रविलाई भोलि काठमाडौं ल्याइने

विश्वविद्यालय : प्राज्ञिक साधना र नवप्रवर्तनको पवित्र स्थल

अंग्रेजी शब्द ‘युनिभर्सिटी’ लाई नेपालीमा ‘विश्वविद्यालय’ भनिन्छ । त्यसो त ‘युनिभर्सिटी’ शब्दको उत्पत्ति ल्याटिन शब्द ‘युनिभर्सिटस’ अर्थात् ‘विद्वतवर्ग र प्राध्यापकहरूको समुदाय’ बाट भएको हो । उच्च शिक्षा अध्ययन–अनुसन्धान हुने एउटा यस्तो संस्था जसले विभिन्न विधामा ज्ञान आर्जन गरेका विद्यार्थी वा बहुमुल्य मानव संशाधनलाई प्राज्ञिक उपाधि प्रदान गर्दछ, त्यो नै विश्वविद्यालय हो ।

सन् १०८८ मा ईटलीमा स्थापित बोलोग्ना विश्वविद्यालयलाई विश्वको पहिलो विश्वविद्यालय ठानिन्छ, किनकी त्यसले विभिन्न विषयमा अध्ययन–अनुसन्धान गराएर विद्यार्थीहरूलाई उपाधि दिन सुरु गरेको थियो । वर्तमानमा करिब नब्बे हजार विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको र नियमितरूपमा सञ्चालन भइरहेको सबैभन्दा अग्रणी विश्वविद्यालयको रूपमा यसलाई अहिले सम्म पनि सम्मानका साथ हेरिन्छ ।

यस ख्यातिप्राप्त प्राज्ञिक केन्द्रको प्रतीकमा अंकित ‘अध्ययनको पौष्टिक आमा’ भन्ने सन्देशलाई विश्वका सम्पूर्ण विश्वविद्यालयहरूले अंगीकार गर्दै कार्यान्वयन गर्नसक्ने वातावरण निर्माण भए साँच्चै नै उच्च शिक्षाको विकासमा संसारले ठूलो फड्को मार्नेछ र ‘समृद्ध विश्व, सुखी मानव’ को परिकल्पना साकार हुनेछ । 

उच्च शिक्षा प्रदान गर्ने उक्त जेठो प्राज्ञिक संस्थाको सामान्य परिचयबाटै संसारमा विश्वविद्यालय नजन्मिँदै मानव सभ्यताको थालनी भएको हो भन्ने कुरा छर्लङ्गै छ । मानव जातिले आफ्नो साँस्कृतिक पहिचान तथा मूल्यलाई निकै अगाडि बढाएपछि मात्र विश्वका विभिन्न भागमा प्राज्ञिक साधना केन्द्रका रूपमा रहेका विश्वविद्यालयहरू स्थापना हुन थालेका हुन् भन्ने स्पष्ट नै छ । यसरी हेर्दा विश्वविद्यालय थालनी गर्ने मानिस ज्ञानका दृष्टिले निकै उपल्लोस्तरको र विश्वविद्यालय चाहिँ निम्नस्तरको लाग्नसक्छ । 

विश्वमा आफ्नो स्थापना भएको करिब हजार वर्षको गौरवशाली इतिहास रचिसकेको विश्वविद्यालय आधुनिक युगमा मानिसको मार्गदर्शक भएको छ । विश्वविद्यालय अब मानव सभ्यताको रक्षा र सम्बद्र्धनको लागि अविच्छिन्न उत्तराधिकारवाला एउटा निर्विकल्प र अथाह ज्ञानको सागर बनेको छ । अनुसन्धानका वैज्ञानिक पद्धतिहरू अपनाएर नवीन सिद्धान्त प्रतिपादन गरेका कारणले नै एउटा मानिसको क्षमताभन्दा विश्वविद्यालयले शिक्षा र ज्ञानका अजस्र धाराहरुलाई समृद्ध तुल्याउन सक्ने क्षमता विकास गरेको हो । 

प्राकृतिक विपत्तिले ल्याउने त्रासदीहरू, मानिस–मानिसबीच हुने द्वन्द्व तथा हिंसाले लाद्ने तनावहरू र मानिसको शारीरिक एवं मानसिक स्वास्थ्यमा पैदा भइरहेका जटिलताहरूको निदान तथा उपचार गर्न विश्वविद्यालय र यसले सिर्जना गरेका नवप्रर्वतनमुखी सिद्धान्त, प्रविधि र निष्कर्षहरू अबका दिनमा अनिवार्य हुने स्पष्ट संकेतहरू देखापरेका छन् । विश्वविद्यालयको बौद्धिक समुदायले अनुसन्धान गरेर निकालेका निष्कर्षहरू सबैभन्दा आधिकारिक हुनथालेका छन् र अध्ययनका यस्ता सिफारिसहरू जीवन र जगतको रक्षा र हितका निम्ति फलदायी पनि भएका छन् । 

