काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यरातदेखि भारी वर्षा , राजधानीका नदी किनार क्षेत्र डुबानमा

काठमाडौं । वंगालको खाडीबाट आएको जलवास्पयुक्त हावा र स्थानीय वायुको मिश्रण हुँदा काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यरातदेखि भारी वर्षा भइरहेको छ । जसका कारण यो क्षेत्रका सबै साना ठूला खोला तथा नदीहरुमा बाढी आइरहेको छ ।

गएरातीबाट परेको वर्षाका कारण राजधानीका विभिन्न स्थानमा डुवानमा परेको छ । राजधानीका मुख्य नदी बागमती, विष्णुमती, धोबीखोला लगायतका नदीमा पानीको सतह बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार राती २ बजेदेखि मेघ गर्जनसहित भएको भारी वर्षा अझै रोकिएको छैन । 

वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिनुभयो ।

काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ९ : ०१ बजे