गठबन्धन बैठक: मन्त्रीको भागबण्डा मिलाउन सकस

काठमाडौं – सत्तारुढ गठबन्धन दलको बैठक मन्त्रीको भागबण्डा मिलाउन नसकेपछि बैठक भोलि (बिहीबार) पुनः बस्ने भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि भोलि पुनः बस्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द परियारले जानकारी दिए ।

कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि बैठक बिनानिर्णय सकिएको हो । सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । गत २९ असारमा नियुक्त भएका प्रधानमन्त्री शेरवहादुर देउवाको मन्त्रिपरिषद्‌मा कांग्रेसबाट चार जना र माओवादी केन्द्रबाट दुई जना मन्त्री मात्र सहभागी छन् ।

यसअघि पनि गठबन्धन दलको बैठक पटक पटक बसे पनि दलबीच मन्त्रालयको बाँडफाँट हुन सकेको छैन । गठबन्धन दलले आज मन्त्रालयको टुंगो लगाई भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको थियो ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डा. बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १० : ०२ बजे