नेपाल एकीकरण हुनुभन्दा अघिका काठमाडौँका दयालु राजा महेन्द्र मल्ल (शासनकाल १५५४–१५६८) प्रजाको धुरीबाट धुवाँ आएपछि मात्र खाना खान्थे । सानो जनसंख्यासहित सजिलै गणना गर्न सकिने घरहरू राज्यमा भएकाले त्यो चलन चलाउन अप्ठ्यारो थिएन । विद्युतको प्रयोग भइनसकेको आज भन्दा साढे पाँचसय वर्ष पहिलेको काठमाडौँमा दाउरा, गुइँठा, भुस वा झ्यासझुसमा आगो बालेर खानेकुरा पकाइने हुँदा धुवाँको मुस्लोले धुरी छिचोल्ने भएकाले धुवाँ देखेपछि मात्र आफ्ना जनताले खाएको राजाले ठान्दथे र आफू खाना सेवन गर्दथे ।
चेतनास्तरको सीमितता र विद्युतीय ऊर्जाको आविश्कार भइनसकेको त्यो जमानामा घरबाट निस्किने धुवाँलाई हेरेरै कसैले खाए नखाएको पत्ता लगाउने विषयलाई स्वाभाविक रूपमा लिनु पर्दछ । तर अब विश्वले विज्ञान तथा प्रविधिको विकासमा फड्को मारिसकेकाले यस बेला ती नरेश हुन्थे भने घरमा आगो बले नबलेको यकिन गर्न धुवाँको सहारा लिँदैनथे । बरु वैकल्पिक ऊर्जाको रूपमा रहेको विजुली बत्ती घरघरमा बाले नबालेको हेरेर सर्वसाधारणले खाना खाए नखाएको पत्ता लाउँथे ।
आगोको आविश्कारले चुलो, भान्सा विकास भयो अनि पाककलाका माध्यमबाट स्वादिष्ट र स्वस्थ्य भोजन मानवजातिले प्राप्त ग¥यो । आगो, ओदान, चुलो र अँगेनोले मानव सभ्यतालाई नयाँ मोड दियो । सभ्यता र ऊर्जाको बीचमा गहिरो सम्बन्ध कायम हुँदै आयो । भान्साबाट उत्पादित परिकार तथा पेय पदार्थले परिवार, समाज र सिङ्गो देशलाई जोड्यो ।
मूलतः आधुनिक औजारको विकास तथा औद्योगीकरण प्रक्रियाले मानिसलाई विलासी बनाउँदै लग्यो र पारिस्थितिकीय प्रणाली विनास हुँदै गयो । अनि क्रमिक रूपमा मानिसको जीवन प्राकृतिक हुन छाडेकाले अहिले दैनिक व्यवहारका अभिन्न आयामहरू ऊर्जा, भान्सा र परिकारको समुचित प्रयोग हुनुपर्ने विषय ज्वलन्तरूपले उठेको हो । यस वास्तविकतालाई हामीले बेवास्ता गरयौ भने धर्ती त रहला तर कालान्तरमा पृथ्वीमा मानव जीवन रहने छैन । त्यसैले जैविक विविधतालाई ठूलो हानी नगर्ने नवीकरणीय ऊर्जालाई नागरिकका भान्सामा पु¥याउनैपर्दछ ।
ऊर्जाले नै यो धर्तीसहित सौर्यमण्डल र जीवको उत्पत्ति भएको हो । ताप र प्रकाशले गर्दा नै अहिले हामी जुन प्राकृतिक नियम र जैविक प्रक्रिया सञ्चालनको कुरा गर्छौँ, यो चलिरहेको छ । जीवन र जगतको लागि तातो र उज्यालो निर्विकल्प छ । अति भएपछि खति हुन्छ भनेझैँ ऊर्जाका उक्त दुई आयाम ताप र प्रकाशको अति प्रयोग जैविक विविधताको दिगोपनाका लागि खति हुनेछ भनेर विज्ञानले प्रमाणित गरिसकेको छ । यसलाई अनुभव गर्न धैरै गहिराईमा पुगेर घोत्लिनै पर्दैन । दैनन्दिनकै कुरा गरौंन, जस्तो कि हामीलाई धेरै तातो हुँदा शितल खोज्छौं भने बढि उज्यालो हुनासाथ अलि अँध्यारोको चाह गर्दछौँ ।
