एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

खोप र मानवीय कूटनीतिमार्फत् कोभिड नियन्त्रण

२०७८ बैशाख १४ मा चीन, नेपाल, अफगानिस्तान, बंगलादेश, पाकिस्तान र श्रीलंकाका विदेशमन्त्रीहरुबीच कोभिड महामारीबिरुद्धको लडाइको अनुभव साटासाट गर्दै नियन्त्रणको संयुक्त पहलमा भिडियो सम्मेलन भयो । त्यसमा मुख्य दुइ मुद्दामा छलफल केन्द्रित भयो । पहिलो, कोभिड महामारीविरुद्ध अन्तराष्ट्रिय र क्षेत्रीय सहयोगको आवश्यकता र दोश्रो, महामारीपछिको अर्थतन्त्रको पुनःस्थापना । महामारी नियन्त्रण गर्न चीनले सहभागि सबै देशलाई आफ्नो क्षमताले भ्याएसम्म निरन्तर औषधी आपूर्ति र थप प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनायो, जसको अरु राष्ट्रले प्रशंसा गरे रुपमा आएको यो मुद्दालाई राजनीतिकरण गरेकोमा बैठकले विरोध जनाउँदै पारस्परिक सहयोग बढाउने सहमति गर्यो । 

कोभिडबिरुद्ध लड्न खोप मुख्य हतियार भएको सन्दर्भमा ‘खोप राष्ट्रबाद’ ले महामारी परास्त गर्ने विश्व प्रयासमा अवरोध सृजना भन्दै त्यसविरुद्ध लड्ने प्रतिरोधी क्षमतामा रहेको खाडल हटाउनेमा जोड दियो । महामारीबिरुद्ध खोप उत्पादन सबैको साझा मुद्दा बन्नुपर्नेमा खोपमा समेत राजनीति भयो भने देशलाई हेरेर तीनले उत्पादन गरेका खोपमाथि प्रश्न उठाउने कामसमेत भयो । चीनले सबै देशलाई उदारतापूर्वक खोप उपलब्ध गराउने र चाहेमा सहउत्पादनमा समेत लाग्न सक्नेमा सहमति जनायो । चिनियाँ राष्ट्रपति सी चिनफिङले खोपलाई विश्वब्यापीरुपमा उपलब्ध हुने बस्तु बनाउनुपर्ने बताएकोमा त्यही सोच कार्यान्वयन गर्न चीन तयार रहेको बिदेशमन्त्री वाङ यीले बताउनुभयो । अर्थतन्त्र पुनस्थापनाको मुद्दामा भने ‘बेल्ट र रोड सहयोग’ लाइ थप गहिरो बनाउने, औद्योगिक उत्पादन र आपूर्ती चक्रलाई स्थायी र सुरक्षित बनाउने र त्यसमा चीनले सदस्य राष्ट्रलाई सहयोग गर्ने सहमति पनि भयो ।

चिनियाँ विदेश मन्त्रालयद्वारा जारी संयुक्त बक्तब्यमा चीनले चीन–दक्षिण एसियाली राष्ट्रबीच आपत्कालिन आपूर्ती भण्डारण केन्द्र  र गरिवी निवारण र सहकारी विकास केन्द्र स्थापनाको प्रस्ताव राखेको र त्यसमा सबै राष्ट्रको सहयोग रहेको उल्लेख छ । यी संयन्त्र समावेशी, पारदर्शी, दिगो र मागद्वारा निर्देशित हुनुपर्नेमा विदेशमन्त्रीहरु सहमतसमेत भए । भारतमा भएको कोरोना कहरलाइ नजिकबाट अनुगमन गर्दै भारतसँगकै प्रयासमा आवश्यक सहयोग गर्नेमा विदेशमन्त्रहरुको सामुहिक इच्छासमेत ब्यक्त भयो । यी संयन्त्रमा सहभागि हुन दक्षिण एसियाका अन्य देशलाई पनि बैठकले आब्हान गर्यो । यद्धपी, सहभागि राष्ट्रकै केही विदेशमन्त्रीले भने यी संयन्त्रबारे बोलेका छैनन् । सकारात्मक उदेश्यले साझा संयन्त्र बन्नु उचित नै हो । 

