क्रान्तिकारीहरू जोखिम मोल्छन् र सैद्धान्तिक जगमा टेकेर अघि बढ्छन्, तर अवसरवादीहरू दोबाटो कुरेर बस्छन्। अनि आन्दोलनभित्रका गद्दारहरू दक्षिणपन्थीलाई शिरमा बोकेर हामी नै हौं सच्चा क्रान्तिकारी भन्दै हिंड्छन्। यतिखेर माझण्डहरूको व्यवहारले उनीहरू क्रान्तिकारी होइनन् भन्ने पुष्टी गरेको छ। उनीहरू चरम अवसरवादीमात्र पनि होइनन्। उनीहरू त नेपालको वामपन्थी आन्दोलन कमजोर बनाउन प्रयोग गरिएका खलपात्र भएकाले गद्दार नै हुन।
जनताको चेतना, परिकल्पना र व्यवहारलाई मार्क्सवादी विचार अथवा दर्शन अनि लोकतान्त्रिक संस्कारबाट निर्देशित गर्नुको विकल्प छैन्। आजको कम्न्युनिष्ट आन्दोलन जडताबाट अघि बढ्न सक्दैन्। त्यसैले आजको राष्ट्रिय अन्तराष्ट्रिय परिवेस अनि स्वतन्त्र जनचेतनाको हिसाबले नेपालको कम्न्युनिष्ट आन्दोलन जननेता मदन भण्डारीले देखाएको जनताको बहुदलीय जनवादको बाटोबाट अघि बढाउनु पर्छ। तर दुर्भाग्य जनताको बहुदलीय जनवादको मुख्य अनुयायी हुँ भन्ने र त्यसमै विद्यावारिधी गरेका पात्रहरू नै अहिले जबजलाई बदनाम गरेर कम्न्युनिष्ट आन्दोलन कमजोर बनाउन सक्रिय भइरहेका छन्।
सामाजिक न्यायसहितको लोकतान्त्रिक शासन प्रणाली आजको आवश्यकता हो। जुन कुरा जनताको बहुदलीय जनवादको सार हो। कम्न्युनिष्ट पार्टीले बुर्जुवा दलहरूको तुलनामा आफ्नो विचार र व्यवहारको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ। अनि जनताको लोकप्रिय मतबाट आवधिक रूपमा परीक्षित भइरहनु पर्दछ। फेरि सरकार देशको संविधानले त पार्टीहरू पार्टीको विधानले कानुनमा व्यवस्था भएबमोजिम चल्नुपर्छ। किनभने नेपाल जस्तो देशमा २१ औं शताब्दीको राजनीति एकदलीय बनाउन र चलाउन सम्भव छैन्। जननेता मदन भण्डारी त्यो दूरगामी सोचका साथ जनताको बहुदलीय जनवादलाई कम्न्युनिष्ट पार्टीको नयाँ विचार बनाउनु पर्छभनेर नेपालको कम्न्युनिष्ट आन्दोलनलाई जोगाएर यो उचाईमा पुर्याउने काम गर्नुभयो।
आज तिनै जननेता मदन भण्डारीका सहयोद्धा भनेर चिनिएका पात्र माधव नेपालले नेकपा एमालेलाई कमजोर बनाउन प्रचण्डसँग मिलेर नेपाली काङ्गेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा राजनीतिक मोर्चा बनाएका छन्। त्यतिमात्र होइन शेरबहदुर देउवालाई प्रधानमन्त्री बनाउन र टिकाउन अराजनैतिक तरिकाबाट पार्टी टुक्र्याउने काम पनि गरेका छन्। यसलाई माधव नेपाललगायत प्रचण्डहरूले ठूलो उपलब्धि ठानेका छन्। अनि सार्वजनिक मञ्चहरूबाट नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर प्रतिगमन हुनबाट रोक्यौं भन्दै जनमन भ्रमित पार्ने दुस्प्रयास पनि गर्दैछन्।
