झन्डै एक दशकको विसङ्गतिपूर्ण उतारचढाव पछि ठुलो भूकम्पको कोलाहल र पीडाका बीच एक थान संविधान त आयो २०७२ असौज ३ गते । तर संविधान सभाको गरिमा र गौरवलाई खुइल्याएर त्यस प्रति नै वितृष्णा जाग्ने गरी त्यहाँ पुगेका राजनीतिक दलहरूले दुई दुई पटक यसको नराम्रोसँग हुर्मत लिएपछि अवाञ्छित द्वन्द्व र दमनको श्रृङ्खलाकाबीच संविधान सभाबाट संविधानको घोषणा भएको थियो । व्यापक राष्ट्रिय सहमतिको पृष्ठभूमि बनाएर यो आउन सकेन । त्यस्तो परिवेश र परिप्रेक्ष्य बनाउने ठोस प्रयत्न पनि गरिएन । बरु त्यस्तो अनिश्चय र अराजकताको माहौल बीच आएको यो संविधानको जय गान सुरु गरियो र अहिले पनि गरिँदै रहेको छ ।
त्यसबेला यसले समाधान दिन नसकेका र भावी दिनमा त्यसले ल्याउने परिणामबारे कुनै ठोस र बस्तुगत बिश्लेषण नगरी यो संबिधान स्तोत्रपाठ गर्न शुरु गरिएको थियो । वास्तबमा यसको समर्थन र बिरोधमा बस्तुगत यथार्थभन्दा बढीयसमा पूर्वाग्रह, प्रतिशोध, गलत शैली र पुरानै बाटोमा फर्काउन खोज्ने मुढाग्रहले समेत काम गरिरहेको छर्लङ्ग देखिन्छ ।
यी सबै मनोबैज्ञानिक कुराका पछाडि बाह्य तत्वको प्रभाव पनि कतै निकै गाढा र कतै हल्का किसिमले मिसिएको कुरा समेत जगजाहेर नै छ । आजको दुनियाँमा यसलाई कसैले हिजोको जस्तो लुकाउन छिपाउन पनि सक्तैन । त्यसैले घोषित नयाँ संविधानले स्वाधीनता, समृद्धि र शान्ति दिन सक्ला त रु भन्ने ज्वलन्त प्रश्न त्यतिबेलै खडा भएको थियो र त्यो प्रश्न अहिले पनि ज्वलन्तरूपमा उठिरहेको छ र यो संबिधान र यसले खडा गरेको ब्यवस्थामाथि नै अब प्रश्न उठ्न थालेको र बिकल्पको माग हुन थालेको छ ।
अन्य महत्वपूर्ण बिषयका अतिरिक्त यो संविधान सभाको मुख्य बिवादकोबिषय संघीयतालाई बनाइयो र त्यसबाटजनतालाई उक्साउने भड्काउने र संकीर्ण स्वार्थ सिद्ध गर्ने काम पनि गरियो । त्यो समस्या अहिले पनि अन्तिम टुंगोमा नपुगी कायमै छ । वास्तवमा यो बिवाद आइसके पछि यसका बारेमा ब्यापक, गम्भीर,सार्थक अध्ययन र बिचार बिमर्श गरेर जनतालाई परस्पर सहयोगी र सौहार्द्रपूर्णरुपमा अझ बढी सुदृढ किसिमले कसरी एकताबद्ध तुल्याउन र राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सकिन्छ भन्ने कुराको खोजी गर्नुको साटो एकथरीले हिजोकै असफल भईसकेको केन्द्रिकृत एकात्मक सामन्ती पद्धतिकै अनुसरण गर्ने प्रत्यक्ष परोक्ष वकालत गर्दै संघीयता भनेको बिभाजन, बिखण्डन र बिभेदको बाटो हो भन्ने धुँवाधार प्रचार गर्न थाले भने अर्कोथरिले यसलाई सबै किसिमका शोषण उत्पीडन र बिभेदको अन्त्य गर्ने मूल बाटो हो भन्ने मनगढन्ते कुरा गर्नथाले ।
यद्यपि तिनले कुनै ठोस आधार,मूल्य र बिचार पद्धतिमा रहेर त्यसको औचित्य र आवश्यकताको बोध गराउन सकेनन् र सक्ने पनि थिएनन् । किनभने यी दुइ अतिबादी सोचका अतिबादी ध्रुब थिए र अतिबादी मनोबिज्ञानबाट देश र जनतालाई अल्मल्याउने र फाइदा उठाउने काम संबिधान निर्माणको त्यो आठ बर्षयता धेरै नै भयो । जसको परिणाम अहिले पनि समाज बिभाजित छ । परस्पर अबिश्वासको बिजारोपण भएको र एक अर्कामा सन्देहको स्थिति सिर्जना गरिएको छ ।