अब विश्वविद्यालयका आविश्कार र अनुसन्धानहरू मानव सभ्यताका संरक्षक बन्दै जाने छन् । अनि विश्वविद्यालयहरू तार्किक चिन्तन र सामाजिक आर्थिक समस्या समाधानका केन्द्र हुँदै अगाडि बढ्ने छन् । विश्वविद्यालयहरू अहिलेको युगको एउटा अपरिहार्य बौद्धिक तथा साँस्कृतिक सम्पदाको रूपमा विकास भइरहेका छन् । विश्वले विज्ञान प्रविधिका क्षेत्रमा महत्वपूर्ण फड्को मारिसकेको र प्रकृति एवं मानिसबीचको अन्तरसम्बन्धका आयामहरूमा अनेकौँ जटिलता पैदा भइसकेको वर्तमान परिवेशमा विभिन्न किसिमका समस्या समाधानको उपाय पत्ता लाउने विश्वविद्यायहरू नै भएका छन् ।  

हाल विश्वमा पच्चीस हजार भन्दा बढि विश्वविद्यालयहरू छन् । यसै संख्यालाई आधार मानेर प्रत्येक विश्वविद्यालयमा सरदर बीस हजारका दरले विद्यार्थीहरू अध्ययन गर्दछन् भन्ने हो भने पनि संसारमा करिब पचास करोड विद्यार्थीहरू उच्च शिक्षा अध्ययन र अनुसन्धान गरिरहेका छन् । यति हुँदा हुँदै पनि उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीको ठूलो संख्याले विश्वविद्यालयमा प्रवेश नपाइरहेको दुःखद अवस्था पनि छ । त्यसैले विश्वविद्यालयमा अध्ययन गर्न योग्यता तथा क्षमता भएका विद्यार्थीहरूको पहुँच कसरी पुर्याउने हो चिन्ताको विषय बनेको छ । 

प्रारम्भिकतह देखि उच्च तहसम्मको शिक्षा औपचारिक तवरमा नै दिनुपर्ने अवधारणा र त्यस अनुकूलको संरचना बनेपछि विद्यार्थी तथा उत्पादित जनशक्तिको स्तर निर्धारण सजिलो हुँदै गएको छ । विश्वविद्यालमा हुने पठनपाठनका क्रियाकलापहरू ती संस्थाले निर्धारण गरेका योजना तथा लक्ष्यमा परिचालित छन् । तर विश्वविद्यालयले तय गरेको लक्ष्य र संकल्प बमोजिमको गुणस्तरीय जनशक्ति उत्पादन हुन नसक्दा बेरोजगार बन्नुपर्ने अवस्था पनि उत्पन्न भइरहेको छ । उच्च प्राज्ञिक ज्ञान आर्जन गरेको अब्बल जनशक्तिले रोजगारी नपाएको हुँदा त्यो समुदाय अराजकता र निरासामा फसेको, हिंसा र प्रतिहिंसाको दुष्चक्रमा अल्झेको र परिवार एवं समाजका लागि नै भार बन्ने गरेका दृष्टान्तहरू छन् । 

जनसंख्यालाई समेट्ने दृष्टिले, ऐतिहासिकताका परिवेशले, विषयविधा पठनपाठन हुने कोणले, राज्य प्रवद्र्धित तथा स्वआर्जित भौतिक शैक्षिक पूर्वाधार विकासका हिसाबले, लोकप्रियताका छापले विश्वका सबै विश्वविद्यालयहरू एउटै कोटीका छैनन् । तर सबै विश्वविद्यालयको प्रतिष्ठा हाराहारी बनाउन लागिपर्नु पर्ने होइन र ? अन्तर्राष्ट्रिय समुदायले विश्वका सबै विश्वविद्यालयलाई सुदृढ बनाउन उत्तिकै लगानी र पहलकदमी नगरेकाले नै विश्वविद्यालयहरूका बीचमै ठूलो असमानताको खाडल देखिएको हो । यस्तो विषमताले संसारका सबै देशहरूको सामाजिक–आर्थिक अवस्था बीचको विभेद झनै बढ्दै गएर विश्वमा थप अशान्ति तथा अस्थिरता मौलाउने अवस्था देखा पर्दैछ । त्यसैले सबै विश्वविद्यालयको स्तरोन्नति गर्न सक्दा नै विश्वव्यापी आर्थिक विकास प्रक्रियाले मलजल पाउने परिस्थिति सिर्जना हुन्छ भन्ने यथार्थतालाई आत्मसात गर्नैपर्दछ । 