२०७४ को आमनिर्वाचनमा नराम्ररी पराजित भएको नेपाली काङ्ग्रेस यतिखेर अस्वभाविक रूपमा परमादेश र माझण्डहरूको सहयोगले सत्ताको केन्द्रमा पुगेको छ। आज नेपाली काङ्ग्रेसको रणनीति वामपन्थीहरूलाई एकठाउँमा आउन नदिने अनि माझण्डहरूको कार्यनीति वामपन्थी जनमत विभाजित र कमजोर बनाउने अनि शेरबहादुर देउवालाई सघाउने भएको छ। फेरि तिनै माझण्डहरू कम्न्युनिष्ट झण्डा बोकेर काङ्ग्रेसको राजनीति बलियो बनाउँदै जनता झुक्याउन नेकपा एमाले र त्यसका नेता तथा कार्यकर्तालाई दक्षिणपन्थी भन्दैछन्।
नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूलाई थाहा छ, उनीहरू आफ्नो असल र सबल पक्ष देखाएर जनमतबाट श्रेष्ठता हासिल गर्न सक्तैनन्। त्यसैले वामपन्थीहरूमा विभाजन ल्याउन त्यहीबमोजिमको लगानी गरिरहेका छन्। आज आफू बदनाम भएर पनि ५०५ छुटमा दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार हुनुको कारण पनि त्यही हो। माझण्डहरू प्रयोग गरेर नेकपालाई तीन टुक्रा बनाउन देउवाहरू सफल भएका छन्। प्रम देउवाको त्यो सफलतामा माझण्डहरू रमाएका छन्। तर नेकपाको लिगेसीभने नेकपा एमालेले बोकेको देखिन्छ। यो तथ्यलाई बुझेर नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूले वामपन्थी जनमतलाई विभाजित भएर कमजोर हुन नदिन माझण्डहरूतिर लागेका नेता तथा कार्यकर्ताहरूलाई आन्दोलनको मूलधारमा ल्याउन विशेष रणनीति अख्तियार गर्नुपर्दछ। त्यस्तै वामपन्थी जनमतलाई विभाजित हुन नदिन व्यापक रूपमा कार्यकर्ता परिचालन गर्नुपर्छ। स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर आजैबाट सम्भावित उम्मेदवार छनोट गरेर जनतासँग जोडिने कार्यक्रम बनाउनु पर्दछ। यसले सम्भावित उम्मेदवार र कार्यकर्तालाई समुदायसँग नजिक हुने पर्याप्त समय मिल्नेछ। अहिले माझण्डहरूले गरेको विभाजनले पार्न सक्ने क्षति न्यूनिकरण गर्दै स्थानीय निर्वाचनमा सहज जीतको वातावरण पनि बनाउने छ।