जीवनको लागि ऊर्जा अति आवश्यक छ, तर त्यसको सन्तुलित उपयोगले नै सजीव जगतलाई दिगो तुल्याउँछ । अहिलेको विश्वमा कोइला, पेट्रोलियम पदार्थ र ग्यासजस्ता जैविक इन्धनको अधिक प्रयोगले ठूलो मात्रामा हरितगृह ग्यास उत्सर्जन भएको छ, धर्तीलाई तातो बनाएको छ र तीब्र जलवायु परिवर्तन भइरहेको छ । आज जलवायु परिवर्तनको असरले मौसममा अस्वाभाविक फेरबदलसहित बाढी, पहिरो, भूक्षय, हावाहुरी, आगजनी, अतिवृष्टि, अनावृष्टि जस्ता विपत्ति आइलागेका छन् र यसबाट ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ । जलवायु संकटले न्यून आय भएका र गरीब मानिसको गुजारा नै नचल्ने अवस्था उत्पन्न हुँदैछ ।
विश्व स्वास्थ्य संगठनको एक आँकडा अनुसार विश्वभरका लगभग तीन अर्ब मानिसले प्रदुषणयुक्त खुल्ला आगो वा सामान्य चुलो जस्तो कि मट्टीतेल, दाउरा, कोइला, गुइँठा, बाली निष्काशित खान अयोग्य पदार्थ प्रयोग गरेर खानेकुरा पकाउँछन् । तिनले वातावरण प्रदुषित पार्दै अक्षम खाना बनाउने अभ्यास र तीब्ररूपमा हुने घरायसी वायु प्रदुषणले प्रत्येक वर्ष असमयमै चालिस लाख मानिसहरू मर्दछन् । यसैगरी घरमा भइरहेको वायु प्रदुषणका कारणले नसर्ने रोगहरू जस्तै : स्ट्रोक, मुटुरोग, श्वासप्रश्वास सम्बन्धी समस्या, फोक्सोको क्यान्सरले मानिसको चोला समाप्त भएको छ । यसैगरी पाँच बर्षभन्दा मुनिका बालबालिकाहरू निमोनियाका कारणले मर्दछन् । अकालमा ज्यान गुमाउने धेरैजसो मानिस गरीब हुन् र किटानी नै गर्नु पर्दा ती निम्न तथा मध्यम आय भएका देशका नागरिक हुन् ।
धेरै प्रदुषण उत्सर्जन गर्ने परम्परागत इन्धनको जोहो गर्ने शिलशिलामा र यसको प्रयोगका सन्दर्भमा अनेकौँ दुर्घनाहरू पनि भइरहेका छन् । यस प्रकारका परम्परागत ऊर्जा संकलनका सन्दर्भमा अङ्गभङ्ग हुने जोखिम, महिला तथा बालबालिकाको महत्वपूर्ण समय बर्बादी, अन्य आम्दानीका स्रोतहरू न्यून हुने संभावना तथा बालबालिकाहरूको विद्यालय छुट्ने अवस्था देखिएको छ । साथै, बनजङ्गल, एकान्त स्थान आदिमा इन्धन जम्मा गर्न संलग्न महिला र बालबालिकाहरू घाइते हुने, बलात्कृत हुने, विभिन्न किसिमका हिंसामा पर्ने जोखिम रहेको छ । बाढिले बगाएका रुखका जराबुटा, काठ, दाउरा जम्मा गर्न संलग्न मानिसलाई उर्लिएका खोला तथा नदीले बगाएर जीवन गुमाउनु परिरहेको छ ।
सामाजिक साँस्कृतिक परम्पराले प्रदुषणयुक्त भान्सा तथा घरेलु काममा सबैभन्दा धेरै महिला र बालबालिका नै संलग्न हुनुपर्ने भएकाले उनीहरूले नै सबैभन्दा बढि वातावरणीय समस्या झेलिरहेका छन् । जबसम्म महिलाको सामाजिक प्रतिष्ठा माथि उठ्दैन र आर्थिक अवस्था सुदृढ हुँदैन तबसम्म यो प्रवृत्ति त्यति सजिलै हट्ने अवस्था देखिँदैन । त्यसैले शिक्षा, चेतना र जागरणसहित महिलालाई सामाजिक, प्रशासनिक तथा राजनीतिक क्षेत्रमा समावेश गराएर महिला सशक्तीकरण गर्नु अनिवार्य छ ।
मानवको लागि ताप र प्रकाश अपरिहार्य त हो तर त्यसको स्रोत उपयुक्त नहुँदा जीवन गुणस्तरीय नहुने कुरा माथि गरिएको चर्चाबाट पनि थप स्पष्ट भइसकेको छ । जलविद्युत, सौर्य ऊर्जा, वायु ऊर्जा, सडेगलेका पदार्थबाट उत्पादन हुने ऊर्जा नै आधुनिक नवीकरणीय ऊर्जा शक्तिको स्रोत हो, जसले मानवसहित जैविक विविधताको अस्तित्वलाई स्थायी तुल्याउन मद्दत पु¥याउँछ । यसका लागि सरकारी, निजी, सहकारी र सामुदायिक सबै क्षेत्रको पहलकदीमा आवश्यक हुन्छ ।
