साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सामान्य नसोंचौ दाँतको समस्या, यसरी गरौँ हेरविचार  

काठमाडौँ । समय समयमा दन्त चिकित्सकबाट परामर्श र उपचार गर्ने बानी बसाले भविष्यमा दाँत र गिजा सम्बन्धी समस्याबाट  हुने  ठुलो धनराशीलाई जोगाउन सकिने दन्त चिकित्सकहरू बताउँछन् ।  

दाँत सम्बन्धी सानो समस्यालाई हेलचेक्र्याइँ नगरी समयमै दन्त चिकित्सकहरूको परामर्श लिए भविष्यमा पर्ने ठुलो खर्चबाट जोगिन सकिने  दत्त चिकित्सक लुनिभा श्रेष्ठले बताउनुभयो ।  

दाँतको सामान्य दुखाइलाई बेवास्ता गर्ने र  समयमै जाँच नगराउने बानीका कारण कतिपयलाई किराले हाडसम्म असर गर्न सक्ने र त्यसले क्यान्सर जस्ता रोगसम्म निम्त्याउन सक्ने श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘कतिपय पीडितहरूको अवस्था देख्दा दया लागेर आउँछ, यदि सुरुमै उपचार गर्न सकिएको भए उहाँहरूले यस्ता गम्भीर समस्या भोग्नु पर्दैनथ्यो ।’

दाँतमा समस्या आउना साथ उपचार गरिएन भने पहेँलो भागसम्म कीटाणुले असर पुराउँदछ र दाँत सिरिङ हुने अप्ठेरो हुँदै जाने, केही टोक्दा असहज हुने गर्दछ ।  यो बेलामा दाँतमा फिलिङ गरेर दाँतलाई सुधार्न सकिने उहाँले बताउनुभयो ।  तर यसबाट बिग्रिएर तलको नशासम्म गयो भने बिरामीलाई गाह्रो हुँदै जाने, धेरै दुख्ने, चिसोमा एकदम सिरिङ हुने  र तातोमा पनि केही टोक्न नमिल्ने हुने अवस्थामा पुग्ने उहाँले बताउनुभयो ।

कतिपय अवस्थामा दाँत दुख्ने समस्याको घरेलु उपचार गरिने भए पनि दन्त चिकित्सकको परामर्श लिए समस्याको जरैबाट समाधान भई भविष्यमा आउने ठुलो समस्याबाट बच्न सकिने श्रेष्ठले बताउनुभयो  छ ।  

दाँत दुख्दा झार फुक, धामी झाँक्री लगाउने जस्ता अन्धविश्वास अझै हाम्रो समाजमा रहे पनि झारफुक र धामी झाँक्रीबाट समस्याको निदान नहुने उहाँ बताउनुहुन्छ । 

मानिसहरूको सुन्दरतामा दाँतको धेरै महत्त्व हुने गर्दछ । चम्किलो अनुहारमा मिलेका स्वस्थ दाँतले नाक, कान, आँखाले जति नै सौन्दर्ता थप्न भूमिका खेलेको हुन्छ । सामान्य हेलचेक्र्याइँ कारण आफ्नो सुन्दरतालाई गुमाउनु पर्ने अवस्था हुनु दुःखद भएको उहाँले बताउनुभयो । 

कसरी गर्ने हेरविचार ?

दाँतको सही तरिकाले हेरचाह नगर्नाले दाँतमा विभिन्न प्रकारको रोग लाग्ने गरेको श्रेष्ठ बताउनुहुन्छ ।  पहेँलो दाँत हुनु, श्वास गन्हाउनु, गिजाको समस्या, क्याभिटि, पाइरिया, पेरियोडाइटिस, जिंजिपाइरिस आदि समस्या दाँतको हेरविचार नगर्दा नै निम्तिने श्रेष्ठ बताउनुहुन्छ ।                                     

दाँतमा किरा लाग्नु भनेको एसिडले गरेर लाग्ने पिडादायक असर हो । हामीले खाने कुराहरूमा दाँतको बीचमा अड्कनु र राम्रोसँग सफा नगर्दा लेउमा परिणत भई एसिड बन्दछ । यसको सुरुमै उपचार गर्न सकेमा रोग बढी फैलन पाउँदैन तर उपचार ढिला भएमा यसले नशा, र हाडसम्म असर गर्ने र धेरै नै दुख्ने भएकाले मस्तिष्कमा समेत असर गर्ने डा. श्रेष्ठ बताउनुहुन्छ । 

डा. श्रेष्ठ दाँतको हेरविचारका लागि नियमित दाँत माझ्नु अनिवार्य भएको बताउनुहुन्छ । कम्तीमा दिनको दुई वा तिन पटक  ब्रस गर्ने बानी बसाल्नु पर्ने उहाँको भनाई छ । खाना खाएपछि, गुलियो खाएपछि ब्रस गरी सफा गर्नु पर्ने उहाँको सुझाव छ । 

दाँत माझ्दा दाँत र गिजाको बीचमा नरम ब्रस राखेर हल्का रूपमा सफा गर्नु पर्दछ । सुत्नु भन्दा अगाडि मनतातो पानीमा नुन राखेर कुल्ला गर्नु सबैभन्दा  राम्रो उपाय भएको श्रेष्ठले बताउनुभयो । 

दाँत स्वस्थ राख्नका लागि खैनी, चुरोट, र मदिरापानबाट सकेसम्म टाढै रहनु पर्ने सल्लाह उहाँको छ ।  सकेसम्म गुलियो कम खाने, स्वस्थ र सफा खानेकुरामा जोड दिनु पर्ने उहाँ बताउनुहुन्छ ।  ‘गुलियो खानेकुरा दाँतलाई मात्र नभई स्वास्थ्यका लागि पनि हानिकारक हुने श्रेष्ठ बताउनुहुन्छ  । ‘दाँतको माथिल्लो तहमा भएको जीवाणुले गुलियोलाई अम्लमा परिवर्तन गरिदिन्छ जसको कारणले दाँतमा नकारात्मक असर गर्दछ’, डा. श्रेष्ठले जानकारी दिनुभयो ।

दाँतसम्बन्धी समस्याबाट बच्न पर्याप्त मात्रामा फलफूल र पानी पिउनु पर्ने श्रेष्ठले बताउनुभयो । ‘फलफूलको सेवनले दाँतलाई क्याभिटिबाट बचाउँछ, स्याउ, गाँजर, आदिको नियमित सेवनले दाँतलाई फाइदा दिन्छ र पर्याप्त पानी पिउनाले दाँतलाई सेतो र चमकदार बनाउँछ,कम्तीमा पनि दिनमा ८—१० गिलास पानी पिउनु पर्दछ’, श्रेष्ठले बताउनुभयो ।

उहाँ दाँतसम्बन्धी समस्या नहोस् र आइहाले पनि उपचार सहज होस् भन्नका लागि प्रत्येक ६–६ महिनामा दाँतको चेकअप गर्नु पर्ने सल्लाह दिनुहुन्छ । आफ्नो स्वास्थ्य राम्रो या नराम्रा कस्तो बनाउने जिम्मा स्वयम व्यक्तिकै हातमा रहेको भन्दै डा. श्रेष्ठ आफ्नो सरसफाइमा विशेष ध्यान दिन आग्रह गर्नुहुन्छ । 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : ५९ बजे