एमालेलाई माधवको धोकाः जुत्ताको टाँका र जनताको खाका

एमालेबाट चोइटिएर केही नेता बाहिरिए पनि एमालेलाई खास असर परेको देखिएको छैन । माधव नेपालको महत्वाकाङ्क्षाका कारण संसदीय अङ्‌क गणीतमा एमाले केही पछि परेको देखिए पनि एमालेप्रति जनताको समर्थन  डगमगाएको छैन ।

एकदिन एकजना ऋषि जङ्गलमा विचरण गर्दै थिए । उनले एउटा अजङ्‌गको सर्प गुँडुल्किएको देखे । गुँडुल्किएको सर्पले अफ्नो पुच्छर मुखमा हालेको थियो । ऋषिले सोचे यदि त्यो सर्पले त्यसरी नै आफैंलाई खाँदैगए त केही पनि बाँकी रहँदैन । त्यही सर्पको अवस्थाले शून्य अङ्‌कको आविस्कार भयो भनिन्छ । आज पार्टी अध्यक्षसँग मिल्नै नसक्ने र एमालेमा बस्नै नसक्ने निष्कर्ष निकालेर माधव नेपाल नेपालको राजनीतिमा पछिल्लो बाक्लो दालवाला नेता बनेका छन् । एमालेलाई देखाइदिने नाममा कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा (एमाले)को लामो समयसम्म नेतृत्व गरेका माधव नेपाल पदको नाजायज भोकका कारण आज आफैं न घरको न घाटको स्थितिमा पुगेका छन् । आफ्नो अतृप्त कुण्ठा मेटाउन आफ्नै पार्टीलाई भत्काउने गलत सोच लिएर अगाडि बढेका कारण उनको पतन निश्चित प्रायः छ । धेरै विगतको उनको विचारमा देखापरेको खोटको त यहाँ बयान गरेर साध्य छैन, गत आमनिर्वाचनमा बनेको बाम गठबन्धनयता उनमा देखा परेको वैचारिक खोटसमेत एक डोको भइसकेको छ । 

अघिल्लो आम निर्वाचनमा बाम गठबन्धनले भव्य सफलता प्राप्त गरेपछि त्यही उत्साहमा एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न तयार भए । बन्दुकको बलमा सत्ता कब्जा गर्ने सार बोकेको माओवादी विचार बोकेको माओवादी केन्द्र र शान्तिपूर्वक बाटोबाट चुनावमा श्रेष्ठता हासिल गरेर सत्ता सञ्चालन गर्ने जनताको बहुदलीय जनवादी सिद्धान्त अङ्‌गिकार गरेको एमालेबीच प्रष्ट वैचारिक मार्गचित्र तयारै नगरी कठात् एकता गरियो । एकतापछि बनेको नेकपामा पार्टीलाई वैचारिक र साङ्गठानिक रूपमा मजबुत बनाउन भूमिका खेल्नु पर्नेमा माधव नेपाल प्रचण्डसँग गोप्य साँठगाँठ गरि ओलीलाई पार्टी र सरकारबाटै हात धुन वाध्य पार्ने अभियानमा लागे । पार्टीभित्र र संसद्‌भित्र टाउको गन्न खप्पिस माधव नेपाल तुरुन्त पार्टीसत्ता वा राज्यसत्ता कब्जा गर्ने योजनामा लागे । सधैं अस्थिरतामा खेल्न मन पराउने प्रवण्ड र पदको लागि जे पनि गर्न पछि नपर्ने माधव नेपालबीच राष्ट्रपति विद्या भण्डारीसमेतलाई गलहत्याउने योजना बन्यो । राष्ट्रपति पदका व्यग्राकाङ्क्षी झलनाथ खनाल त्यतै लपेटिए । यो उनीहरूको विचारमा आएको स्खलन थियो, खोट थियो । पार्टी एकताले पूर्णता नपाउँदै, वैचारिक(साङ्गठानिक सवालको निरूपण नहुँदै माधवले ओलीभन्दा प्रचण्डलाई नजिक देख्नु नै नेकपा र हालको एमालेको समस्याको प्रमुख कारण थियो ।

