गणेश मन्दिरमा पूजा आराधना गरी मनाइयो गणेश चतुर्थी

काठमाडौँ – अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ ।सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइएको हो । 

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । हरितालिका (तीजको व्रत) पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । 

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका बर्तालुले चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ । 

यस अवसरमा विसं २०६५ देखि राष्ट्रिय धर्मसभा नेपालले विभिन्न कार्यक्रम गरी गणेश चतुर्थी पर्व मनाउँदै आएको छ । आज विभिन्न गणेश मन्दिरमा पूजा आराधनाका साथ प्रवचन कार्यक्रम आयोजना गरिएको धर्मसभाका अध्यक्ष प्राडा माधव भट्टराईले जानकारी दिनुभयो । प्रवचन कार्यक्रममा उहाँले कलियुगमा चण्डी अर्थात् देवी र गणेशको आराधना गर्दा छिटो फल पाउन सकिने शास्त्रीय मान्यता रहेको बताउनुभयो । यस अवसरमा आज विभिन्न मन्दिरमा पुगी संस्थाका तर्फबाट गणेशको पूजा आराधना गरिएको उहाँले सुनाउनुभयो ।

धर्मसभाले २०६५ सालदेखि नै गणेश रथयात्रा गर्दै आएको छ । कोरोना महामारीका कारण गत वर्ष र यस वर्ष पनि रथयात्रा गर्न नसकिएको धर्मसभाले जनाएको छ । रथयात्रा भने भाद्र शुक्ल पञ्चमीका दिन गरिन्छ । यस वर्ष पनि कोरोनाबाट बच्न शनिबार गर्ने रथयात्रा स्थगित गरिएको छ ।

रासस

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  १० : ०४ बजे