एमाले महासचिवको प्रतिवेदनः ओलीलाई अध्यक्ष बन्न र कार्यकाल पूरा गर्न उमेरहद नलाग्ने

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले १०औं महाधिवेशनबाट पुनः केपी शर्मा ओलीलाई नै अध्यक्ष बन्न सहज हुने गरी प्रस्ताव अघि सार्नुभएको छ । 

पार्टीको विधान महाधिवेशनका लागि उहाँले तयार पार्नुभएको सांगठनिक प्रतिवेदनमा नवौं महाधिवेशनपछि कायम पार्टी विधानमा रहेको ७० वर्षे उमेरहदको व्यवस्थालाई व्याख्या गर्दै उहाँले ओलीलाई पुनः अध्यक्ष बन्न र पूरा कार्यकाल काम गर्न सजिलो हुने गरी प्रस्ताव अघि सार्नुभएको हो । 

एमालेले आगामी मंसिरमा पार्टीको १०औं महाधिवेशन गर्दैछ भने आगामी १५-१७ असोजदेखि पहिलो विधान महाधिवेशन गर्दैछ । विधान महाधिवेशनमा पेस गरिने संगठनिक प्रस्तावमा उहाँले ओलीलाई पुनः अध्यक्षमा ल्याउन सजिलो बनाउने गरी विधानको व्याख्या मात्र गर्नुभएको छैन, एमालेका तत्कालीन नेता माधव नेपाललाई नवौं महाधिवेशनमा अध्यक्ष बन्ने बाटो खोलिदिएर एमालेले गल्ती गरेकोसमेत प्रतिवेदनमा लेख्नुभएको छ । 

आसन्न १०औं महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार बन्नयोग्य रहेको भन्दै केहीअघि पत्रकार बोलाएर घोषणा गर्नुभएको  पोखरेलले प्रतिवेदनमा भने एमाले विधानमा रहेको ७० वर्षे उमेरहदको अपूर्ण व्यवस्थालाई थप व्याख्याको प्रस्ताव गर्नुभएको छ । 

एमालेको नवौं महाधिवेशनले पारित गरेको विधानको धारा ६५ को उपधारा ३ ले भन्छ, ‘सबै कार्यकारी कमिटीमा निर्वाचित वा मनोनीत हुन उमेरहद ७० वर्ष हुनेछ ।’

विधानको यो धारा एमालेको कार्यकारी पदमा बस्न ७० वर्ष पूरा भएपछि नपाउने हो या ७० लागेपछि नपाउने हो भन्ने विषयमा मौन छ । ७० वर्षपछि कार्यकारी पद त्याग गर्न पर्ने कि नपर्ने भन्ने विषयमा पनि मौन छ । 

तर स्थायी कमिटीले पारित गरेर भोलिबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा पेस हुने प्रतिवेदनमा पोखरेलले भन्नुभएको छ – ‘७० वर्षको उमेरहदलाई ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकाल पूरा नहुँदासम्म जिम्मेवारीमा रहन पाउने स्पष्ट व्यवस्था गरी त्यसलाई यथावत् राख्नु उपयुक्त हुन्छ ।’ 

अध्यक्ष ओली निकट मानिएका नेता शंकर पोखरेललगायतका नेताले यसअघि नै केपी ओली पुनः एकपटक पार्टी अध्यक्ष र प्रधानमनत्री बन्ने घोषणा गरिसक्नुभएको छ । 

तर पार्टीको हालको विधानमा रहेको कार्यकारी पदमा रहन ७० वर्षे उमेरहदसम्बन्धी व्यवस्था अमूर्त र अन्योलपूर्ण देखिएपछि पोखरेलले कार्यकारी भूमिकामा रहन ७० वर्ष पूरा भएपछि मात्र नपाउने र ७० वर्ष पुग्नै लाग्दा कार्यकारी पदमा पुगेपछि कार्यकाल नसकिएसम्म रहन पाउनेगरी विधानको व्यवस्थामा पमिरार्जन गर्न प्रस्ताव गर्नुभएको छ । उहाँको प्रस्ताव पारित भए केपी ओलीलाई पुनः अध्यक्ष बन्नमात्र होइन, अध्यक्ष बनेपछि अर्को महाधिवेशन नभएसम्मका लागि पदमा रहिरहन बाटो खुल्नेछ । ओली आगामी फागुनमा मात्र ७० वर्ष पूरा भएर ७१ वर्ष लाग्नु हुनेछ । पार्टी महाधिवेशन हुने समय अर्थात् मंसिरमा उहाँ ७० वर्ष आठ महिनाका मात्र पुग्नु हुन्छ । 

महासचिव पोखरेलले ओलीलाई अध्यक्ष बन्न र पूरा कार्यकाल बन्न बाटो खुल्ने गरी प्रस्ताव गरे पनि नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधव नेपालको भने चर्को आलोचना गरेका छन् । उनले एमालेको कार्यकारी पदमा तीनपटक नेतृत्वमा बसिसकेका नेपाललाई नवौं महाधिवेशनमा पुनः अध्यक्ष पदमा उठ्न दिएर पार्टी संगठन र पार्टीको वैधानिक व्यवस्थाको खिल्ली उडेको बताउनु भएको छ । 

एमाले विधानले एउटै कार्यकारी पदमा दुईपटक भन्दा बढी बस्न नपाउने व्यवस्था गरेको सन्दर्भ उल्लेख गर्दै उहाँले माधव नेपालका लागि छुट दिइएकै कारण पार्टीमा अराजकता र फुट निम्तिएको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  २ : १९ बजे