भोलि समिक्षा हुँदा केपी ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल र माधव नेपालहरूको भूमिका कस्तो थियो भनेर लेखिएला। तर अहिलेको घटनाक्रमलाई हेर्दा कम्न्युनिष्ट आन्दोलनलाई बदनाम बनाएर कमजोर बनाउन माझण्डहरूले नेतृत्वदायी भूमिका निर्वाह गरे भन्न सकिन्छ। यो कुरो कम्न्युनिष्टहरूले बुझ्नुपर्छ। अनि जनतालाई भन्नुपर्छ र बुझाउनु पनि पर्छ। त्यतिमात्र होइन राज्यका महत्त्वपूर्ण अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामात्र होइन सञ्चार क्षेत्र पनि नेकपा हुँदै नेकपा एमालेमा विभाजन ल्याउन मिलेर काम गरे। संवैधानिक संस्था निर्वाचन आयोग पनि विभाजनको मतियार बन्यो।
हामीले बुझ्नुपर्ने कुरा के होभने यतिखेर शेरबहादुर देउवाको नेतृत्वमा नेपाली काङ्ग्रेस त माझण्डहरूको नेतृत्वमा नेपाल कम्न्युनिष्ट पार्टी बदनाम गराएर एकातिर लोकतान्त्रिक गणतन्त्रको विरूद्धमा जनमत तयार गर्न खोजिदैछभने अर्कोतिर एमसिसिको मुद्दालाई गिजोलेर नेपालको आन्तरिक राजनीतिमा बाह्य प्रभाव र नियन्त्रण बढाउन खोजिएको छ। अहिले माधव नेपालको नेतृत्वमा एमालेमा विभाजन ल्याउन गरिएको लगानी त्यही प्रयोजनका लागि हो। तर पनि केहि नेता तथा कार्यकर्ताहरू भ्रमित भएर देउवा र माझण्डहरूका पछि लागेका छन्।
मापशे मोर्चाको नेतृत्व गर्दै शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि दक्षिण–पश्चिमले कम्फर्टेबल मानेको छ। देउवा नेतृत्वको कम्फर्टेबल सरकार अझ कम्फर्टेबल बनाउन केहि मुख्य सञ्चार माध्यमले पनि कम्फर्टेबलको भूमिका निर्वाह गरिरहेका छन्। न्यायलय त कम्फर्टेबल सरकारको जननी नै भइहाल्यो। माझण्डहरू त कम्फर्टेबल सरकारको मुख्य सहयोगी भएको कुरा भनिरहनु पर्दैन। त्यसैले सरकार देश र नागरिकका लागि भन्दा विदेशीका लागि कम्फर्टेबल हुनु भनेको लज्जाको विषय हो। बिनु पोखरेल नेपाल प्रेसमा लेख्छिन्, “परमादेशको कम्फर्टेबल सरकारलाई मिडिया कति कम्फर्टेबलरु पहिले केपी ओलीको सरकारको पालामा र अहिले तिनै मिडियाले एउटै विषयमा प्रस्तुत गर्ने फरक मापदण्डले हाम्रो देशमा सत्ता गठबन्धनभन्दा मिडिया गठबन्धन नाङ्गिएको देखिन्छ।”
महाकाली नदिमा जयसिंह धामी खसालिन्छ, सरकार बोल्दैन्। एमसिसिलाई लिएर जनमनमा शंका छ, त्यो शंका निवारण गर्न खोज्दैन्। राजनीतिक अस्थिरता बढेर देश सङ्कटउन्मुख हुँदैछ, समाधान खोज्ने तदारूकता देखाउँदैन। बरू प्रश्न उठाउनेहरूलाई नबोल भन्दै विज्ञप्ति निकालेर तर्साउन खोज्छ। सरकार कमजोर हुँदा देश पनि कमजोर हुन्छभन्ने कुरा कम्फर्टेबलवादीहरू बुझेनन्। सम्मान र ईज्जतका खातिर दिइने मानपदवीहरू विवादित बनाउने काम भयो। अब प्रश्न उठ्छ, कम्फर्टेबल सरकार कसका लागि कम्फर्टेबल ?
