साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

भारतसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित

काठमाडौँ । नेपाल र भारतबीच भएको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । दशरथ रंगशालामा आइतबार अपराह्न भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको हो । नेपालका लागि तेज तामाङले मात्र गोल गर्न सफल भए । उनले दोस्रो हाफको ८६औँ मिनेटमा उत्कृष्ट गोल गर्न सफल भएका थिए । तेजको सो गोल खेल बराबरी गर्न पर्याप्त भएन । यसअघि दोस्रो हाफको ६२औँ मिनेटमा फारुख चौधरीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाएका थिए ।

त्यस्तै, भारतीय कप्तान सुनिल क्षेत्रीले ८०औँ मिनेटमा गोल गर्दै भारतको जित लगभग पक्का गरेका थिए । नेपालले आज पटकपटक गोल गर्ने अवसर पाएको थियो । तर, सदुपयोग गर्न भने सफल भएन । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप नेपालले घरेलु मैदानमा भारतसँग दुईवटा मैत्रीपूर्ण खेल खेलेको हो । गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ८ : ५१ बजे