 सर्वोच्चको फैसलाले एमाले ब्युँताइदिएपछि पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पार्टी अध्यक्ष के पी शर्मा ओलीलाई अध्यक्ष नमान्ने र विजातीय प्रचण्डको उक्साहटमा बलात् हटाउने प्रपञ्चमा लागे । आफूले नेतृत्व गरेको कोटरीको कानेखुसीलाई एमालेको बैठकु भन्दै आएका माधव नेपाल अन्ततः पार्टी विभाजनमै उद्दत भए । आफ्नै सहमतिमा कार्यदल बनाएर त्यसले सुझाएको समाधान मान्न राजी हुने अनि बडो मेहनतसाथ कार्यदलले समस्या समाधान प्रतिवेदन तयार पारेपछि म मान्दिन, मलाई बराबरी हैसियतको अध्यक्ष चाहिन्छ भन्ने नयाँ माग अघि सारेर आफूलाई विभाजनकै कित्तामा उभ्याए ।

जतिबेला माधव नेपाल प्रचण्डसँगको मिलिभगतमा साविक नेकपाबाट ओलीलाई गलहत्याउने हर्कत गर्दै थिए, त्यतिबेला आफूले वर्षौंवर्ष अङगालेको जनताको बहुदलीय जनवादलाई समेत प्रतिगमनकारी विचार भन्न भ्याए । जबजका नामी दुस्मन प्रचण्डको भाषा सापटी लिएर जबजको उछित्तो काढे । तर जब एमाले ब्युँझियो, फेरि जननेता मदन भण्डारीको फोटो मुनि उभिएर हामी एमालेको विचार जबज हो, त्यसको सच्चा अनुयायी ओली होइनन् म हुँ पो भन्न थाले । अहिले पनि माधव नेपाल कमरेड पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको फोटोमुनि बसेर एमाले सिध्याउने सपना देख्दैछन् ।

अहिले एमालेमा आएको विभाजन विचारको समस्याका कारणले होइन । पदको कारण हो । हुन त राजनीति गर्ने मानिसको जीवनमा पदको हिसाबकिताब भइरहन्छ, अर्थात् उसको जीवन पदकै वरिपरि घुमिरहन्छ । कोही नेतालाई पदले लखेट्छ,कोही नेता पदको पछाडि मृगमरीचिकाको नियतिमा दौडिरहन्छन् । माधव नेपाल दोस्रो कोटिमा पर्छन् । माधव नेपाल एक पात्रमात्र होइनन् , प्रवृत्ति बनेर खडा छन् । पदलोलुप प्रवृत्तिको रूपमा । घोर प्रतिगमनकारी ज्ञानेन्द्रको आव्हानमा प्रधानमन्त्री पदको लागि विन्ती–पत्र चढाए पनि उनी सफल हुन सकेनन् । प्रथम संविधानसभाको निर्वाचनमा काठमाण्डौ र रौतहट दुवै क्षेत्रबाट जब उनलाई माओवादीले पराजित गर्‍यो, तब त्यही संविधानसभा सदस्य पद माओवादी सुप्रिमो प्रचण्डसँग बक्सिस मागे । माओवादी भिक्षाबाट संविधानसभामा पुगेका माधव नेपाल प्रधानमन्त्री पद माग्न चाहिँ गिरिजाको शरणमा पुगे ।

नेकपा (एमाले) का अध्यक्ष के पी शर्मा ओली नेतृत्वको सरकार ढाल्न गठबन्धन बनाइरहँदा आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाइदिन देउबा र प्रचण्डसँग निकै अनुनय,विनय गरेको तर पार्टी नफोरी त्यो संभव नहुने बताएपछि पछि हटेको बताइएको थियो । प्रचण्डसँग एमालेको विकल्पमा माओवादी केन्द्र,एमालेबाट आफ्नो नेतृत्वमा चोइटिएको समूह, किरण, विप्लव, बाबुरामसहितको बामसमाजवादी कित्ता बनाउने रहर गर्दै छन् । देउवाको दानबाट प्राप्त हुने केही थान मन्त्रीको बलमा पार्टी बनाउने रहर गर्दैछन् ।