वर्तमानका आर्थिक रूपमा सम्पन्न, औद्योगिक र समृद्ध मुलुकहरूले विगतमा शिक्षामा पर्याप्त लगानी गरेका कारणले नै उनीहरू त्यो ठाउँमा पुग्न सफल भएका हुन् । यसकारण मानव सभ्यताको अद्वितीय बौद्धिक संस्थाको रूपमा विकास भएको विश्वविद्यालयको थप सुदृढीकरण गर्दै त्यसको जगेर्ना गर्नु नै मानिसको हितमा हुनेछ । जुन देशले अध्ययन–अनुसन्धानको महत्वलाई बुझे र राष्ट्रिय बजेटको महत्वपूर्ण हिस्सा विश्वविद्यालयमा लगानी गर्न जस्तोसुकै अप्ठ्यारो परिवेशमा पनि हिच्किचाएनन् तिनले नै आज प्रगति गरेका हुन् । 

विश्वविद्यालयको स्वायत्तताको विषय उच्च शिक्षा प्रवद्र्धनको क्षेत्रमा व्यापक चर्चा हुँदै आएको छ । कुनैपनि देशमा निश्चित कानुनी व्यवस्थाद्वारा स्थापित भइसकेको विश्वविद्यालयलाई सत्ता राजनीति वा राजनीतिले कुनैपनि किसिमको हस्तक्षेप गर्नुहुँदैन भन्ने दुष्टिकोण विश्वविद्यालयको स्वायत्तताको अवधारणाभित्र पर्दछ । तर यस पवित्र भावनाको परिपालनामा सबैले उत्तिकै ध्यान दिन सकेका छैनन् । जसले पालना गरेका छन् ती सम्पन्न बन्दैछन् जसले पालना गरेका छैनन् ती नकारात्मक परिणती पनि भोगिरहेका छन् । 

जुन देश अस्थिरता तथा संक्रमणकालबाट गुज्रिरहेको छ, हिंसात्मक द्वन्द्वको चपेटामा परेको छ, शिक्षा र उच्च शिक्षाको विस्तार एवं विकासको क्षेत्रमा भरखरै वामे सर्दैछ, त्यस्ता देशका विश्वविद्यालयले पटक–पटक आफ्नो संस्थाको नीति निर्माण र क्रियाकलापमा हस्तक्षेप झेल्नु परेको छ । राज्यमा अस्तित्वमा रहेका बहुमूल्य प्राज्ञिक केन्द्रहरूमाथि हुने राजनीतिक हस्तक्षेपले तिनको संस्थागत विकासमा अवरोध गरिरहेछ र उच्च शिक्षााको गुणस्तरीयता बिगार्न भूमिका खेलिरहेकोछ । एसिया, अफ्रिका र ल्याटिन अमेरिका अवस्थित पछौटे मुलुकहरूले यसको सामना गर्नुपरिरहेको छ । अझ कतिञ्जेल यस प्रकारको गैर प्राज्ञिक हस्तक्षेपको शिकार विश्वविद्यालयहरू हुनुपर्ने हो त्यो प्रक्षेपण गर्न नै गाह्रो भएको छ । 

प्राज्ञिक स्वतन्त्रता विश्वविद्यालयमा प्रवद्र्धन हुुनुपर्ने शिक्षा विकासको लागि यस्तो एउटा कडी हो जसको अभावमा प्राध्यापक तथा अनुसन्धाताहरूको बौद्धिक विकास निम्छरो हुन पुग्दछ । उच्च प्राज्ञिक केन्द्रमा सञ्चालित शैक्षिक पाठ्यक्रम र क्रियाकलापमा आधारित भएर सिर्जनात्मक अध्यापन कार्यमा संलग्न प्राध्यापकहरूले निडरतापूर्वक कक्षा कोठा, अन्तरक्रिया तथा छलफलमा प्रस्तुती दिन पाउने अधिकार नै प्राज्ञिक स्वतन्त्रता हो । अध्ययन–अध्यापनको शिलशिलामा विश्वका वहुविध दर्शन, राजनीतिक सिद्धान्त, वाद वा विचारका विषयमा प्राध्यापहरूले गर्ने बहसहरूमा अंकुश लाउने काम कहिँ कतैबाट पनि हुनु हुँदैन । विश्वविद्यालयको बौद्धिक जगतले स्तन्त्र ढङ्गले गर्ने चिन्तन र अन्तरक्रियालाई प्रतिबन्ध लगाउँदा र निरुत्साहित गर्दा प्राध्यापकहरूको वृत्ति विकासमा समेत बाधा उत्पन्न हुन्छ ।  