यसको कारण देशको राजनीतिक परिवर्तनलाई ब्यापक जनता र देशको राष्ट्रिय हितमा ‘दूरदृष्टि र प्रष्ट उदेश्य’ अर्थात् ‘भिजन र मिशन’लाई गुमराह गर्ने ठूला दल र तिनका पछि पछि पद, पैसा,प्रतिष्ठा के के न पाईन्छ भनेर दगुर्ने दास मनोबृत्तिका तथाकथित बुद्धिजीवीहरु हुन् भन्ने कुरा प्रष्ट छ । यसमा आम नेपालीजनताको कुनै दोष छैन ।
संघीयतालाई परिवर्तित नेपालको आजको बिकासको लागि आवश्यक र उपयोगी संरचना मान्नेहरु पनि धेरैजसोहचुवा तरिकाले जथाभावी रेखा कोर्दै हिडे । एकथरीले भौगोलिक–प्रशासनिक रुपमा यसलाई बढी तन्काउन खोजे भने अर्कोथरीले साँस्कृतिक मनोबैज्ञानिक पक्षलाई बढी जोड दिने काम गरे । जब कि यी दुबै पक्षको समन्वयले मात्र सही किसिमले संघीय संरचना बन्थ्यो, बन्छ र त्यसले नेपाली जनतामा नयाँ किसिमले एकता, समभाव, परस्पर सद्भाव र सहयोगी प्रबृत्तिलाई अझ बढी प्रभावकारीरुपमा अघि बढाउन मद्दत पुग्दथ्यो, पुग्दछ ।
तर बिकृत रुपमा संघीयताको मुद्दालाई उछालेर चल्दा आज पनि देशका धेरै जनसमुदाय खासगरी मधेशी र जनजातिहरु असन्तुष्ट अवस्थामा छन् । अवाञ्छित मुठभेडले जन धनको ठूलो क्षति भइसकेको छ ।साम्प्रदायिक र सामुदायिक ध्रुबीकरण बढ्दै गएको छ । यस्तो स्थिति र सत्ताको लुछाचुँडीको अनन्त र अबाञ्छित खेलतमासाले गर्दा बिदेशी शक्ति केन्द्रहरुले नेपालमा प्रवेश गर्ने र परेड खेल्ने थप नयाँ आधार पाइरहेका छन् ।
यो वास्तवमा कथित मूलधारका राजनीतिक नेतृत्वको अदूरदर्शीता र घोर लाचारीपनाकै दुष्परिणाम हो । यसले गर्दा नेपालका भावी दिनहरु सहज र सुनिश्चित नरहने स्थिति कायमै छ । नेपाली जनताको एकतालाई सुदृढ तुल्याएर त्यसबाट उर्जा प्राप्त गर्ने दूर दृष्टिको राजनीतिक नेतृत्वको अभावमा फेरि पनि नेपाल र नेपाली जनता यो असहज बाटोमा हिड्न अभिशप्त छ ।
हुन पनि प्रष्ट परिभाषाका साथ पारदर्शी किसिमले पहिचानलाई ब्यापक अर्थमा नलिई यसलाई साँघुरो जातिबादको घेरामा बन्दी बनाएर ब्याख्या गर्ने गर्दायो पहिचान अहिले पनि केवल शब्दमा मात्र सीमित हुन पुग्यो । त्यही कुरा सामर्थ्यको हकमा पनि लागू भयो । यद्यपि पहिचान र सामर्थ्य शब्दलाई संविधानले फराकिलो अर्थमा नभै संकीर्ण अर्थमा अहिले पनि काखी च्यापेकै छ ।
पहिचान भनेको ‘जातीयता’ र सामर्थ्य भनेको ‘थोरै प्रदेश’ भन्ने अर्थमा मात्र यसलाई साँघुरो हिसावले लिइएको देखिन्छ भने यी दुबै कुरालाई अस्वीकार गर्ने बहुपहिचानको अर्को भ्रान्त धारणा पनि रहेकै हो । वास्तवमा पहिचानलाई सभ्यता बिकासको आधारमा परिभाषित गरेको भए नृबंश, मूल्यपद्धति, भाषा, धर्म, सँस्कृति, इतिहास,परम्परा, आर्थिक जीवन, समुदायको मनोबैज्ञानिक संरचना, र निश्चित भूखण्डको परस्पर मानबीय सम्वन्ध तथा तिनको साझा अपेक्षा जस्ता कुरा समेटिने थिए । तर त्यसो नगरेर जातियताका आधारमा एकातिर त्यो उरालियो । अर्कोतिर भौगोलिक प्रशासनिक आधारमा संघीयताको नाम दिएर बिकेन्द्रीकरणमा मात्र सीमित गर्ने बाटो पक्रिन खोजियो ।
यसरी सिद्धान्त एउटा बनाउने र बाटो अर्को पक्रिने गर्दा समस्या उठेको र सन्देह पैदा भएको प्रष्ट छ । अहिले उत्पन्न भएको समस्याको आधार पनि त्यही नै हो । वास्तवमा अधिकार सम्पन्न संघीय संरचनामा जाने र तलैदेखि शासनप्रशासन सञ्चालनमा जनताको सक्रिय सहभागिता, सुगम हुने हिसावले यसको संरचना गर्दा जन सद्भाव त अझ सुदृढ हुन्थ्यो नै किनकि त्यसले स्वशासन सहितको बिकासको बाटो खोल्दथ्यो ।