महामारीका बिचमा भएको यो सकारात्मक पहल हो । तर यसमा दक्षिण एसियाली अन्य राष्ट्रहरु भारत, भुटान र मालदिभ्स्लाई पनि सहभागि गराएको भए उपयुक्त हुन्थ्यो । चीनको पहलमा भएको यो सम्मेलनको मुख्य उदेश्य संकटमा रहेका दक्षिण एसियाली राष्ट्रलाई सहयोग पुर्याउनु थियो भने सार्कका सबै सदस्यलाई समेट्नुपथ्र्यो । तर सार्कमा त्यसको नेता भारतले पाकिस्तानलाई अलग राख्न उपक्षेत्रीय समुह ‘बीबीआइएन’ बनाएको र  सार्कको सक्रियतामा कम ध्यान दिई अर्को क्षेत्रीय समुह ‘बिमस्टेक’ लाइ प्राथमिकतामा राखेको जस्तो भयो । चीन आफैं सार्कको पर्यबेक्षक मुलुक हो भने चीनलाई समेत सार्कमा सदस्य बनाउनुपर्छ भन्ने पहलसमेत सार्क सदस्य राष्ट्रबाटै उठिरहेको सन्दर्भमा बेइजिङले अलिक उदारता देखाउनुपथ्र्यो । ‘सार्क प्लस वान’ को धारणा पनि बेलाबेला बहसमै छ ।  

यद्धपी, संयुक्त बक्तब्यमा भारतलाई महामारीबिरुद्ध लड्न सहयोग गर्ने र स्थापित दुई संयन्त्रमा सहभागि हुन खुला आब्हान गरिएको उल्लेख भएको अवस्थामा चीनसहित सार्कका सबै मिलेर अघि बढ्ने सम्भावना कायम रहेको देखिन्छ । भारत र चीनबीच दक्षिण एसियामा आफ्नो प्रभाव बिस्तारका प्रयास भइरहेको सन्दर्भमा खोप र महामारीमा सहयोग कूटनीतिलाई त्यसकै एक अंगका रुपमा पनि बुझ्न सकिन्छ । तर यसमा रणनीति भन्दा सहयोग नै मुखरित भएर आएको छ । महामारीमा बिनाशर्त र कुनै पनि सहयोगको अपेक्षा नगरी शक्तिराष्ट्र र श्रोतसम्पन्न छिमेकीले संकटमा रहेका देशलाई सहयोग गर्नुपर्छ । यो असल मित्रताको परिचायक हुन्छ । 

यसैबिचमा अर्को खोप कूटनीतिको विकास पनि भयो । २०७८ बैशाख १३ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन संवाद भयो । भारतीय विदेश मन्त्रालयद्वारा जारी प्रेस बक्तब्यमा भारतमा देखिएको कोरोनाको दोश्रो चक्रलाई नियन्त्रण गर्न खोपलाई तिब्र पार्ने, आवश्यक औषधी,थेरापिटिक्स र अन्य स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्नेमा छलफल भयो । राष्ट्रपति बाइडेनले थेरापिटिक्स, भेन्टिलेटर्स र कोभिशिल्ड खोप उत्पादनमा आवश्यक पर्ने कच्चा पदार्थ तुरुन्त उपलब्ध गराउने बताउनुभयो । प्रधानमन्त्री मोदीले पनि कोभिड महामारीलाई विश्वब्यापीरुपमै नियन्त्रण गर्नका लागि भारतले खोपमैत्री नीति लिएको भन्दै कोभ्यास र ‘क्वाड’ खोप पहलमा भारतको सहभागिता त्यसैका लागि भएको उल्लेख गर्नुभयो । खोप निर्माण र आपूर्तिमा भारत–अमेरिका साझेदारितामा दुबै नेताको जोड रह्यो ।