नेपाल प्राकृतिक स्रोतले सुसम्पन्न भएर ऊर्जा उत्पादनका क्षेत्रमा ठूलो योगदान पु¥याउन सक्ने अवस्था हुँदा हुँदै पनि त्यसको भरपुर सदुपयोग गर्न नसक्दा विकास निर्माण कार्यमा ठूलो फड्को मार्न नसकिएको जगजाहेर छ । नदीबाट पानी बगिरहेको छ, सुर्यको ताप र प्रकाश खेर गइरहेको छ, हावा निरन्तर चलिरहेको छ । यसरी निरन्तर ऊर्जाका स्रोत खेर गइरहेका छन् । यहाँ ६ हजार नदीनालाबाट ८३ हजार मेघावाट विद्युत उत्पादन गर्ने क्षमता भएकोमा पर्याप्त जलविद्युत उत्पादन गर्न नसक्दा अहिले पनि टुकीको उज्यालोले काम चलाउनु पर्ने र परम्परागत चुलोमा धुवाँले पोलेका आँखा मिच्दै भातभान्सा गर्नुपर्ने बाध्यता छ ।
वायु प्रदुषणलाई नियन्त्रण गर्न नवीकरणीय ऊर्जा प्रयोगको विकल्प छैन । यसको लागि अपार जलस्रोतलाई विद्युतीय ऊर्जामा परिणत गर्दै घरायसी प्रयोगमा ल्याउनै पर्दछ । छिटोछरितोका लागि र चलिआएको चलनका आधारमा कार्वन उत्सर्जन गर्ने परम्परागत चुलोलाई प्रतिस्थापन गरी विद्युतीय चुलोलाई व्यापक प्रयोगमा ल्याउनु पर्दछ । आयश्रोत न्यून भएका नागरिकका लागि राज्यको तर्फबाट प्रोत्साहनस्वरूप विद्युतीय चुलोमा अनुदानको व्यवस्था गर्नसके सामाजिक जागरणसहित छिट्टै नै घरघरमा विद्युतीय चुलोयुक्त भान्सा बनाउन सकिनेछ । यसबाट घरायसी वायु प्रदुषण बढोत्तरीमा न्यूनता कायम गर्दै जलवायु परिर्वतन नियन्त्रणमा समेत टेवा पु¥याउन योगदान पुग्नेछ । आज विनाशकारी बम, बारुद, सस्त्रास्त्र एवं हातहतियारको होडबाजी एवं अनियन्त्रित उत्पादन तथा संग्रह र हवाई, जल तथा सडक सवारी साधनको अधिक उत्पादन तथा प्रगोग, कृषिमा आधुनिकीकरण तथा व्यावसायीकरण, खाद्यान्न उत्पादन, भण्डारण तथा वितरण एवं परिकार विकास सहित आधुनिक खाद्य संस्कृतिका नाममा जैविक ऊर्जाको जथाभावी प्रयोग हुने परिवेशले वातावरण प्रदूषणमा ठूलो भूमिका खेलेको छ । दिनानुदनि भूमण्डलको उष्णता बढिरहेको छ ।
यहाँ स्पष्ट पार्न खोजिएको कुरा के मात्र हो भने औद्योगीकरण प्रक्रियाले मानिसका दैनन्दिनका क्रियाकलापलाई सहज त तुल्याएको छ तर मानव सभ्यतामाथि ठूलाठूला चुनौती पनि थोपरिरहेको छ । त्यसैले अब दिगो सामाजिक आर्थिक विकासको अवधारणालाई कार्यान्वयन गर्दै नवीकरणीय ऊर्जालाई प्रयोगमा ल्याउन ध्यान केन्द्रित गर्नुपर्दछ । यसको शुरुवात घरबाटै गर्नु पर्दछ । विद्युतीय चुलोको प्रयोगलाई प्रत्येक घरमा अनिवार्य तुल्याउनु पर्दछ । यसो गर्न सक्दा मात्रै परम्परागत राज्य सञ्चालन प्रक्रियाले उत्पन्न गराएका विभिन्न प्रकारका समस्याबाट मुक्त पार्दै आधुनिक, दिगो र गुणस्तरीय मानव जीवनका मूल्यहरूलाई अंगीकार गर्नसक्ने समृद्ध राष्ट्रको कोटीमा देशलाई माथि उठाउन सकिनेछ । अनि ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प हासिल गर्न आ–आफ्नो स्थानबाट योगदान पु¥याउन मद्दत मिल्नेछ ।
प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार १० : ०१ बजे
प्रतिक्रिया