वास्तवमा जनताले चाहेको त बस्तुतः छिटो छरितो बिकास, अग्रगति र सुनिश्चित भबिष्य नै हो । यस प्रकारको संघीयताले लागतखर्च पनि कम हुन्थ्यो । जुन कुराको बन्दोबस्त यो संविधानले गर्न सकेको छैन र अधिकार कम हल्ला मात्र बढी हुने देखिएको छ ।
आजको बिश्वमा ‘बिगर इज बेटर’ भन्ने औद्योगिक क्रान्तिको जमानाको कुराभन्दा ‘स्मल इज ब्यूटिफुल’ भन्ने नयाँ जन सुगमता र जन आधारित मान्यताले बिकासका लागि मानबीय र श्रोत साधनको परिचालन र परिणाम राम्रो, किफायती र प्रभावकारी हुने महत्वपूर्ण कुरालाई ध्यानमा राखेर राज्यको पुनर्संरचना गर्नु अत्यावश्यक थियो । यस आधारमा गरिएको भए बिकासमा जन सक्रियता बृद्धि हुने बातावरण बन्न गई संघीयताको लागतमा पनि कमी आउने थियो । अनि सामाजिक सद्भाव कायम गर्न र शासन–प्रशासन चलाउन पनि बढी सहज हुने थियो ।
तर आफुलाई मूलधारमा रहेका हौ भन्ने दलहरुले यो कुरा बुझ्नै चाहेनन् । ‘ब्यवस्थापकीय शासन’ को आजको जमानाको अबधारणा र आवश्यकतालाई बुझ्न बुझाउन नचाहने र पुरानै मानसिकतामा रहेको हाम्रो राजनीतिक नेतृत्वले साना राष्ट्रहरु र त्यहाँको सुन्दर ब्यवस्थापनले ठूला राष्ट्रहरुको भन्दा छिटो, छरितो, किफायती र सुगम किसिमले उल्लेख्य बृद्धि दरका हिसावले बिकास गरेको यथार्थलाई आत्मसात गर्न सकेनन् । केवल प्रदेशको प्रशासनिक र सरकारी खर्चको वरिपरि मात्र तिनको आँखा लाग्यो र केन्द्रित भयो । जनतालाई हरेक किसिमले अधिकार सम्पन्न तुल्याउन सकिने वास्तबिकताको आधारमा नभै भावनात्मक आवेगका आधारमा मनोगतबादी छायाँ संघर्ष चलाएर समस्याको समाधान हुदैन । यसरी देश र जनता बलियो हुदैनन् । भइरहेका छैनन् ।
यसरी घोषित संविधानले पनि यो समस्यालाई सही किसिमले समाधान दिने मार्ग प्रसस्त गर्न सकेन भने संविधान सभावाट संविधान बनाउने र घोषणा गर्ने जनताको चीर आकांक्षा बाहेक अरु सबैजसो कुरा निरर्थक साबित हुन पुग्ने खतरा बढ्दो छ । जनताले आफुलाई हरेक किसिमले अर्थात् राजनीतिक, आर्थिक, समाजिक तथा साँस्कृतिक रुपमा सबल, सक्षम, सार्थक भएर यथार्थमा सार्वभौम हुन चाहेका हुन् ।
खोक्रो सार्बभौमिकताको राग रटिरहन र आफु सँधै कमजोर रहीरहन चाहेका होइनन् । यस आधारमा संविधानको समीक्षा गर्दै जनतालाई साँच्चै नै बलियोबनाउने दिशामा यसलाई अहिले नै परिमार्जन गरिहाल्नुपर्दछ र निरन्तर गर्दै जाने प्रक्रियालाई गति दिइरहनुपर्दछ ।
नेपाललाई सँधै प्रूयोगशाला बनाइराख्ने कुनै पनि बहाना कसैलाई दिईनु हुँदैन । त्यो बिकासको होइन बिनाशको बाटोहो भन्ने यथार्थलाई जिम्मेवार सबैले बेला नभिड्किदै आत्मसात गर्नुपर्दछ । अनि संविधान दिबसमा यसको स्तोत्र पाठ गरेर मात्रै केही हुदैन । यसलाई जनता र मुलुकको हित हुने गरी ब्यवहारमा लागू हुन सक्ने र ब्यवहारमा सार्थकरुपमा खरो उतार्ने सकिने हुनुपर्दछ । अन्यथा बिकल्प अनिबार्य हुन्छ ।
यो इतिहासको नियम नै हो । सही नेतृत्व पायो भने बिकल्पले जनता र राष्ट्रलाई सुनिश्चित भबिष्यको अग्रगामी दिशामा डोराउन सक्छ । अन्यथा बिनाश र अनिश्चितताको अँध्यारो सुरङमा मुलुक नराम्री फस्ने अबाञ्छित दुष्परिणाम प्रकट हुने निश्चित छ ।
प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार १० : ४० बजे
प्रतिक्रिया