यो सारबस्तु बक्तब्यमा आउनुअघि नै अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले ट्वीटमार्फत सार्वजनिक गर्नुभएको थियो । त्यसोत प्रधानमन्त्री मोदीले पनि ट्वीट गर्नुभएको थियो किनकी यो एउटा महत्वपूर्ण विकास नै थियो । मोदी र बाइडेनबीच संवाद भएको भोलिपल्ट चीनले सार्कका बहुमत राष्ट्रसँग खोप कूटनीतिको पहल लिएको थियो, जो माथि उल्लेख भइसकेको छ । भारत र अमेरिका एक अर्काका रणनीतिक साझेदार हुन् भने एसियाली साझेदारका रुपमा कतिपय विश्व र क्षेत्रीय मुद्दामा समान धारणा पनि राख्छन् । अमेरिकासँगको रणनीतिक साझेदारितासँगै भारतले छिमेकी चीनसँगको सम्वन्धलाई पनि प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री मोदी र राष्ट्रपति सीबीच औपचारिक र अनौपचारिक उच्चस्तरका संवादहरु जारी रहेकै छन्, सीमामा बेलाबेला देखिने तनावका वावजुदपनि । त्यसो त भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी राष्ट्रपतिसँग मात्र टेलिफोन संवाद गर्नुभएको होइन, उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग कोभिड महामारीकै बिषयमा बैशाख १५ मा टेलिफोन संवाद गर्नुभयो । भारतलाई महामारीबिरुद्ध लड्न सबै खालका सहयोग गर्ने बताउँदै राष्ट्रपति पुटीनले रुसी खोप ‘स्पुतनिक–भी’आफ्ना लागि र तेश्रा देशका लागि भारतमै उत्पादन गर्न सक्ने बताउनुभयो । भारतले रुसी खोपलाई आपत्कालिन प्रयोगका लागि अनुमति दिएकोमा धन्यवाद पनि दिनुभयो ।

प्रधानमन्त्री मोदीले रुसको यो सहयोग दुइदेशबीचको दिगो सहयोगको संकेतको रुपमा रहेको बताउनुभयो । दुबै नेताबीच विदेश र प्रतिरक्षामन्त्री रहेको ‘टु–प्लस–टु डाइलग’स्थापना गर्ने सहमति पनि भयो । द्धिपक्षीय र अन्तराष्ट्रिय मुद्दामा सम्पर्कमा रहेर काम गर्ने सहमति भयो भने सन् २०२१ मा ‘ब्रिक्स’ को अध्यक्षताका लागि भारतलाई रुसले सहयोग गर्ने राष्ट्रपति पुटीनले बिश्वास दिलाउनुभयो । आपत्का बेलाको सहयोग वास्तवमै महत्वपूर्ण हुन्छ । भारत र रुसबीचको सम्वन्ध अमेरिका र चीनद्वार प्रभावित हुने खालको नभएर तुलनात्मक स्थायी प्रकृतिको देखिन्छ इन्दिरा गान्धीको पालादेखि ।  मोदी र पुटीनले त्यो स्मरण गरेको हुनुपर्छ । 

विश्व यतिबेला कोभिड महामारीको दोश्रो चक्रको चपेटामा छ । पहिलो चक्रले तहसनहस पारेका विकसित देशहरुले दोश्रो चक्रबिरुद्ध लड्न आफूलाई तयारी अवस्थामा राखेको पाइयो भने पहिलोपटक महामारीमा तुलनात्मक कम मानवक्षति ब्योहेरेका राष्ट्रहरु यतिबेला ठूलै चुनौतीको सामना गरिरहेका छन् । अहिले दोश्रो वेभको मध्यभाग भारत रहेको छ, जसका कारण नेपालसहितका भारतीय सीमा जोडिएका छिमेकी राष्ट्रहरु महामारीबाट बढी प्रभावित भएका छन् । पहिला महामारी देखिंदा भारतले नेपाल, भुटान, बंगलादेश लगायतका छिमेकी राष्ट्रलाई सहयोग गरेको थियो भने दोश्रो चक्र देखिएपछि पनि भारतले नेपाललाइ खोप सहयोगका रुपमा र पछि तुलनात्मक सस्तो मुल्यमा उपलब्ध गराएको हो । देशभित्रै खोपको माग अत्यधिक रहेको र अन्य देशमा समेत निर्यात् गर्नुपर्ने दवावमा रहेको मोदी सरकारबिरुद्ध बाहिर निर्यात् नगर्न तिब्र दवावसमेत् भारतीय राष्ट्रिय कांग्रेससहितका दलबाट आएको छ । तर त्यसका बाबजुद्पनि भारत सरकारले छिमेकी राष्ट्रलाई सहयोग गर्न तयार रहेको जनाउँदै आएको छ ।

