वर्तमान सरकार राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र विकासविरोधी हो : केपी ओली

नेपालगंज – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनबाट बनेको वर्तमान सरकार राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र विकासविरोधी भएको आरोप लगाउनु भएको छ  । बुधबार बाँकेको नेपालगंजमा भएको नेकपा एमाले बाँकेको जिल्ला भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो।

अध्यक्ष ओलीले अदालतको परमादेशबाट बनेको सरकारले एक हजार ४०० वटँ सडक आयोजना रद्द गर्नु, परराष्ट्र मामिलाका जानकार तथा विद्वान् व्यक्तिहरूलाई राजदूतबाट फिर्ता बोलाउनु, भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्नु र पार्टी विभाजनलाई सजिलो बनाउनका लागि अध्यायदेश ल्याउनुले वर्तमान सरकारको नालायकीपन छरपस्ट भएको बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, आवास, सामाजिक विकास जस्ता कुरामा तत्कालीन सरकारले महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको जानकारी दिँदै अध्यक्ष ओलीले जनता आवास अन्तर्गत बनेका १२ हजार घर, ३१ वटा सडक, पुल तथा २१० वटा सडक र ३९६ वटा अस्पताल एकै दिन शिलान्यास गरेर विकासका कामहरूलाई तीव्र रूपमा अघाडि बढाएको स्मरण गराउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएको  एमाले अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले थालनी गरेका थुप्रै विकासका आयोजनाहरू स्थगित गरेर कार्यकर्ता पोस्ने गरी बजेट विनियोजन गरेको आरोप लगाउँदै भन्नुभयो , ‘अहिलेको परमादेश सरकारले आफ्ना कार्यकर्ता पोस्ने गरी विकासका योजना स्थगित गरी दशैँ खर्च बाँड्ने गरी तयारी गरेको छ । यसैबाट प्रस्ट हुन्छ- यो सरकार विकासविरोधी सरकार हो ।’

उहाँले अहिलेको सरकारलाई विकासविरोधी मोर्चाको संज्ञा दिँदै आफ्नो नेतृत्वको सरकारले तीव्र गतिमा अघि बढाएको विकासलाई देख्न नसकेर मोर्चाबन्दी बनेर जालझेल र मुद्दा मामिला गरी सरकार ढालेको टिप्पणी गर्नुभयो । उहाँलेआफूले सुरु गरेका एक हजार ४०० वटाभन्दा बढी सडक आयोजना स्थगित गरेर कार्यकर्तालाई पैसा बाँड्ने योजना बनाएको आरोपसमेत लगाउनु भयो ।

अध्यक्ष ओलीले आउँदो चुनावमा माधव नेपाल र प्रचण्ड जनतामाझ भोट माग्न जानै नसक्ने जिकिर गर्दै भन्नुभयो, ‘उनीहरूको आउने चुनावमा भोट माग्न जाने ठाउँ नै छैन, एकअर्काको मुख हेरेर बस्नुपर्ने स्थिति हुनेछ ।’ माधव नेपाल चोइटिएर गए पनि एमालेलाई त्यसले कुनै क्षति नगरेको ओलीले बताउनु भयो ।

उहाँले थप्नुभयो, ‘अलिकति पार्टी चोइटियो, माधव नेपाल सानो चोइटो लिएर गए । यसले केही फरक पर्दैन ।’ उहाँले पार्टी कमजोर भयो कि भन्नेमा कुनै चिन्ता नलिन कार्यकर्तालाई आग्रह गर्नुभयो । मेचीदेखि महाकालीसम्म एमाले नै बलियो रहेको उहाँको दाबी थियो ।

उहाँले वर्तमान सरकार असफल भइसकेको बताउँदै भन्नुभयो, ‘यो सरकारको ध्यान देश बनाउनेमा छैन, देशको स्वाभिमान बचाउनेमा छैन, लिम्पियाधुरा, लिपुलेख र कालापानीको हाम्रो भूभाग फिर्ता ल्याउन सक्दैन । त्यो समस्या मात्र हो भनेर भन्छ ।’ अध्यक्ष ओलीले परमादेशबाट बनेको गठबन्धन सरकार आफैँ समस्यामा परेको बताउनुभयो। ‘अहिलेको गठबन्धन दलहरूको हालत गँगटाको जस्तै भएको छ’, उहाँले भन्नुभयो।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताका सवालमा केपी ओली राजनेता सिद्ध भएको बताउनु भयो ।

नेता पोखरेलले माओवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीमा कार्यकर्ताको भविष्य नभएको बताउँनु हुँदै माधव नेपाल र प्रचण्ड पार्टी विभाजनका प्रतीक भएको आरोप लगाउनुभयो । उहाँले माओवादीमा रहेका पुराना नेताले प्रचण्डको साथ छाडिसकेको दाबी गर्दै वर्तमान सरकारले बनाउने काम भन्दा बनेका कुरालाई भत्काउने काम गरेको आरोपसमेत लगाउनु भयो  ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : २२ बजे