राजनीतिक नेतृत्वले परिवर्तनका लागि नेतृत्व र सम्वृद्धिको कुरा गर्न सक्छन्। तर परिवर्तनलाई संस्थागत गर्दै ठीक बाटोबाट कसरी अघि बढ्ने भेउ नै पाउँदैनन्। प्रशासनिक नेतृत्वले आफुलाई सबल र सक्षम छु भन्छ, तर कहिल्यै सफल भएको उदाहरण बन्न सक्तैन। जुन नेतृत्व (राजनीति तथा प्रशासनिक) ले आँट र छाँट देखाउन खोज्छ, त्यसलाई टिक्न दिदैन्। यस्तो परिपाटी र चरित्र कायम राखेर देशले शान्तिपूर्ण तरिकाबाट यथास्थितिमा सम्वृद्धिको यात्रा पूरा गर्न सक्तैन्। त्यसैले हरेक नागरिक र नेतृत्वको दिमाग पुनर्संरचना गर्नैपर्ने भएको छ भने नयाँ पुस्तालाई नयाँ शिक्षा व्यवस्थामार्फत ठीक ढङ्गले प्रशिक्षीत गर्दै असल र सबल नागरिक बनाउनु पर्छ। यी दुई काम एकैपटक एकैसाथ गर्नुपर्ने भएको छ।
केपी ओलीसँगको व्यक्तिगत विमतिलाई लिएर माझण्डहरूले राजनीतिक रूपमा देशमा बलियो र प्रभावकारी बनाउँदै गरेको कम्न्युनिष्ट आन्दोलन विभाजित मात्र गरेनन् कमजोर बनाएर यथास्थितिवादी दक्षिणपन्थी शक्तिको नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र टिकाउने काम पनि गरे। यदि माझण्डहरूलाई केपी ओली ठीक भएनन् भन्ने लागेको भए पार्टी अध्यक्षबाट हटाउन महाधिवेशन त प्रधानमन्त्रीबाट हटाउन संसदीय दल रोज्नु पर्थ्यो नकि विपक्षीसँग मिलेर केपी ओलीलाई सरकार र पार्टीबाट हटाउन अराजनैतिक बाटो लिनु हुन्थ्यो। केपी ओलीलाई वैधानिक मञ्चहरूबाट हटाउन नसक्ने भएपछि माझण्डहरूले फौजदारी प्रकृतिको आरोप पनि लगाएका थिए।
माझण्डहरूले लिएको बाटो आत्मघाती छ किनभने यसले न उनीहरूको राजनीति सुरक्षित हुनेवाला छ न त तिनका पार्टीलाई जनताले पत्याउने नै छन्। फेरि शेरबहादुर देउवाले माझण्डहरूको स्वार्थ बलियो हुनेगरी होइन आफू बलियो हुनेगरी गठबन्धनको नेतृत्व गरिरहेका छन्। तर माझण्डहरू भने यो गठबन्धनलाई चुनावसम्म लैजाने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन्। जबकि यो गठबन्धनलाई चुनावसम्म कायम गर्ने सवालमा नेकाका नेताहरू सहमत छैनन्।
चुनावहरू नजिकिदै गर्दा मधेशवादी भनिने क्षेत्रीय दल र तिनका नेताहरू आफ्नो मागअनुसार संविधान संसोधन नभए विद्रोहको धम्की दिन थालेका छन्। जबकी तिनका धम्की तराईमधेशका जनतालाई भ्रममा पारेर फेरि चुनाव जीत्नका लागि हो किनभने तिनले गएको तिनचार वर्ष सत्ता सुखको राजनीतिमात्र गरिरहे र अझै गर्दैछन्। संविधानविद विपिन अधिकारीले भनेजस्तै आज देशमा देखिएको समस्या संविधानका कारणले होइन, नेतृत्वको खराब राजनीतिक संस्कारका कारणले हो। त्यसैले समस्यामा केन्द्रीत भएर समाधान खोज्न सहयोगी बनौं।
लोकतान्त्रिक व्यवस्था प्रगतिशील र गणतन्त्रलाई जनमुखी बनाउँदै देशमुखी नीति, योजना र अभ्यास (कार्यक्रम) लाई कार्यान्वयनमा लैजान राज्य सत्ताको नेतृत्व जनताको बहुदलीय जनवादवादी अर्थात प्रगितशील लोकतन्त्रमा विश्वास गर्ने पक्षहरूले नै गर्नुपर्छ। त्यो अवसर नआएको पनि होइन तर त्यसको सदुपयोग हुन दिइएन किनभने माझण्डहरूले केपी ओलीको ख्याती बढ्दा आफ्नो राजनीतिक प्रगति देख्नै सकेनन्।
प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार १० : ५० बजे
प्रतिक्रिया