माधव नेपालको पार्टीले ‘जबज’ अँगाल्ने

काठमाडौं – माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले जनताको बहुदलीय जनवाद (जबज) अँगाल्ने निर्णय गरेको छ । अध्यक्ष नेपालले बुधबारको केन्द्रीय समिति बैठकमा जबजलाई थप विकसित गर्दै लैजाने जानकारी गराएका हुन् ।

नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा केन्द्रीय सदस्यहरूले जबजबारे धारणा राखेका थिए । त्यसको जबाफमा अध्यक्ष नेपालले विकसित गर्दै लागू गर्ने स्पष्ट पारेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 'जनताको बहुदलीय जनवादका सम्बन्धमा उठेका प्रश्नमा जबज मार्क्सवादको सिर्जनात्मक प्रयोग गर्ने सम्बन्धमा देखापरेको एउटा सिर्जनात्मक अध्याय हो । यसलाई हामी थप विकसित गर्नेछौँ', नेपालको भनाइ उद्धृत गर्दै खतिवडाले भने ।  

एमालेले जबजलाई कुरूप र बिरूप बनाएको नेपालको आरोप थियो ।

'या त यसलाई देवत्वकरण गर्ने वेद-पुराण जस्तो कहिले परिवर्तन हुन नसक्ने जस्तो बनाउँदै लगिएको थियो, या यति विकृत बनाइएको थियो कि जबजको आदर्श नै आजका व्यवहार हुन् । आजका व्यवहार जबजका आदर्श हुन् भनेर काम नलाग्ने ठाउँमा पुर्‍याउन लागिएको थियो', नेपालको भनाइ उद्धृत गर्दै खतिवडाले भने, 'हामी यसबाट मुक्त हुन चाहन्छौँ । जबजका सारभूत विचारहरूलाई पक्रिँदै समाजवाद र समृद्धिको यात्रामा जाने अठोट गरेका छौँ भनेर अध्यक्ष नेपालले स्पष्ट पार्नुभयो ।'

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ३० बजे