भारत, चीन, रुस र अमेरिकाजस्ता राष्ट्रहरुले महामारीलाई आफ्ना रणनीतिक स्वार्थ पूर्तीको उपयुक्त समय ठानेर अघि बढाइने व्यवहार र सोच सर्वथा गलत् हुन्छन् । भारतमा कोरोनाले जुन भयावह रुप देखाएको छ, त्यो भारतको मात्र समस्या ठानियो भने त्यसले विश्वसंकट निम्त्याउँछ । अमेरिका र युरोपमा पहिलो चक्रले ल्याएको तहसनहसलाई त्यहाँको मात्र समस्या ठानेको भए सम्भवत् निकै ठूलो क्षति हुन्थ्यो । भारतले त्यसबेला अमेरिका र युरोपमा महत्वपूर्ण सहयोग उपलब्ध गराएको थियो, जसको स्मरण अमेरिकी राष्ट्रपति बाइडेनले गर्नुभएको पनि छ । कोरोनाबिरुद्धको खोप उत्पादनकर्ता र विकसित राष्ट्रलाई मात्र नभएर सबैलाई सहजै उपलब्ध गराउने वैश्विक कूटनीति र पहल अहिलेको आवश्यकता हो । त्यसका लागि विकसित भनिएका राष्ट्रहरुले पारस्परिक लाभ, स्वार्थ र शत्रुताको कूटनीति नगरी साझा मुद्दामा साझा मंच खडा गर्दै मानवताका पक्षमा लाग्नुपर्छ ।

नेपालले सिमित श्रोतसाधनका वावजुद नागरिकको सहयोगमा महामारी नियन्त्रणमा सकेसम्मका प्रयास गरिरहेको छ तर महामारी थप फैलदो छ । सरकार, राजनीतिक दल, नागरिक समाज सबैले पछिल्लो समय कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेर अघि बढ्ने नीति लिए बमोजिम काम भइरहेका छन् तरपनि संक्रमणको चक्र तोड्न सकिएको छैन ।घरभित्रका प्रयाससँगै नेपालले भारत, चीन र रुसलाई महामारीबिरुद्ध लड्न सहयोग उपलब्ध गराउन आग्रह गरिरहेको छ, सहयोगको आश्वासन पनि प्राप्त भएको छ तर ती सहयोग तुरुन्तै कार्यान्वयनमा नआएमा अर्थ हुँदैन । नेपालले भारत सरकारलाई सहयोगका लागि पत्र लेख्योभने चीनका विदेशमन्त्री वाङ यीले बैशाख १४ मा औषधी र अन्य उपचार सामाग्री सहयोग घोषणासमेत् गर्नुभयो ।  नेपालका लागि रुसमा राष्ट्रपति अलेक्सेई नोभिकोभले बैशाख १६ मा प्रधानमन्त्री ओलीलाई भेटेर खोप ‘स्पुतनिक–भी’ उपलब्ध गराउन रुस तयार रहेको बताउनुभयो ।

नेपाल सरकारले अव अमेरिकालाई पनि काठमाडौंस्थित राजदूत र्याण्डी डब्लु बेरीमार्फत् कोभिड महामारीबिरुद्धको लडाइमा सहयोग गर्न आग्रह गर्नुपर्छ । भारतलाई सहयोग उपलब्ध गराएको अमेरिकाले नेपाललाई आवश्यक औषधी, खोपको सहजीकरण लगायतमा सहयोग गर्नसक्छ । नेपालको महत्वपूर्ण भूराजनीतिक अवस्थिति, यसले लिएको असंलग्न कूटनीति र विश्व भाइचाराको स्थायी नीतिले महाशक्तिदेखि शक्तिराष्ट्रसम्मलाइ सहयोगका लागि आमन्त्रित गर्छ । त्यसमा यस्तो महामारीबिरुद्धको मानवीय सहयोगमा ती राष्ट्र उदार हुनैपर्छ । 

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  १० : ४८ बजे