कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। आज अपरान्ह तीन बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको कांग्रेस नेता गोपालमान श्रेष्ठले जनाकारी दिए। बैठकमा मन्त्रिपरिषद् विस्तार,  पार्टीको १४औँ महाधिवेशन,  क्रियाशील सदस्यता लगायतका विषयमा छलफल हुने जनाइएको छ। यस अघि पदाधिकारीको बैठक बुधबार पनि बसेको थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्री नियुक्त गर्दा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा छलफल नगरेको भन्दै असन्तुष्टि जनाएको थियो। हिजो बसेको बैठकमा आसन्न १४औं महाधिवेशनको कार्यतालिकामा केन्द्रित रहेको थियो। दशैंअघि गाउँरनगर अधिवेशन मात्रै सक्ने गरि कार्यतालिका पुनः संशोधन गर्ने निर्णय भएको छ। 

वडा अधिवेशन हुन नसकेका १३ जिल्लाको क्रियाशील सदस्यता टुंगाउने जिम्मेवारी पुनः तीन सदस्यीय कार्यदललाई दिइएको छ। नेता कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदलले नामावली छिटो टुंगाउन सकेमा असोज ९ अघि बाँकी जिल्लामा वडा अधिवेशन गरिने भएको छ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : ५८ बजे