ट पार्टीका छापामार र तिनका शत्रुबीच लडाई भएको थियो । छामामारहरू टाकुरामा र शत्रुसेना टाकुरामुनी थिए जसको कारणले पनि रणनीतिकरूपमा छापामारहरू सुदृढ अवस्थामा थिए । शत्रुलाई लालसेनाले परास्त गर्न सफल भयो । त्यसबेला छापामारले लिएको पोजिसन स्थल, तोप, माओको बैठक कक्ष आदिको संरक्षण गरेको देखियो । छापामारले प्रयोग गरेको तोप, हातहतियार, युद्धस्थल आदि गंभीरतापूर्वक अवलोकन गरियो । त्यसबेला प्रयोग भएका हातहतियार आज चिङकाङ पहाडमा पुरातात्विक बस्तुका रूपमा सुरक्षित छन् । 

खासगरी प्रतिनिधि मण्डलमा सहभागी माओवादी पार्टी आवद्ध सदस्यहरू त्यसक्षेत्रलाई अवलोकन गर्दा बढी नै जोसिएको र हौसिएको अवस्थामा देखियो । बडो जोसका साथ तोप समाएर प्रहार गर्ने पोजिसनमा बसेर तस्वीर लिने फोटो शेसन नै त्यहाँ चल्यो । त्यसलाई माओवादीमा रहेको धङधङिको रूपमा लिन सकिन्छ । जोशिलो भएर तस्वीर लिइरहेका मित्रहरूलाई यस पंक्तिकारले बहुत हौसिनु भयो नी भन्दा उहाँहरूले मुसुक्क हाँसेर मात्र प्रतिक्रिया जनाउनुभयो । 

चिङकाङ पहाड अवलोकन भ्रमणका क्रममा रोमाञ्चक क्षण त्यतिबेला बन्यो जब हामीले माओलाई भेट्यौं । नजिक गएर हात मिलायौं र उहाँसँग तस्विर खिच्यौं । त्यहाँ सन् १९७६ मा मृत्यु भएका माओको पुर्नजन्म भएको थिएन बरु माओकै जस्तो अनुहार भएका एकजना चिनियाँ नागरिक थिए जसलाई हामीले भेटेका थियौं । उनलाई देख्दा माओको झझल्को आउँथ्यो । उनको अनुहार माओको अनुहारसँग मिल्दोजुल्दो भएकोले उनलाई ऐतिहासिक चिङकाङ पहाडको टाकुरामा बस्ने या भनौं प्रदर्शन गर्ने व्यवस्था मिलाइएको रहेछ । राजनीतिक पर्यटन प्रवद्र्धनका लागि यो शैली सान्दर्भिक नै लाग्यो । 

चिनियाँ क्रान्तिको ऐतिहासिक स्थानको रूपमा रहेको चिङकाङ पहाडले संघर्षका आँधीबेहरी व्यहोर्नु प¥यो । यस पहाडी क्षेत्रका जनताले वर्गीय शोषण तथा उत्पीडनका कहालीलाग्दा दिनहरू गुजार्नु प¥यो । भोकमरी र गरिबीमा जीवन गुजार्नु पर्यो । चीनीयाँ क्रान्तिका महानायक र नायकहरूले क्रान्तिका निम्ति शिक्षाहरू ग्रहण गरे । यो पहाडमा भएको संघर्षका बारेमा अनेकौं सामग्रीहरू उत्पादन भए र अनुसन्धानहरू भए । 

सन् १९४९ अघिको चिङकाङ पहाड र त्यसयताको चिङकाङ पहाडमा व्यापक परिवर्तन भएको छ । आज चिङकाङ पहाडमा सामाजिक तथा आर्थिक विकासले जनताको मुहारमा खुशी छाएको छ । यस क्षेत्रका जनता शान्तिपूर्णरूपले समृद्धियुक्त जीवन बिताइरहेका छन् । साँच्चै आज चिङकाङ पहाडमा संघर्ष होइन, शान्तिको विगुल बजिरहेको छ । यस पहाडको सन्देश आज चिनियाँ भूमिभरी फैलिइरहेको महशुस गर्न सकिन्छ । 

चीनको तत्कालिन राजनीतिक, सामाजिक र आर्थिक अवस्था एवं भौगोलिक बनावट र अन्तर्राष्ट्रिय परिस्थितिका कारणले नै चिनियाँ क्रान्तिको दीर्घकालीन जनयुद्धको बाटो सफल भएको हो । तर सबै ठाउँमा र सबै परिस्थितिमा क्रान्तिको त्यो बाटो लागू हुन सक्दैन । अन्धानुकरण गर्नु जडसूत्रवादी हुनु हो । चिङकाङ पहाडको फेदिमा रहेको सीलाजको सन्देश पनि सायद यही हो । सिलाजका प्रा. योनानको विचारमा सधैं पुरानो कुरामा टाँसिएर होइन नयाँ परिस्थितिमा नयाँ विचार लिएर मात्र सामाजिक परिवर्तनलाई हासिल गर्न सकिन्छ । त्यसैले आज चीन पुरानो ढर्राको समाजवादमा होइन बजारमुखी समाजवादी अर्थतन्त्रको नयाँ प्रयोगका साथ समाजवादलाई अपनाइरहेको छ ।

चिङकाङ पहाडको भ्रमणबाट अनेकौं शिक्षा र सन्देशहरू लिन सकिन्छ । संसारका धेरै मुलुकहरूबाट वामपन्थी र गैर वामपन्थीहरू विभिन्न क्षेत्रमा क्रियाशील मानिसहरू यस पहाडको भ्रमणको निम्ति जान्छन् । हुनत त्यसले दिने सन्देशलाई हरेकले आ–आफ्नै किसिमले पनि बुझेका होलान् । मूलतः परिवर्तित परिस्थितिलाई सही ढंगले बुझ्ने र सोही अनुकूलको विचार तय गर्ने र त्यसलाई सिर्जनात्मक ढंगले व्यवहारमा उतार्न सकेमा नै कुनैपनि देशले सफलता हासिल गर्न सक्छ भन्ने नै चिङकाङ पहाडले दिएको सन्देश हो । आज चिङकाङ पहाडमा छाएको शान्ति र समृद्धि यसैको द्योतक हो । यीनै कुराहरू मनमा खेलाउँदै चिङकाङ पहाडको टाकुराबाट हामीहरू फेदितिर ओरालो लाग्यौं र फेदिमा रहेको माओको पूर्ण कदको प्रतिमामा श्रद्धा सुमन अर्पण गरी मन नलाग्दा नलाग्दै चिङकाङ पहाडलाई बिदाइ गर्यौं । 

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  १० : ५१ बजे