भर्चुअल माध्यमबाटै मनाइयो यो वर्षको बाल दिवस 

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय तथा राष्ट्रिय बाल अधिकार परिषद्ले संयुक्तरुपमा भर्चुअल माध्यमबाट ५७ औँ राष्ट्रिय बाल दिवस मनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्ययतामा भएको कार्यक्रममा बाल अधिकारकर्मी,जनप्रतिनिधि,जिल्ला समन्वय समिति महासङ्घका पदाधिकारीहरू,स्वास्थ्य मन्त्रालयका सचिबहरु,विभिन्न मन्त्रालयका सचिवहरू,राष्ट्रिय सूचना आयोगका सदस्यहरू लगायतको उपस्थिति थियो ।

‘सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ भएको कार्यक्रममा बाल अधिकारको पक्षमा तयार पारिएका २ मिनेटको स्थानीय तहमा बाल अधिकार विषयक भिडियो प्रतियोगिताका उत्कृष्ट तीन जनालाई सम्मान गरिएको थियो । 

वाल दिवसको अवसर पारेर आजैबाट सडक बाल बालिकाहरूका लागि रङ्गशाला नारा दिँदै ‘रग्बी प्रशिक्षण’  नाम कार्यक्रमको शुभारम्भ गरिएको छ । 

कार्यक्रममा बोल्नुहुँदै राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेलले राष्ट्रिय बाल अधिकार परिषद्ले बाल अधिकार संरक्षण र सम्बर्दनमा भएका विषयगत प्रयास तथा उपलब्धिबारे जानकारी गराउनुभयो ।  उहाँले  नयाँ कानुनी व्यवस्था बमोजिम धेरैजसो स्थानीय तहमा बाल अधिकार संरक्षणका लागि संरचना स्थापना हुन थाल्नु खुसीको कुरा भएको बताउनु भयो । यो वर्ष परिषद्ले स्थानीय तहमा आवश्यक पर्ने बालअधिकारकर्मी लगायतको जनशक्तिका लागि विशेष पहल गर्ने धरेलले बताउनुभयो । कोरोना महामारीको तेस्रो लहर आउन सक्ने बताउनुहुँदै धरेलले त्यसबाट बालबालिका बचाउनका लागि मन्त्रालयसँग समन्वय गर्ने  काम भइरहेको जानकारी दिनुभयो ।  कोरोना महामारीका कारण बालबालिकामा मनोसामाजिक असर परेको बताउनुहुँदै धरेलले त्यसको असर कम गर्नका लागि ‘डिजिटल ह्याङ आउट’ नामक कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।  

कार्यक्रममा बोल्नुहुँदै जिल्ला समन्वय समिति महासङ्घकी अध्यक्ष सीता सुन्दासले बालबालिकाका नाउँमा धेरै बालगृह खुल्दै गएको बताउनुहुँदै ती बालगृहहरूको नियमित अनुगमन र व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । ‘कुनै पनि बालबालिकालाई नाना छाना र मानाबाट वञ्चित हुन नपरोस्, बालबालिका भोलिका कर्णधार हुन राज्यले यसलाई गम्भीर रूपमा लिनुपर्छ । अहिले धेरै बालगृहहरु खुलेका छन् त्यसमा राज्यले अनुगमन गरी त्यसलाई व्यवस्थापन गर्नुपर्छ’, उहाँले भन्नुभयो । 

 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  २ : ३४ बजे