विचारमा खोट भएपछि प्राप्त हुने परिणाम पनि अन्ततः बर्बादी नै हो । हालको माधव नेपाल हर्कतबाट केही हात लाग्ने छैन । नेकपाको एकतापछि प्रचण्डलाई कार्यकारी अधिकारसहितको अध्यक्ष स्वीकार्दा पाएको हण्डर र ठक्कर एमालेले विर्सेको छैन । बरू एमालेको अध्यक्ष पदलाई विधान महाधिवेशनमार्फत् बढी शक्तिशाली र व्यवस्थित बनाइने छ । पार्टीलाई चुस्तदुरूस्त बनाइने छ ।

देउबाले ढिलो चाँडो माधवका केही मानिसलाई ६ महिनाको लागि मन्त्री बनाउँलान् । त्यसबाट उनको कुनै अभिष्ट पूरा हुदैन । एमालेको सिङ्गो पङ्क्ति विभाजित हुन नचाहेको र दोस्रो तहका प्रभावशाली नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्यले समेत  एमालेको एकतामा मात्र देशको भविश्य सुनिश्चित हुने निष्कर्षका साथ एमाले नै बलियो बनाउन लागि पर्नु भएको छ । त्यही कारण देउबाले हाल चाहेजस्तो एमाले विभाजन भएन । र, गठबन्धनमा माधव नेपालको चुरीफुरी पनि सकिएको छ । एकातिर तीव्र कम्युनिष्टविरोधी देउबा सरकारमा कम्युनिष्ट हावी भएको हेर्न चाहदैनन् भने अर्कोतिर एमसीसीको घाँडो त छँदैछ । एमसीसीमा प्रचण्ड र माधवलाई पानीमाथिको ओभानो हुनु छ भने देउवालाई तुरून्त पास गराउनु छ ।

एमालेको सरकारभन्दा काङ्ग्रेसको सरकारलाई क्रान्तिकारी र अग्रगमनकारी देख्ने, एमालेभन्दा काङ्ग्रेस संस्कारी देख्ने माधव नेपालकै कारण नेपालको कम्युनिष्ट आन्दोलनले अनपेक्षित रूपमा ठूलो चोट पाएको छ । एमालेको सचेत साङ्गठानिक र वैचारिक पहलकदमीले त्यो चोटको निदान र उपचार होला तर चारतिरबाट माधवले पाउने चोटले उनको राजनीतिको इहलिला सकिने निश्चित छ । जीवनको उत्तरार्धमा उनले जीवनभर कमाएको ख्याति समाप्त पार्नुबाहेक केही हात नलाग्ने पक्का छ । 

माधव नेपालले प्रचण्डलाई उकासेर एकता भाँड्ने, देउबाप्रचण्डसँग मिलेर एमालेको सरकार ढाल्ने, फ्लोर क्रस गरे गराएर देउबाको सरकार ‘दुःख गरेर’ टिकाउने काम त गरिरहेका छन् तर उनकै सन्निकट बर्बादी देख्न सकेका छैनन् । 

प्रख्यात रसियन साहित्यकारले मानिसलाई मृत्युको जानकारी दिइन्न भन्ने एउटा यसरी बताउँछन् । ईश्वर जुत्ता सिलाउनेको भेषमा जुत्ता सिलाइ रहेको हुन्छ । एउटा धनाढ्य मानिस पाल्कीमा चडेर जुत्ता अर्डर गर्न त्यहाँ आउँछ । उसले रवाफले त्यो जुत्ता सिलाउनेलाई धम्कीपूर्ण भाषामा अर्डर गर्छ–‘एक वर्षसम्म मेरो जुत्ताको कुनै टाँका चुँडिएमा राम्रो हुनेछैन।’  तर त्यो मानिसलाई लिन पछि पछि यमराज आएको रहेछ । केही मिनेटमै उसलाई यमदूतले लछारपछार गर्दै लैजान्छन् । एक वर्षसम्म टाँका नखुस्किने चप्पल कता कता !

माधवको हालत त्यस्तै छ । आफ्नो राजनीतिक अवसान सन्निकट छ । देउवा नेतृत्वको गठबन्धन एक वर्ष टिकाउने र एमालेलाई धमाका दिने गुड्डी हाँक्दैछन् । तर माथि जति नै चुरीफुरी देखिए पनि उनीहरूको  ग्राउन्ड शून्य हुँदै गएको छ । 
 

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १ : ३५ बजे