वैज्ञानिक खोज तथा निष्कर्ष, सूचना प्रविधिको विकास, लोकतान्त्रिक तथा प्रगतिशील चिन्तनको अभिबृद्धि, गुणस्तरीय जीवन प्रवद्र्धनजस्ता क्षेत्रमा मानव सभ्यताले उन्नति गरेकोमा कसैले पनि नजरअन्दाज गर्न सक्दैन । तर यस प्रकारका नवप्रवर्तन सँगसँगै नयाँ चुनौतीहरू पनि थपिइरहेका छन् । 

औद्योगिक क्रान्तिपछि अत्याधिक कार्वन तथा हरितगृह ग्यास उत्सर्जनद्वारा उत्पन्न जलवायु संकटले जैविक विविधताको अस्तित्व समाप्त पार्ने हो कि भन्ने चिन्ता उत्पन्न गराएको विषय, आधुनिक सूचना सञ्जालले सामाजिक मूल्य मान्यता नै अतिक्रमित बनिरहेको पक्ष, आणविक तथा जैविक हातहतियारको होडबाजीले नयाँ किसिमका घातक रोगव्याधी फैलिइरहेको अवस्था, आधुनिक जीवनशैलीबाट सर्ने तथा नसर्ने गम्भीर प्रकृतिका रोगहरूले सामाजिक जीवन तथा आर्थिक क्रियाकलापमा अवरोध उत्पन्न गराइरहेका जस्ता कुराहरूले विश्वविद्यालयलाई थप नवीन खोज र अनुसन्धानतर्फ केन्द्रित हुनुपर्ने सन्देश दिएका छन् । पुरातात्विक तथा साँस्कृतिक सम्पदाको जगेर्ना, मानवीय मूल्यमान्यताको प्रवद्र्धन र दिगो शान्ति र विकासका लागि विश्वविद्यालयको सुदृढीकरणलाई अधिक जोड दिनुपर्ने अवस्था सिर्जना भएको छ ।

विश्वविद्यालयको स्वतन्त्रता र प्राज्ञिक स्वायत्तताको अभावमा मानव सभ्यतालाई नै तहस नहस पार्ने प्रकृतिका चुनौतीको सामना गर्न असंभव भएकाले सबैले यस विषयमा उचित ध्यान दिनुपर्दछ । 

अतिवादी, कट्टरपन्थी, निरंकुश र तानाशाही सोच बोकेकाहरूले आधारभूत मानव अधिकारको रूपमा रहेको शिक्षाको विकासलाई अझै पनि अवरुद्ध बनाउने प्रयास गरिरहेका छन् । कतिपय देश, आफूलाई बौद्धिक बृत्त दावी गर्ने समूह तथा पूजीवाद प्रवद्र्धित भूमण्डलीकरणको वकालत गर्नेहरू पनि विश्वविद्यालयको शिक्षा, ज्ञान, सीप, अनुसन्धानात्मक निष्कर्षलाई आफ्नै हितमा मात्र उपयोग गर्न लिप्त छन् । संसारका अविकसित देशहरूमा उच्च शिक्षाको विकास भएको खण्डमा पूँजी, प्रविधि र ज्ञान विस्तारित हुने तथा आर्थिक विकासको प्रतिफल हासिल गर्ने त्रास र ईश्र्या तिनीहरूलाई छ । तिनले सर्वत्र प्राज्ञिक विस्तार र उन्नयनको कुरा त गर्छन् तर वास्तविकतामा त्यसलाई उतारिरहेका छैनन् । 

उच्च शिक्षा वा विश्वविद्यालयमा गरिएको लगानीको प्रतिफल तत्कालै खोज्ने प्रवृत्ति पनि कतिपय मुलुकहरूमा पाइन्छ । यो चिन्तन ठिक होइन । प्राज्ञिक थलोका रूपमा रहेका यस्ता संस्थाहरूमा गरिएको लगानीको उपलब्धी शीघ्रातीशीघ्र खोज्ने अर्थवादी चिन्तन त गलत हो नै साथै एकपटक लगानी गरेपछि पुनः विश्वविद्यालयमा लगानी गर्नु पर्दैन भन्ने धारणा पनि त्यत्तिकै हानिकारक हो । बरु ज्ञान विज्ञानको तेजिलो किरण छर्ने विश्वविद्यालयमा निरन्तर राज्यले लगानी गर्नुपर्दछ, निजी तथा सार्वजनिक क्षेत्रको सक्दो लगानी जुटाउन सहजीकरण गर्नुपर्दछ ।

यस्तो लगानीबाट मूर्त तथा अमूर्त दुबै हिसाबले मुलुकले फाइदा लिइरहेको हुन्छ । चेतना, जागरण र ज्ञानको क्षितिजलाई फराकिलो तुल्याउने विश्वविद्यालयलाई साधनस्रोतले सम्पन्न तुल्यानु नै समयको माग हो । संसारको पहिलो विश्वविद्यालयले दिइरहेको पवित्र सन्देश पनि यही नै हो ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ९ : ४९ बजे