साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नेपालले अमेरिकालाई दियो १७५ रनको सामान्य लक्ष्य

काठमाडौं – कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकालाई १ सय ७५ रनको सामान्य लक्ष्य दिएको छ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि  ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

राष्ट्रिय टोलीमा डेब्यू गरेका  गुल्शन झासँग ५१ रनको साझेदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्त्वपूर्ण ५० रन पूरा गरे ।

ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।

त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्यू खेलाडी  गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे ।  कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे ।

अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिए ।

सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, गुल्सन झा

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : १५ बजे