मदन भण्डारीलाई मरणोपरान्त दिएको सम्मान उनकी छोरीले थापेकी मात्र हुन्,खुलम खुल्ला झुट प्रचार नगर : अध्यक्ष ओली 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीलाई अघिल्लो सरकारले पदक दिएको भनेर गलत प्रचार गर्ने काम भइरहेको बताउनुभएको छ । 

आज काठमाडौँमा नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा बोल्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले उक्त पदक स्वर्गीय मदन भण्डारीलाई मरणोपरान्त गरिएको सम्मान भएको बताउनुभयो । 

‘उषा किरण भण्डारीलाई कुनै पदक दिइएको छैन, उनले त आफ्ना बुबालाई मृत्यु पछि प्राप्त भएको मरणोपरान्त सम्मान थापेकी मात्र हुन्, पदक थाप्न कोही न कोही परिवारको मान्छे त चाहियो, बाटोमा थपक्क राख्न त मिलेन ।’ओलीको भनाई थियो । उहाँले आफ्ना स्वर्गीय बाबुलाई प्राप्त भएको पदक थापेको फोटोलाई सार्वजनिक माध्यम बाट खुलम खुल्ला झुट गरेर प्रचार गरिएको ओलीले बताउनुभयो । 

देउवा सरकारले नेताका श्रीमती, आफन्त र नजिकका मान्छेलाई पदक बाँडेको आलोचना भएपछि त्यसलाई काउन्टर दिन राष्ट्रपतिले आफ्ना छोरीलाई पदक दिएको भनेर प्रचार गरिएको थियो ।  अध्यक्ष ओलीले आफ्नो कर्तुत छोप्न हुँदै नभएको कुरा प्रचार गर्न खोजिएकोमा आपत्ति जनाउनुभयो । 

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ५ : ५७ बजे